सन् २०२१ को प्रारम्भ

Avatar
admin

२०७७ पुष १७ गते, शुक्रबार १५:४४ मा प्रकाशित

–के.बि.मसाल
संसारभर आज इस्वी संवतको नयाँ वर्ष ! अर्थात सन् २०२० बिदाई र सन् २०२१ स्वागत गर्दै आजबाट इस्वी संवतको नयाँ बर्ष संसारभरि स्वागत गरिँदैछ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । हामी नेपालीहरुको आफ्नो दैनिकी, चाडवाड अनि कार्यालयगत कुराहरु विक्रम सम्वतमा आधारित भएकाले यो इस्वी सम्वतलाई आगन्तुक र परदेशी संवतका रुपमा लिने पनि गरिन्छ । तर विदेश बस्नेहरु अनि अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा काम गर्ने लगायत अन्य अन्तर्राष्ट्रिय संवतहरु इस्वी सम्वतमै स्विकारीएकाले पनि इस्वी सम्वतको महत्व मानिन्छ ।
इस्वी संवत ग्रेगोरियन क्यालेण्डर अर्थात क्रिश्चियन क्यालेण्डरमा आधारित जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष सुरु हुन्छ । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले जनवरी १ तारिखको दिनमा इस्वी संवतको नयाँ बर्षको सुरुवात गराएका हुन । त्यसैले इस्वी सम्वतलाई जिसस क्राइष्टको सम्झनामा प्रारम्भ भएको सम्वत मानिन्छ । यो सम्वत विशेषत क्रिश्चियन धर्मालम्बीहरुले नयाँ बर्षको रुपमा मनाउने भए पनि हिजोआज विश्वका प्राय सबै देशहरुमा इस्वी सम्वतलाई नयाँ बर्ष मनाउने गरिन्छ । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो अर्थात अग्रेजी पात्रो भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरुवात बैशाखको पहिलो दिनबाट हुन्छ । इस्वी सम्वत जूलियन क्यालेण्डरको रुपान्तरण हो । ग्रेगोरी क्यालेण्डरमा मूल एकाइ दिन हुन्छ । ३६५ दिनको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष लिप इअर भनिन्छ । विश्वका धेरै मुलुकले इस्वी सम्वतको जनवरी, १ लाई नयाँवर्षको रुपमा मनाउदै आएपनि इस्वी सम्वत भन्दा विक्रम सम्वत वैज्ञानिक भएको ज्योतिष विज्ञानको भनाई छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु हुन्थे । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् । कोरोना संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन । अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रहन गयो । सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई लकडाउनमा राखेर एक तिहाई विश्व नै घरका छतमुनी धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रुपमा बित्यो अर्थात कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । चीनको उहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । हामीले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नु प¥यो । विश्व अझै पनि भाइरसका बिभिन्न संस्करणहरुको प्रभावमा छ, । कतिपय देशहरु अझै खुलेका छैनन, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरु सुधारउन्मुख छन् । सेनाहरु भन्दा सेता कोटहरुले, हतियारगृह भन्दा अस्पतालले देशवासीको जीवन सुरक्षा हुन्छ भन्ने तथ्य यस वर्षले प्रमाणित गरिदिएको छ । यस वर्षले विश्वलाई डिजीटल थलोहरु तर्फ डोहो¥याएको छ । अब मानविय अंगालोहरु च्याटबोर्डका ईमोजिहरुले प्रतिस्थापन गरेको छ । भींडहरु अब डिजीटल थलोमा बढन थालेको छ अनि डिजीटल थलोमा मानवको प्रवेश यस वर्ष जति अन्य कुनै वर्षमा भएको थिएन ।
मानिसमा नयाँ सोच, जोश, जागर, खुसी र उमंग पर्वको रुपमा मनाउदै आएको नयाँवर्षले थपउर्जा थपिदिने काम गर्दछ । संसारमा नयाँवर्ष मनाउने तरिका पनि आफ्नो धर्म र सस्कृती अनुसार फरक–फरक शैलिमा छ । ल्याटिन अमेरिकामा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानमा विभिन्न किसिमका फुलहरुद्वारा युवालाई कन्याहरुको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्न दिने गर्दछन । मित्रराष्ट्र भारतमा स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ । बगांलमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुहरुलाई उपहार प्रदान गरिन्छ । आसाममा यस दिन पशुहरुलाई पूजा गर्दछन । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिकरुपमा नाँचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरुसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन छ ।
इन्डोनेसियामा नयाँ वर्षलाई गोलुगान भन्छन । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन । मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् । मगंोलियामा यस दिन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन् । कुवेतमा नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन् । मेक्सिकोमा जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन् । जर्मनीमा यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा अर्थात सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ । पोर्चुगलमा यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ । बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन, रातको ठीक १२ बजे बढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको मानिन्छ ।
बर्माको बर्मेली समाजमा नयाँ बर्षको उत्सवलाई विज्ञान भनिन्छ । घर र वरिपरी सजिसजाउ पारेर आफन्तहरुमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । नव बर्षको दिन शान्ति र सबृद्धिको प्रतिकको लागि भगवान वुद्धको पुजा गर्ने चलन छ । चीनमा नयाँवर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका भुइचम्पा उडाएर भान्साको देवताको साथै पछिल्लो वर्षलाई बिदा दिएर, फेरी त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपद्धारा स्वागत गर्ने प्रचलन छ । चीनमा रातभर जागा बसेर आमा, बावु र गुरुलाई आदर भाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्नुको साथै मिठो खान खाने प्रचलन छ ।
यसैगरी बिट्रिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्यहाको केही आदिबासीहरु पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल वा छिमेकमा सबै मानिस एकैठाउँमा जम्मा भएर आ–आफनो इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पुजा गरेर नयाँ वर्ष मनाउने गर्दछन । त्यतिबेला उनीहरुको अघिल्लो दिन सुर्यस्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यको पुजा एवं उपासाना गरेर नयाँ बर्ष मनाउने गरेको देखिन्छ । जापानमा नयाँवर्षको आगमनमा घरहरुलाई हरिया वृक्षहरुले सजाउनुको साथै शुद्ध जल पिउने गर्दछन । जसलाई नवजात जल भनिन्छ । नवजात जल पिउनाले आयु वृद्धिमा र देहमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफू भन्दा मान्यजनबाट आशिष लिने र अरुहरुको ऋण चुक्ता गर्ने गर्दछन् । यस दिनमा चंगा उडाउनुको साथै स–साना बालकहरुलाई अक्षराम्भ गर्न शुभ दिन मान्दछन् । नयाँ बर्षलाई जापानमा यावुरी भन्दछन ।
त्यसैगरी भ्याटिकन सिटीमा क्रिसमसपछि नयाँ वर्ष मनाउने पर्व मानिन्छ । भ्याटिकनमा नयाँ वर्ष मनाउने क्रममा नयाँ सालको पहिलो दिनको बिहान आकाशमा सेता परेवाहरु उडाएर र एउटा ठूलो केक भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षाउल्लासका साथ बाँडने गरिन्छ । त्यसैगरी अष्ट्रेलिया र न्युजील्याण्डमा पनि विट्रिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदानप्रदान गर्नुको साथै अनेकौँ किसिमका उत्सव मनाउने परम्परा छ । भेनिसको जनजाति इलाकामा यस दिन चर्चहरुमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ । थाइल्याण्डमा प्रत्येक घरमा दियो बालेर दिपावली गरी नयाँ वर्ष मनाउँदछन । साथै त्यो दिन बौद्ध मन्दिरमा गएर प्रार्थना गर्दछन् । इरान र इराकसहित अरबको देशहरुमा नयाँ वर्षको आगमन उत्सवलाई नौरोज भन्दछन् । राती दियो बालेर त्यसको प्रकाश उत्साहपूर्वक रमाइलो गर्दछन ।
विश्वका धेरै मुलुकमा इस्वी सम्वतको जनवरी १ लाई नयाँ वर्ष मनाउँछन् भने नेपालमा विक्रम सम्वतलाई राष्ट्रिय मान्यता प्राप्त गरेकोले वैशाख १ गते नयाँ वर्षको रुपमा मनाउँने गरिन्छ । राजा विक्रमदित्यले विक्रम सम्वतको सुरुवात गरेको प्राचिन भनाइ रहेको छ । नेपालमा विक्रम सम्वतको सुरुवातसँगै नयाँ वर्षको रुपमा मनाउने प्रचलन सुरुवात भएको छ । पहिला नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ मन्दिरमा गई पुजा गरेर मनाउँथे भने अहिले शुभकामना आदनप्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको छ ।
नयाँ बर्ष केवल पात्रो र परिवर्तनको खेल होईन । यो एउटा विशिष्ट विन्दु हो जहाबाट हरेक मनुष्यले उन्नति, प्रगति एवम् सुस्वास्थ्य जीवनको अभियान शुरु गर्ने अठोट लिएको हुन्छ । कुरा व्यक्तिको मात्र होईन । समाज हँुदै सिङगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत नयाँ बर्षको उत्साह र उमंग मुखरित भएको हुन्छ । प्रत्यक वर्ष नयाँ वर्ष आउछ,जान्छ । उत्सव हुन्छ, शुभकामना आदन प्रदान हुन्छ,नयाँ कामको प्रारम्भ हुन्छ नयाँ वर्षको आरम्भमा । नेपालीको नयाँ वर्ष विक्रम सम्वतको वैशाख १ गते बाट सुरुहुन्छ । हामीले मनाउदै आएको नयाँ बर्ष अर्थात विक्रम सम्वत हिन्दु पन्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो ।
जसरी हरेक देशमा नयाँ वर्ष मनाउने शैली र परम्परा अलग छ । तर सबैको उद्देश्य भनेको नयाँ वर्ष मानवको लागि शुभ रहोस भन्ने हो । अहिलेसम्म विश्वमा कहिलेबाट नयाँ वर्ष मनाउन सुरु गरियो कुनै प्रमाण छैन । पृथ्वीमा जहिले समयको गणना वर्षमा गन्ने प्रचलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने प्रचलन हुन गएको मानिन्छ । तर लिखित रुपमा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाउने प्रचलन पूर्वी युनानीहरुले हजारौँ वर्ष पहिले सुरुवात गरेको पाइन्छ ।
नयाँ बर्षको उपलक्ष्यमा यतिखेर संसारभर सामाजिक संजालहरु मार्फत इमेल र फोन अनि शुभकामना कार्डबाट शुभकामना आदान प्रदान गर्ने ओइरो लागेको छ । सबै मानिसहरु खुशीले उमग छन । हर्षित देखिन्छन, परिवार, साथीभाई, इस्टमित्रसंग घुमघाम र रमाइला कार्यक्रमहरु तय गर्दैछन् । सबैले सुस्वास्थ्य दिर्घायु शान्ति र प्रगतिको शुभकामना आदान प्रदान गर्दछन । संसारभर रहने इस्वी सम्वत प्रयोगकर्ता सबैलाई सन् २०२१ को शुम कामना ।
मिती ः– २०७७ पौष १७ गते दाङ