चौथो अगं र पत्रकार

Avatar
admin

२०७७ मंसिर ८ गते, सोमबार १४:०२ मा प्रकाशित

–के.बि.मसाल
पत्रकारलाई चौथो अंगको गरिमा र जिम्मेवारी न त संविधानले दिएको हो, न त कुनै ऐन कानुनले !

नेपालको संविधानले देशको सम्पर्ण अधिकार जनतालाई सुम्पेको छ । सार्वभौम सत्ता सम्पन्न जनताले आफ्नो प्रतिनिधि रोज्छन र व्यवस्थापिका अर्थात् संसद बन्छ । संसदले सरकार अर्थात कार्यपालिका बनाउँछ । सरकार र संसदले मिलेर न्यायपालिका बनाउँछ ।

यसरी बनेका तीन अंगको शक्ति सन्तुलनको आधारमा संसदीय प्रजातन्त्रको जग खडा गरिएको छ भने चौथो अंग पत्रकारिताको उद्गम कहाँबाट भयो ? निश्चय नै राज्यका तीन अंगहरुले राम्रोसँग काम गरोस् भन्नका लागि उनीहरुमाथि निगरानी राख्नका लागि स्वतन्त्र प्रेसको आवश्यकता हुन्छ ।

यसको अभावमा राज्यका तीन अंगमध्ये कुनै पनि अंग अनियन्त्रित हुनसक्छ ।
दलीय राजनीतिक व्यवस्थामा चौथो अंगको भुमिकालाई यसरी नै बुझिएको हुन्छ । वास्तवमा चौथो अंगको उत्तरदायित्व र गरिमा पत्रकारिताले आफ्नो सेवा र कर्तव्यबाट आर्जन गर्छ । पत्रकारको परिचय पत्र पाउँदैमा कोही पनि मानिस चौथो अंगको गरिमामा पुगिहाल्दैन । पत्रिकाको प्रकाशकको लागि पत्रिका प्रकाशन एउटा कमाउने व्यवसाय हुनसक्छ ।

तर पत्रिकामा काम गर्ने सम्पादकदेखि सम्वाददाता सम्मका लागि पत्रकारिता दश देखि पाँच बजेसम्म गरिने पेशा वा जागिर मात्रै हुदैन । सुतेको बेलामा बाहेक हरेक पलमा पत्रकार समाजको सजग दिमागी प्रहरी हुन्छ । कहाँ नहुन पर्ने कुरा भयो र कहाँ हुनपर्ने कुरा भएन ? यही चिन्तनमा उ लागिरहन्छ । अनि कहीँ खोँट भेट्टाउने बित्तिकै कलमको बन्दुक चलाइहाल्छ । डाक्टर, वकिल वा इन्जिनियरले झैँ पत्रकारले ग्राहकको अनुरोधमा मात्रै काम गर्ने भन्ने हुदैन । उ अन्तर आत्माको आवाजले काम गर्ने समाजको प्रहरी हो । यही कर्तव्यबोधले गर्दा उसलाई चौथो अंगको गरिमा प्राप्त हुन्छ । यो गरिमासँग कर्तव्य अविच्छिन्न रुपमा गाँसिएको छ ।

पत्रकारितालाई राष्ट्रको चौथो अंगको रुपमा स्वीकार गरिन्छ । तर त्यो ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका जस्तो अंग भने होईन । यो प्रजातान्त्रीक शासन ब्यबस्थामा बिश्वब्यापी रुपमा मान्यता पाएको अंग भने हो । सन् १७८७ तिर ग्रेड ब्रिटेनको संसदमा त्यहाँका गतिविधीहरु रिपोटिङ गर्ने अवसर दिइए संगै पत्रकारीतालाई चौथो अंगको उपमा दिइएको हो । पत्रकारीता चौथो अंग हो भनेर चर्चा गर्ने पहिलो ब्यक्ति थोमस कार्लि हुन ।

यही बेला देखि ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाका गतिविधीहरु माथी समेत निगारनी गर्ने अवसर पत्रकारीताले पायो । पत्रकारीतालाई नागरिकको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अधिकार संग जोडियो । नेपालमा पनि प्रेस स्वतन्त्रता संविधानत मौलिक हकको रुपमा लिइएको छ । नेपालको संविधान २०७२ को मुल प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको कुरा राख्ने काम भएको छ । त्यसैगरी भाग ३ को धारा १९ मा संचारको हकको ब्यबस्था छ ।

प्रेस स्वतन्त्रता भएर मात्रै हुदैन त्यो समाज प्रति उत्तरदायी पनि हुनुपर्छ भन्ने कुराको महसुस यूरोपका देशहरुले सन् १९४० को दशकका नै गरेका थिए । अमेरिकाको टाइम्स म्यागेजिनका मालिकले रोबर्ट हचिन्स नामक सञ्चारविदलाई त्यस बेलाको बिग्रँदो पत्रकारिता अभ्यासबारे अध्ययन गरी प्रतिवेदन तयार पार्न लगाएका थिए । सन् १९४७ मा हचिन्स कमिसन नामको संस्थाले त्यस बेलाको दलीय पत्रकारिता, प्रोपोगान्डा, बढी व्यापारमुखी, बढी उत्तेजनापूर्ण रहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने सुझाव दिएको थियो । पत्रकारितामा सामाजिक उत्तरदायित्वको सिद्धान्त देखा पर्नु उनको अध्ययनको निष्कर्ष थियो ।

पत्रकारिता समाजको वाचडग हो । हरेक गतिविधिको पत्रकारहरुले निष्पक्ष ढंगले निगरानी गरिरहेका हुन्छन् र गर्नु पनि पर्दछ । तर, पत्रकारिताको मूल्यमान्यता र सिद्धान्तलाई पन्छाएर ल्यापडगको अभ्यास भएको छ । किनकि, हाम्रो पत्रकारिता निहित स्वार्थ र समूहबाट सञ्चालित छ । विज्ञापनमुखी पत्रकारिताको शैलीले हाम्रो विश्वास गुमिरहेको छ । समाचार झिकेर विज्ञापन हाल्न तयार हुन्छौँ हामी । अनि, विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न कत्ति पनि संकोच मान्दैनौँ । स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलनजस्ता मान्यताहरु विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरु समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौँ । जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम सन्चार सस्थाका सञ्चालक र पत्रकारहरुबाटै भएका छन् । पीत पत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौँ । हामीमा घमण्ड छ, किनकी हामी पत्रकार हौंँ ।

पत्रकारीता पेशा सम्मानीत पेशा हो । यस पेशामा लागेका पत्रकारहरुलाई समाचार प्रकाशन र प्रशारण गरेकै कारण कसैबाट दुब्र्यावहार गरिनु हुदैन । सूचनाको हक सम्वन्धी ऐन २०६४ ले सूचना पाउने कुराको ग्यारेन्टी गरेको छ । आम नागरिक जस्तै पत्रकारहरुले सूचना पाउनुपर्छ । भलै पत्रकार सूचना संग बढी खेल्ने भएकाले सूचनाका लागि तडपी रहेको हुन्छ । पत्रकारीता जस्तो सम्मानीत पेशामा लागेकाहरुलाई अरुले दुव्र्यवहार नगरोस् भन्ने चाहना हुन्छ । यस्तो भनिरहदा पत्रकारहरुले एउटा कुरा बुझ्नु जरुरी छ । कतै हामीले समाचारमा चयन गर्ने शब्दले अरुलाई दुव्र्यवहार त भैरहेको छैन । हामीले बिना तथ्य सस्तो लोक प्रीयताका लागि लेख्ने हावादारी समाचारले समाज भडकाई रहेको छ छैन । एक पटक हामी सोचौ त दिनदिनै कतिलाई दुव्र्यवहार गरेका हौँला ।

त्यसैले पत्रकारीताले आफ्नो धर्म भुल्नु हुदैन । पत्रकारीताले धर्म भुलिदिएमा अन्य अंगहरु पनि धर्म भुल्ने खतरा रहन्छ । पत्रकारीतालाई ब्यबस्थीत र ब्यावहायीक बनाउने काम राज्यको हो । त्यसका लागि मिडिया मैंत्री आम संचार निति अहिलेको आवश्यकता हो । पत्रकार र पत्रकारीताले आफ्ना लागि बनाएका संहिताको पालना गरे नगरेको नियमन गर्ने निकाय छ । तर ती निकायले प्रभावकारी भूमिका निभाउन नसकेको गुनासो छ ।

सबैले आफ्नो भूमिका सच्याउन सकेन भने पत्रकारीता प्रतिको बिश्वसनियता अझै गुम्ने खतरा छ ।
पछिल्लो समयमा नेपाली पत्रकारीतामा जुन किसिमका दृष्यहरु देखा परिरहेका छ । पत्रकारितालाई चौथो अंग भन्ने कि नभन्ने ? प्रश्न खडा भएको छ । हामी चौथो अंगबाट अरु नै अंगमा रुपान्तरित भयौँ कि ? चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । यस बारेमा पत्रकारीता पेशामा लागेका पत्रकारहरुले सोच्नु जरुरी छ । पत्रकारिता कला, सीप र ज्ञान सम्बधित प्राविधिक व्यवसाय हो । यसले निरपेक्ष सूचनाको दोहोरो प्रवाहद्वारा राज्य र जनतालाई सूचित गर्ने गर्दछ । यसो गर्ने हैसियत राख्दा नै पत्रकारिता राज्यको चौथो अंग भएको हो ।

सूचनाप्रदायी संस्था पत्र–पत्रिका, अनलाइन, रेडियो, टीभी आदि मा संलग्न हुनु नै कुनै व्यक्तिको पत्रकारिता सम्बन्धी योग्यता होइन । कुनै सूचनाप्रदायी संस्था प्राधिकरणले दिएको परिचय–पत्र पाउनासाथ कुनै व्यक्ति पत्रकार भइहाल्दैन । उसले यो व्यवसायको धर्म र मर्म बुझ्नु पर्दछ । पत्रकार बन्नको लागि समाचार चिन्ने र त्यसलाई माध्यममा चित्रवत् सम्प्रेषण गर्ने क्षमताको विकास गर्नु पर्दछ । खल्तीमा परिचय–पत्र पर्नासाथ पत्रकार बनेको सोच्ने र त्यसलाई पत्रकारिता सम्बन्धी विभिन्न संस्थाले मान्यता दिने गर्नाले पनि हाम्रो पत्रकारिता केवल पेशा मात्रमा सीमित हुने दिशातर्फ उन्मुख हुँदै गइरहेको छ ।

पत्रकारितालाई कमाउने पेशाका रुपमा अंगीकार गर्नेहरुको संख्यात्मक प्रतिस्पर्धाले विभिन्न गुट–गिरोहमा यस व्यवसायको कत्र्तव्य, धर्म र सैद्धान्तिक आदर्श विपरीत पत्रकार पहिचानको बिल्ला भिर्न पाएका अनजानहरुको भीड बढ्दै गएको छ । यस्ता अलग–अलग समूह, गुट र गिरोहले आ–आफ्ना नेतारुपी अगुवालाई वरिष्ठ पत्रकार, अग्रज पत्रकार र अगुवा पत्रकार आदि सम्मानले पुकार्ने, मान्ने, लेख्ने गरेका छन् । अझ कुनै दलमा पनि आवृत्त व्यक्ति, यदि उ त्यो दलमा अलि हालहुकुम राख्ने गर्छ र यता साइड जब जस्तो कुनै पत्रिका वा प्रसारण संस्थासित पनि आवद्ध छ भने, उसलाई स्वतः वरिष्ठ, अग्रज र अगुवा पत्रकार भन्दिने मापदण्ड प्रयोगमा छ । वरिष्ठ, अग्रज पत्रकार बन्न र भन्नका लागि कुनै मापदण्ड छैन ।

कसैले तयार गरेका समाचार पढने, प्रेसमा प्राविधिक काम गर्ने, पत्र–पत्रिका बाँडने, प्रेस र पत्र–पत्रिकाको पैसा उठाउनेदेखि कुनै सम्पादककहाँ भान्साको काम गर्ने सम्मलाई पनि पत्रकार भन्नुपर्ने औपचारिक परिचय दिने काम काम बढ्दैछ । यसैको बिचमा पत्रकारिताका धर्म, आदर्श र सैद्धान्तिक जानकारहरु छायाँमा पर्दै गएका छन् । पत्रकारिताको पहिचानको कार्ड बोकेर चाटुकारिता गर्नेहरुलाई नै सम्भवतः राज्यका नीति प्रयोगकर्ता र स्थानीय सरकारी निकायहरुले चिन्ने गर्दछन् । दशकौंदेखि समर्पित पत्रकारहरुलाई राज्यका स्थानीय निकायहरुले चिन्ने गर्दैनन् । सिद्धान्ततः पत्रकारिता चौथो अंगबाट अरु नै अंगमा रुपान्तरित हुन लागेका छ ।
जंगबहादुरले नेपालमा गिद्दे प्रेस भित्राएपछि भएको पत्रकारिता र अहिलेको पत्रकारितामा आकासपत्तालको फरक छ । समायानुकूल पत्रकारिताको मूल्य मान्यता पनि फेरिदै गएको छ । हिजोको पत्रकारिता र आजको पत्रकारितामा नै निकै भिन्नता पाइन्छ । नयाँनयाँ प्रविधि र मूल्यमान्यता फेरिए पनि पत्रकारितामा परम्परावादी सोच र चिन्तन भने फेरिएको पाइदैन ।

यसको प्रमुख कारण भनेको विना ज्ञान र सिप पत्रकारितामा लाग्नु हो । पत्रकारिताको आधारभूत सिद्धान्त मूल्यमान्यताको ज्ञान विना पत्रकारिता गर्नु नै यस क्षेत्रमा देखापरेको मुख्य चुनौती हो । प्रेसजगतमा अपेक्षाकृत परिस्कृत हुन सकेको छैन । छाडापन र राजनीतिक पक्षधरताको वकालत जस्ता विसंगतिले पेशा नै चुनौतिपूर्ण बन्दै गएको छ । राजनीतिक संलग्नता र पक्षधरताको विसंगतीले नेपाली पत्रकारिता झन गम्भीर मोडमा पुगेको छ । यि समस्या सुल्झाउन पत्रकार स्वयंले आफ्नो आचारणमा सुधार ल्याउनु जरुरी भएको छ ।

नेपालमा राजनीति र पत्रकारिताको सम्बन्ध ज्यादै घनिष्ट छ । नेपालमा २०१२ सालमा गठन भएको तत्कालीन नेपाल पत्रकार संघको अध्यक्ष पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । रघुजी पन्त, रमेशनाथ पाण्डे, हरिहर विरहीजस्ता पत्रकारहरु पत्रकारिताको सिँढी प्रयोग गरेरै राजनीति पथमा अग्रसर भए । राजनीतिक आवरणमा पत्रकारिता गर्दा प्रेस काउन्सिललगायतका सरकारी सञ्चार अखडाहरुमा अध्यक्ष, निर्देशक, प्रबन्धकजस्ता पदहरुमा पुग्न सके । पछिल्लो समयमा राजनीती दलको पुच्छर समातेर पत्रकारिता गर्नेहरु राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीहरुको सञ्चार सल्लाहकार हुन पाए ।

नेपालमा पत्रकारिताको इतिहासको पाना पल्टाउदा पञ्चायतकालभरि पञ्चायतका पक्ष र विपक्षमा पत्रकारहरुको शीतयुद्ध चल्यो । बहुदलीय व्यवस्था पुनरावृत्ति भएपछि सबै पत्रकारहरु बहुदलको पक्षमा एकढिक्का भएर लाग्ने अनुमान थियो तर भएन । राजनीतिक आस्था वा लाभको आशाले पत्रकारहरुको एकता खण्डीकृत मात्रै भएन, दलैपिच्छे, गुटैपिच्छे र व्यक्तिपिच्छे लाग्ने पत्रकारहरु बढे, जसले व्यावसायिक पत्रकारितालाई सर्लक्कै अधोगतितर्फ तानिरहेको छ । जन्मदा हरेक व्यक्ति विचारशून्य हुन्छ ।

शिक्षादीक्षा, जीवनका भोगाइ र सामाजिक परिवेशले उसभित्र आफ्नै मौलिक विचार निर्माण हुन्छ । तसर्थ, विचार नभएको मान्छे हुँदैन । यदि कोही छ भने त्यो असामाजिक प्राणी हो । त्यसलाई विचारवान् बनाउनुपर्दछ । तर, कुनै पत्रकारले म विचारवान् छु, तसर्थ अमूक राजनीतिक संगठनको कार्यकर्ता भएर हिँड्छु भन्नु आफैमा ठिक होइन ।

पत्रकारिता पेसामा संलग्न भएका बेला तपाईं पत्रकार हो । पत्रकारिता छाडने बित्तिकै पूर्वपत्रकार हुनुहुन्छ । पत्रकारिता मात्र नभएर जुनसुकै पेसामा यही सूत्र लागू हुन्छ । तर,नेपालमा म सधैं पत्रकार भइरहन पाउ भन्ने बुझिनसक्नुको आकर्षण छ । किनभने त्यसभित्र जायज–नाजायज वा प्रत्यक्ष–परोक्ष लाभका हिसाब–किताबहरु जोडिएका छन् । त्यसैले पत्रकारिता पेसामा संलग्न नभएका बेला उसले आफूलाई फिल्यान्सर बताउँछ, भूपु हुने त कुरै छैन ।

अझ उदेक लाग्दो कुरा त सूचना विभागले गर्छ । सूचना विभागले १५ वर्ष सक्रिय पत्रकारिता गरेकालाई वरिष्ठ पत्रकारको परिचयपत्र दिने गरेको छ । त्यसपछि उ खेती किसानी गरोस् कि कुखुरापालन, त्यसको लेखाजोखा राख्दैन । उ आजीवननै पत्रकार भै रहन्छ ।