बारबर्दिया प्रथम महोत्सव २०७४ सञ्चालन हुने


टीकाराम चौधरी
बर्दिया, माघ २२ गते
“हाम्रो बारबर्दिया हाम्रो सान, भाषा, संस्कृति, सद्भाव हाम्रो पहिचान” भन्ने नाराका साथ बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरमा प्रथम जयनगर तथा बारबर्दिया महोत्सव २०७४ सञ्चालन हुने भएको छ । आगामी फागुन ११ देखि २० गते सम्म १० दिन महोत्सव सञ्चालन हुने महोत्सव सञ्चालन समितिका अध्यक्ष रामसोहन चौधरीले जानकारी गराउनु भएको  हो ।
महोत्सवको मुख्य आयोजक आदीबासी जनजाती महाँसंघ नगर समन्वय समिति बारबर्दिया रहेको छ । आयोजकमा उद्योग बाणिज्य संघ शाखा कार्यालय जयनगर र सदाशिव स्पोर्ट क्लब मगरागाडी रहेको छ भने सहआयोजक बारबर्दिया नगरस्तरीय युवा सञ्जाल बारबर्दिया रहेको छ ।
बारबर्दिया नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको बिकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक बृद्धि तथा बिकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थान गर्ने महोत्सवले लक्ष्य लिएको छ । साथै बर्दिया क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको बिकास गर्ने एउटा ब्यबस्थित खेल मैदान रङ्ग शाला निमार्ण गर्ने रहेको छ ।
महोत्सवको प्रर्दशनीमा उपलब्ध बस्तु तथा सेवामा  घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार, स्थानीय परिकार, संस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक पर्दशनी, उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना,  स्वास्थ्य मनोरञ्जन लगाएत रहेको छ ।
महोत्सव संचालनको लागि आदीबासी जनजाति नगर समन्वय समितिका अध्यक्ष रामसोहन चौधरीको संयोजकत्वमा मुल समिति गठन गरि महोत्सवलाई सहज रुपमा सञ्चालन गर्नको लागि बिभिन्न उपसमितिहरु गठन गरि महोत्सव तयारीको काम भईरहेको संयोजक चौधरीले जानकारी गराउनु भयो ।