सगरमाथाको नयाँ उचाई सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

Avatar
admin

२०७७ मंसिर २३ गते, मंगलवार १८:११ मा प्रकाशित

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको छ ।

मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएको नयाँ उचाई अनुसार अब सगरमाथाको उचाई ८ हजार ८४८ दशमलव ८६ मिटर कायम भएको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलोपटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गरिएको नापी विभागले जनाएको छ ।चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिएको हो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ ८ हजार ८४८ मिटरलाई नेपालले मान्यता दिएको थियो । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।अमेरिकाको मापनमा ८ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा ८ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो ।यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो । सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।