स्मार्ट विद्यालय बनाउन शैक्षिक महोत्सव


दुर्गा रोकाय
१७, भदौ
नेपालगन्ज बाँके÷खजुरा गाउँपालिका–३ सन्तकुटीमा रहेको जनता नमूना माविलाई स्मार्ट विद्यालय निर्माण गर्नका लागि संचालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दानवीरको उत्साहजनक सहभागिता रहेको छ । भदौ १३ गतेदेखि संचालन गरिएको श्रीकृष्णा जन्माष्टमी शैक्षिक तथा धार्मिक महोत्सवमा वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतमले द्वन्द्वकालमा वेपत्ता पारिएकी आफ्नी छोरी प्रतिभा गौतमको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् । उनले महोत्सवमा ५१ हजार रुपैयाँ दान पनि गरेको महोत्सव आयोजक समितिका अध्यक्ष टंक पोख्रेलले जानकारी दिए । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटनकै दिन ५१ हजार १५१, पूर्वमन्त्री दलबहादुर सुनारले २१ हजार रुपैयाँ महोत्सवमा दान गरेको अध्यक्ष पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार आगामी भदौ २० गतेसम्म संचालन हुने धार्मिक तथा शैक्षिक महोत्सवमा दानवीरहरुको उत्साहजनक सहभागिता बढ्दोछ । जनता माविका प्रधानाध्यापक शशिराम कार्कीले ४१ ह्जार, खजुरा क्यान्सर अस्पताल विकास समितिका सदस्य भुवन गैरेले २१ हजार, खजुरा क्षेत्रका स्रोत व्यक्ति टंकनाथ दाहालले ११ हजार, समाजसेवी तथा शिक्षाप्रेमी कमला काउचाले ११ हजार दान गरिसक्नु भएको छ । अध्यक्ष पोख्रेलले नमूना विद्यालयलाई अझ स्मार्ट बनाउने उद्देश्यले शुरु गरिएको पवित्र कार्यमा दानवीर तथा जनसहभागिता बढ्दो रहेको बताउँदै हालसम्म १२ लाख बढी संकलन भएको जानकारी दिए । विहान ७ बजेदेखि ४ बजेसम्म र बेलुका ७ बजेदेखि १० बजेसम्म कथावाचन हुने गरेको उनले बताए । चर्चित कथावाचक बालकृष्ण अर्यालले कथावाचन गरिरहनु भएको छ । २०२९ सालमा स्थापना भएको जनता नमूना मावि खजुराको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको विद्यालय हो । अध्यक्ष पोख्रेलका अनुसार जनतामा अध्ययन गरेका विद्यार्थी देश तथा विदेशमा ठूला ओहोदामा पुग्न सफल भइसकेका छन् ।