‘पहिलेको अनुमान मिलेन, अब भारतबाट सलहको ठूलो झुण्ड आउनसक्छ’

Avatar
admin

२०७७ असार १९ गते, शुक्रबार १४:०८ मा प्रकाशित

१९ असार काठमाडौं । नेपालमा सलह प्रवेश गरेसँगै दुईवटा विषय चर्चामा रहे । पहिलो- सरकारले नेपालमा सलह आउँदैन भनेर गरेको पूर्वानुमान नै फेल खायो । दोस्रो- आफूलाई सलह विज्ञ भन्ने कतिपय मानिसले ‘नेपालमा आएको सलह पाकिस्तान जान चाहन्छ’ भनेर सलहको मनकै कुरो थाहा पाएजसरी व्याख्या गरेपछि समाजिक सञ्जालमा ‘ट्रोल’हरु बने ।

अर्को उदेक के देखिएको छ भने नेपालमा फैलिएको सलहको संख्या यति छ र उति छ भन्दै सरकारी अधिकारीहरुले ड्याङ-ड्याङ संख्या नै बताउने गरेका छन् । आखिर विज्ञहरुले सलह गन्छन् कसरी ?

हामीले नेपाल सरकारबाट गठित सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंसँग यो पनि सोध्यौं- आखिर आकाशमा उडेको सलहको संख्या तपाईहरुलाई कसरी थाहा हुन्छ ?

जे होस्, कोरोना महामारीसँगै नेपाल सलहको संकटमा फसेको छ । गत शनिबार स-साना हुलमा नेपाल छिरेको सलह ५३ भन्दा बढी जिल्लामा फैलिएको छ । बुधबार साँझसम्म २५ जिल्लामा सलहको ठूलै बथान पुगेको छ । स्थानीय सरकारहरूबाट सलहले मकै, धान र तरकारीमा पुर्‍याएको क्षतिका विवरणहरू आइरहँदा नियन्त्रणका लागि सरकारले नतिजा देखिने गरी काम गर्न सकेको छैन । सरकार आफैं कोरोना र सलह भन्दा आफ्नै कुर्सी जोगाउने धन्दामा फसिरहेको छ ।

अहिलेको अवस्थामा नेपालमा सलहको जोखिम कस्तो छ त ? अझै धेरै सलह भित्रिने खतरा छ कि अब सलह आउँदैनन् ? सलहको जोखिमबारे सरकारले कसरी अध्ययन गरिरहेको छ ?

यिनै प्रश्नहरुबारे हामीले सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक हुमागाईंसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ-

एक महिनाअघि तपाईंकै कार्यदलले गरेको अध्ययनले सलह नेपाल नभित्रिने ठोकुवा गरेको थियो, होइन ?

भारतमा सलह फैलिएपछि नेपाल प्रवेशको सम्भावनाबारे हामीले अध्ययन थाल्यौं । हाम्रो अध्ययन भारत, पाकिस्तान र संयुक्त राष्ट्र संघीय निकाय एफएओको वैज्ञानिकहरूको निष्कर्षमा आधारित थियो ।यम्फुन आँधी सकिनेबित्तिक्कै त्योबेला हावाको चाप दिल्ली पूर्वतर्फ अघि बढेको थियो । हावाको वेगसँगै सलह अघि बढ्यो । त्यो भनेको बिहार थियो ।

सलहले गरेको क्षतिका कारण भारतले पनि नियन्त्रणमा धेरै काम गरेको थियो । भारतीय अधिकारीहरूले ५० प्रतिशत सलह नष्ट गरेको रिपोर्ट दिएका थिए । अब ठूलो झुण्ड नरहेको र तितर बितर भएको झुण्डहरूलाई पनि मनसुनी वायुले नेपाल पस्न रोक्ने विश्लेषण गरिएको हो ।

त्यही आधारमा कार्यदलले तत्काललाई खतरा टरेको, तर सम्भावना कायम रहेकाले पूर्वतयारी थाल्नुपर्ने औंल्याएको थियो । हामीले सलह आयो भने तीनवटै तहका सरकारले कसरी काम गर्ने र कस्तो विषादी प्रयोग गर्ने भन्नेसम्मको प्रतिवेदन बुझाएका थियौं । सलह आउँदैन, ढुक्क भएर बसौं भनेको होइन ।

तपाईहरु सलह यति संख्यामा छन् भन्नुहुन्छ, सलह संख्या र तिनको ‘चाहना’ बारे सामाजिक सञ्जालमा ट्रोल नै बनेको छ । आकाशमा उडेको वा जमिनमा बसेको सलहको संख्या कसरी थाहा हुन्छ ?

यो विषयमा भएको मजाक मैले पनि सुनेको छु । तर सलहको अनुमानित संख्या मापन वैज्ञानिक विधिअनुसार गरिन्छ । त्यसअनुसार, एक वर्ग किलोमिटर क्षेत्र ढाकेर आयो भने त्यसमा सलह संख्या एक करोड हुने मानिन्छ ।

वायुको चापमा परिवर्तन आउनाले पूर्वानुमान नमिलेको अनुभव छँदैछ । वायुको चाप अहिलेकै दिशामा रहे हामी अब सलहको उच्च जोखिममा छौं ।

यसरी झुण्डको लम्बाइ, चौडाइ र फैलावटका आधारमा मोटामोटी संख्या यकिन गरिन्छ । संसारभर किराहरूको संख्या मापन गर्ने विधि यही हो । यसमा केही तलमाथि हुन्छ । हामीले हालसम्म नेपाल भित्रिएको सलह संख्या ३५ लाख हाराहारीे भनेका छौं । यो भनेको मोटामोटी हो, ठ्याक्कै होइन ।

नेपालमा सलहको पछिल्लो अवस्था कस्तो छ ?

शनिबार बारा, पर्सा, सर्लाही, रुपन्देही, आइतबार कपिलवस्तुको कृष्णनगर र सोमबार रुपन्देहीबाट सलह प्रवेश गरेको हो । पहिलो दिन आएको सलहको झुण्ड विस्तारै सिथिल बनेको पाइएको छ । कपिलवस्तु र रुपन्देहीबाट नेपाल पसेको झुण्ड अलि सानो भए पनि हाम्रो कृषिका लागि हानिकारक देखिएको छ ।

१३ गते आएको सलहले मकवानपुरमा करिब एक हजार रोपनीको मकै बालीमा क्षति पुर्‍याएको छ । कपिलवस्तुमा आइतबार र सोमबार केही क्षति पुर्‍याएको पाइएको छ । क्षतिको विवरण आउने क्रममा छ ।

सलह कता उडिरहेका छन् ?

कपिलवस्तुबाट पसेका सलहमध्ये केही झुण्ड दाङ र केही प्युठानतर्फ गएका छन् । रुपन्देहीबाट छिरेको झुण्ड पाल्पा र अर्घाखाँचीतर्फ उडेको झुण्डमध्ये धेरैजसो जंगलमा बसेको रिपोर्ट छ ।

कपिलवस्तुबाट गएको सलहले दाङमा केही नोक्सानी गरेको छ । हावाको बहाव पूर्वबाट पश्चिमतर्फ भएकाले सलहका झुण्डहरू पश्चिम धकेलिएको पाइएको छ ।

मकवानपुरको बकैया र हेटौँडा क्षेत्रमा अनुमानित १० लाख सलहका झुण्डहरू रहेको अनुमान छ । त्यहाँबाट केही सलह चितवनतर्फ उडेको छ । सोमबार चितवनको कालिका, शक्तिखोर र रत्ननगरमा सलहका झुण्डहरू देखिएका छन् । तिनीहरू त्यहाँबाट अन्त उडेका छैनन् ।

सिन्धुलीको भिमान क्षेत्रमा केही झुण्ड भेटिएको छ । तीमध्ये केही काभ्रे र रामेछापतर्फ उडेको सूचना हामीले पाएका छौं । काठमाडौं उपत्यकामा पनि थोरै सलह आइपुगेको छ । ती थोरै र छरिएका छन् ।

 

१४ गते पाल्पा पुगेकोमध्ये केही झुण्ड स्याङ्जा र गुल्मीतर्फ उडेको छ । स्याङ्जा को कालीगण्डकी, दाङको गधवा र तुलसीपुरमा पनि सलह छरिएको छ । केही सलह कैलाली पनि पुगेको छ ।

आइतबार भित्रिएको करिब १० लाख सलहको झुण्ड कपिलवस्तुको बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा छरिएका छन् । त्यहाँबाट केही झुण्ड उत्तर पश्चिमहुँदै दाङ, प्युठान र रोल्पा पुगेका छन् । पूर्वमा पाँचथर, उदयपुर र खोटाङमा पनि थोरै-थोरै सलह पाइएको छ ।

प्रदेश पाँचका अधिकांश जिल्लामा सलह पुगेको छ । छिटफुट सलह मुस्ताङमा समेत पाइएको रिपोर्ट छ । आजसम्म ५३ जिल्लामा सलह भेटिएको छ । तीमध्ये २५ जिल्लामा ठूलै झुण्ड पुगेका छन् ।

वर्षौंपछि नेपालमा सलह कसरी आइपुग्यो ?

अपि|mका प्रायद्वीपदेखि इरान, यमन र भारतको राजस्थानसम्म २०१९ को अन्तिम र २०२० को सुरुमा धेरै पटक पानी पर्‍यो । १०-२० वर्ष पानी नपर्ने मरुभूमिमा पटक-पटक पानी पर्नु आफँैमा राम्रो संकेत होइन ।

मरुभूमिमा मनग्गे पानी पर्दा त्यहाँको सलहले वंश विकासको अवसर पायो । रिपोर्टका अनुसार यसपटक अनुकूल मौसम पाउँदा सलहले चौथो पुस्तासम्म वंश विस्तार गरेको छ । सलहको वंश र संख्या चारसय गुणाले बढेको वैज्ञानिकहरूको अनुमान छ ।

मरुभूमिका थोरै वनस्पति हुने हुनेले बढेका सलह खानाको खोजीमा पाकिस्तान हुँदै भारततिर उडे । पूर्व बहने वायुको चाप आकस्मिक रुपमा विकसित भइदिँदा त्यहाँबाट सलह नेपाल छिर्‍यो । हावाको दिशा नबदलिएका कारण राजस्थानबाट दिल्ली, आग्रा र झाँसी आइपुगेको सलहको ठूलो झुण्ड नेपाल पस्ने सम्भावना अझै छ ।

सरकारले सलहको संख्या र क्षतिसम्बन्धी सूचना लुकाएको आरोप पनि छ नि ?

शनिबार, आइतबार र सोमबारबाहेक ठूलो झुण्ड सलह नेपाल पसेको छैन । एउटा सानो झुण्ड बुधबार डडेलधुरा पुगेर वनमा बसेको सूचना आएको छ । त्यसबाहेक सलहको नयाँ झुण्ड आएको छैन । नेपालमा सलह भित्रिँदा हामी अत्तालिएका थियौँ, तर यसले ठूलो क्षति गरेको छैन । केही दिनमा क्षतिको विस्तृत विवरण आउँछ । यसमा लुकाउनुपर्ने कुरा केही छैन ।

भारतको राजस्थान हुँदै नेपालसम्म आइपुग्न सलहले कम्तीमा १५ दिन उडान भरेको हाम्रो अनुमान छ । त्यसैले सहल अहिले शिथिल बनेको छ । तिनीहरू रोपाइँ भएको खेतमाथिबाट उडेर रुखमा बसेका छन् ।

वषर्ायाममा सबैतिर हरियाली भएकाले पनि सलहले आफ्नो स्वभावअनुसारको क्षति गरेको छैन । यसो भन्दैमा हामी चुप लागेर बस्ने अवस्था छैन । केही न केही जोखिम त रहन्छ नै ।

मरुभूमिको एकदमै अनुकूल वातावरणमा मात्र सलहले अण्डा कोरल्छ । अण्डाबाट १५ दिनमा बच्चा निस्कन्छ । अण्डा पार्न तयार पूर्ण वयस्क र त्योभन्दा अलि कलिलो सलह अहिले नेपाल पसेको छ । वयस्कभन्दा कलिला सलह बढी खन्चुवा हुन्छन् ।

सलह आउँदा किसानहरू अतालिएका छन् । सरकारी संयन्त्र भने अलि ढुक्क देखियो, यस्तो किन ?

सुरुमा हामी पनि अतालिएका थियौं । देशभर रोपाइँको मौसम छ, हरिया ब्याडहरू छन् । मकै घोगा लाग्ने अवस्थामा छ । यस्तो बेला सलह पस्यो भने सखाप पार्ने डर थियो । तर हामीले गरेको पूर्वानुमानअनुसारको क्षति गरेको छैन ।

भेटेको केही बाँकी नराखी खाने सलहको विशेषता हो । तर नेपालमा पसेका सलह जंगलको अग्ला रुखहरूमा बसेका छन् । बसेका ठाउँमा पनि खासै खाएको देखिएको छैन ।

सलहसँग आत्तिने नभई यसलाई भगाउन परम्परागत उपायहरू अपनाउन मेरो अनुरोध छ । निकै हानी नगरेको अवस्थामा हामी वातावरण चक्र नै बिगि्रनेगरी विषादी प्रयोग गर्ने अवस्थामा छैनौं ।

देशभर सलह फैलिएको छ । स्थानीयले थाल ठटाउने, आगो बाल्ने, मकैका बोट हल्लाउने गरेका छन् । सरकारले भने नियन्त्रणमा कुनै ठोस कदम चालेको देखिँदैन नि ?

सलहको हानी ठूलो भए विषादी प्रयोग गर्नेसम्मको तयारी हामीले गरेका हौं । ठूलो मात्रामा विषादी छर्ने काम किन भएन भन्नुहुन्छ भने अहिलेकै अवस्थामा त्यसमा नजाऔँ भन्ने हो । अवस्था नियन्त्रण बाहिर गएर क्षति बढ्न थाल्यो भने त्यो विकल्प छँदैछ ।

अहिले आएका सलह पन्छी र जीवजन्तुका लागि पनि आहारा भएका छन् । काठमाडौंको आकाशमा कागले सलह टिपेको हामी सबैले देख्यौं । यस्तो पारिस्थितिक पद्दति देख्दादेख्दै अन्धाधुन्ध विषादी प्रयोगको विकल्पमा गयौं भने निकै नराम्रो हुन्छ । अबको अवस्था हेरेर निर्णय लिन्छौं ।

मैले अघि नै भनिसकेँ, नेपाल पसेका सलह कमजोर देखिएका छन् । नयाँ ठूलो झुण्ड आउने सम्भावना छ । तिनीहरू हानिकारक हुने कुरा बेग्लै छ । अहिलेलाई तर्साएरै, धपाएरै जित्न सक्छौँ भने त्यही गरौं ।

सलह दिउँसो बालीनालीमा र राति पहाड वा रुखका हाँगामा बस्छन् । दिउँसो विषादी छरेर सलह नियन्त्रण गर्न कठिन हुन्छ । सलह बसेको भूगोलका हिसाबले विषादि छर्नु सम्भव हुँदैन ।

यो किरा बिहान आराम गर्छ । घाम लागेको एक घण्टा तापेर शक्ति आर्जन गरेपछि चर्न निस्कन्छ । त्यही बेला त्यसलाई के गर्ने हो गर्नुपर्ने हुन्छ । हामी पाल्पा, प्युठान, दाङलगायत ठाउँका बालीमा हानि धेरै भयो भने पहिला स-सानो क्षेत्रमा विषादी छर्ने सोचमा छौं ।

नेपालमा कहिलेसम्म सलह रहन्छ भन्ने आकलन छ ?

भारतको राजस्थानमा कोरलिएर विभिन्न भागमा परिपक्क भएका सलहलाई नेपाल आइपुग्न कम्तीमा १५ दिन लागेको अनुमान छ । अपरिपक्क अवस्थाकोले पनि त्यो समय गुजारेको छ । अपरिपक्व सलह परिपक्व हुन ६ देखि ७ हप्ता लाग्न सक्छ ।

परिपक्व सलह वंश विकासका लागि अनुकूल वातावरणमा नपुगे नष्ट हुन्छ । यो अवस्थामा डेढ महिनासम्म अहिलेकै सलह हामीले विभिन्न क्षेत्रमा झेल्नुपर्ने हुन सक्छ । पूर्वीय वायुको चाप बढ्यो भने त्यसैले उडाएर त्योभन्दा पहिल्यै नेपालबाट बाहिर निकाल्न पनि सक्छ ।

हामी सलहको उच्च जोखिममा छौं । वायुको चापमा परिवर्तन आउनाले पूर्वानुमान नमिलेको अनुभव छँदैछ । एफएओका अनुसार राजस्थानमा कोरलिएका नयाँ छिमलका सलहको ठूलो झुण्ड दिल्लीतर्फ लागेको छ । वायुको चाप अहिलेकै दिशामा रहे ती सलह नेपाल पस्ने सम्भावना बलियो बन्छ ।अनलाइनखबरबाट