यज्ञप्रसाद सापकोटा
२३ साउन
गुलरिया,बर्दिया÷बर्दिया जिल्लामा सडक दुर्घटनामा कमी भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार बर्दिया जिल्लामा विगतको तुलनामा दुर्घटनामा कमी भएको हो ।
बर्दिया जिल्लामा गत आर्थिक बर्ष २०७४÷७५ मा २९ ओटा दुर्घटना भएका छन् । जसको कारण २६ जनाको मृत्यु भएको छ भने ३३ जना शक्त घाईते र १६ जना सामान्य घाईते भएका छन् । गत आर्थिक बर्षमा सबै भन्दा बढि १५ ओटा मोटरसाईकल दुर्घटना भएका छन् भने ट्रक ६ ओटा, बस ५ ओटा जिप ५ ट्याक्टर ४ ट्यांकर १ र ट्याप्पो १ रहेका छन् ।
अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा ३६ ओटा दुर्घटना भएको मा २० जनाको मृत्यु भएको छ भने २० जना सघन घाईते र १८ जना सामान्य घाईते भएका छन् । त्यसैगरीआर्थिक बर्ष २०७२÷७३ मा ७५ ओटा सडक दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ८५ जना सघन घाईते र ९१ जना सामान्य घाईते भएका छन् । आर्थिक बर्ष २०७१÷७२ मा १ सय २४ ओटा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १ सय ३६ जना सघन घाईते र ९१ जना सामान्य घाईते भएका थिए । विगत्को तुलनामा दुर्घटनाको संख्या घट्दै गएपनि दुर्घटनाबाट मृत्यु हुनेको दर भने बढ्दै भएको पाईएको छ । तिव्र गतीमा सवारी साधन चलाउने र सवारी साधनको चाप बढ्दै गएको कारणले दुर्घटना गम्भिर हुँदै गएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरिक्षक मधुसुदन सिंहको भनाई रहेको छ ।
कारवाही संख्या घट्दै
बर्दियामा ट्राफिक कारवाही संख्या घट्दै गएको छ । ट्राफिक नियम उल्लघंन गर्नेको संख्यामा कमी भएको कारण ट्राफिक कारवाही संख्या घट्दै गएको हो ।
विगत बर्षहरुको तुलनामा बर्दियामा ट्राफिक कारवाही संख्यामा कमी हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा ९ हजार ९२ ओटा सवारी साधन ट्राफिक कारवाहीमा परेका थिए । आर्थिक बर्ष २०७३÷७४ मा ९ हजार ८ सय ४१ सवारी साधन कारवाहीमा परेका थिए । आर्थिक बर्ष २०७२÷७३ मा ११ हजार ५ सय ६९ ओटा सवारी साधन कारवाहीमा परेका थिए । भने आर्थिक बर्ष २०७१÷७२ मा १५ हजार ७ सय १८ ओटा सवारी साधन कारवाहीमा परेका थिए ।
सवारी साधन कारवाही बापत गत आर्थिक बर्ष २०७४÷७५ मा रु ४९ लाख ३४ हजार ५ सय राजश्व उठेको छ भने अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा रु ५६ लाख राजश्व संकलन भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७२÷७३ मा रु ३५ लाख ८४ हजार ९ सय राजश्व संकलन गरेको थियो भने २०७१÷७२ मा ३८ लाख २९ हजार ६ सय ५० राजश्व संकलन भएको थियो ।
सवारी साधन कारवाहीमा बढि मोटरसाईकल पर्ने गरेका छन् । सवारी चालक अनुमती पत्र विना मोटरसाईकल चलाउनेको बढी कारवाहीमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । मोटरसाईल कारवाही पर्नेमा करिब २५ प्रतिशत सवारी चालक अनुमति पत्र नभएकाहरु पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरिक्षक मधुसुदन सिंहले बताए ।
