सहिद आत्मीय र सम्मानको शब्द

Avatar
admin

२०७७ माघ १६ गते, शुक्रबार १४:३८ मा प्रकाशित

–के.बि.मसाल
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते सहिद दिवस मनाइन्छ । तर हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक भने सरकार संग छैन । तर पनि नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा सहिद दिवस मनाइएको हो ।
सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ । व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्द कोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ । राणाशासनको विरुद्ध प्रजापरिषदको गतिविधिमा लागेबापत वि.स.१९९७ साल कात्तिक २ गते पक्राउ गरी त्यसपछि १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै बिष्णुमतीको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ । तर सहिद को र किन ? अहिले भने सहिदको बारेमा विभिन्न किसिमबाट अर्थ लगाउन थालिएको छ ।
निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् । वि.स.१९९७ देखि २०६२÷०६३ को आन्दोलनबीच करिब ६५ वर्षको अबधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समय मुलुकमा आन्दोलनको क्रममा मानिसहरुको मृत्यु हुने र सहिद घोषण गर्ने क्रम बढ्दै गएपछि २०६६ साल कात्तिक १६ गते सहिदको परिभाषा र मापदण्ड कायम गर्न कार्यदल गठन भएको थियो । कार्यदलले दिएको सुझाव अनुसार अहिले पनि सहिद घोषणाको अर्थ भने नमिलेको आभाष हुन्छ ।
राणाकालिन अबस्थामा सहिद भएका चार सहीदलाई अझै पनि केही राणा र उनका समर्थकहरुले सहिद मान्दैनन् । अझ उनको अर्थमा त्यसबेलाका आतंककारी मान्दछन् । पन्चहरुले पञ्चायतकालीन सहिदहरुलाई सहिद मान्दैनन् । उनीहरुको भाषामा अर्राष्ट्रिय तत्व मान्दछन् । अनि राणा, पञ्च, कांग्रेस र अहिलेका नेकपाले लगायतका अधिकांश संसदवादीहरु जनयुद्धका सहिदहरुलाई सहिद मान्दैनन्, आतंककारी नै ठान्छन् । पहाडका मानिसहरु मधेशी सहिदहरुलाई सहिद मान्दैनन् बिखण्डनकारी मान्छन् । सहिदहरुमाथि पनि वर्गीय दृष्टिकोण रहकोे छ । जसको लागि लड्यो उसले सहिद मान्ने र जसका बिरुद्ध लड्यो उसले आकंककारी मान्ने सोचको विकास भएको छ ।
सहिद आत्मीय र सम्मानको शब्द हो । यो शब्दलाई सहर्ष स्वीकार्दै देश र जनताप्रति बफादार भई जीउज्यानको बाजी थाप्नेहरु मात्र सहिद हुन् । तर आज समूह—समूहबीच, मोर्चा—मोर्चाबीच र दल—दलबीच मात्र नभएर व्यक्ति—व्यक्तिबीच द्वन्द्व मच्चिरहेको छ । युद्ध वैचारिक रुपमा मात्र सीमित नरही सशस्त्र रुपमै भौतिक आक्रमण हुन थालेको छ । जसको कारण धेरै नेपालीहरु नेपालीहरुद्वारा नै मारिएको अवस्था छ । राजनीतिक तवरले संरक्षण पाएकाहरु र नपाएकाहरु बीचमा घटना, परिघटनामा परी मृत्यु हुनेहरुको वर्गीकरण हुने क्रम बढ्दै गएको छ ।
सहिद कुनै जाति, धर्म, संस्कृति, क्षेत्र, समुदाय र वर्ग विशेषको हुन सक्दैन । सहिद घोषणामा वैज्ञानिक मापदण्ड नहुँदा वास्तविक सहिद परिवार राज्यको सहयोगबाट बन्चित रहेका छन् । समय—समयमा शासन सत्ताद्वारा जनतामाथि गरिने शोषणको विरुद्व आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको संख्या आजभोलि बढेको छ । यसरी ज्यान गुमाउनेहरुलाई कसरी सम्बोधन गर्ने ? कुन अर्थमा कसरी सम्मान गर्ने ? यो पनि बहसको विषय बनेको छ ।
अहिले सम्म मुलुक भित्र धेरै आन्दोलन र क्रान्ति भइसक्यो । मुलुकमा द्वन्द्व बढ्दै जाँदा बिगतमा दसवर्षे जनयुद्ध समेत हामीले भोगिसक्यौं । त्यो जनयुद्वमा ठूलो जनधनको क्षति हुनपुग्यो । बिगत राणाकालीन हुँदै शाहकालसम्म आइपुग्दा सत्ताका लागि जनता हदैसम्म प्रयोग हुँदै आयो । जनताले आफ्नो प्राण नै उत्सर्ग गरेर धेरैलाई शासनसत्ता चलाउने हैसियत बनाई दिए । तर अहिले सहिद घोषणा भएका व्यक्तिका घरपरिवारहरुको अबस्था सरकारले अध्ययन गर्न सकेको छैन । उनीहरुको अबस्था कस्तो छ ? सहिद परिवारहरलाई के कसरी सम्मान गर्न सकिन्छ ? र के गर्नु पर्दछ भन्ने कुरा सरकारले बेवास्ता गर्दै आएको छ । अनि वर्षको एक पटक सहिदको नाममा गोहीले आँसु चुहाए जस्तै गरी औपचारिक कार्यक्रम गर्दैमा सहिदको सम्मान हुन्छ र ?
कुनै पनि कार्यक्रमको औपचारिकता र अनौपचारिकतामा सहिदहरुलाई सम्झने कुरा आफ्नै ठाउँमा छ । तर सहिदको बारेमा चर्चा,परिचर्चा गरेर मात्र पुग्दैन । सहिदले देखेको सपना, सहिदले खोजेको कुरा र व्यवस्था जनताले प्रत्यक्ष अनुभूत गर्न पाउनुपर्छ । त्यसपछि मात्र सहिदको सच्चा स्मरण गरेको र सम्मान प्रदान गरेको ठहर्नेछ । औपचारिक कार्यक्रम गरेर केवल सहिदप्रति औपचारिकता मात्र पूरा गरी वर्षमा एकपटक सहिद सप्ताह मनाएर मात्र सहिदहरुको सम्मान हुन सक्दैन । सहिदले खोजेको नीति व्यवस्था लागु गरेर तिनलाई सम्मान गर्नु आवश्यक छ । सहिदलाई कहीं कतै कुनै पनि तवरले वर्गीकृत नगरी राष्ट्र, शिर, गर्व, गहना, धरोहर, आस्था र आदर्शको रुपमा सबैले स्वीकार्ने कार्यक्रम सरकारको हुनु पर्दछ ।
सहिद शब्दलाई हरेक नेपली जनताले मन मष्तिष्कमा राख्नु पर्दछ । सहिद कस्तो ब्यक्तिलाई भनिन्छ भन्नेबारे ज्ञान हुन पनि जरुरी छ । देश बनाउनु पर्छ नेपाली जनतालाई हक अधिकार दिलाउनु पर्छ भन्ने तर आफू बनी देश बिगार्ने गरेका शासकहरु बिरुद्ध आफ्नो जीवनको वलिदानी दिने सहिदहरुको सोच अनुसार राष्ट्र अगाडि बढ्नु पर्दछ । विगत माओवादीले १० वर्षे जनयुद्ध गरे । युद्धको दौरानमा कति सहिद भए त्यसको लेखाजोखा नै छैन । विचरा ती वलिदानी दिनेहरु आत्माले के भनेको होला ? यसको उत्तर अहिले कसले दिने ? सर्वहारा वर्गको उत्थान र जातीय पहिचान सहितको संघीयताको कुरालाई प्रमुख एजेण्डा बनाएर जनयुद्धमा मारिएका थिए ।
सामान्यतया देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद धोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागि लडदालडदै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ । तर कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य भएको छ ।
हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतीले सहिदको परिभाषा सस्तो बनेको छ । सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत पु¥याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ ।
नेपालमा व्यवस्था परिवर्तन र जनताका नैसर्गिक हक अधिकारका स्थापना गर्नका लागि जसको कुनै योगदान छैन त्यसलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । चोरलाई प्रहरीले समात्न खोज्दा उम्केर भाग्छ । भूमिगत गिरोहमा संलग्न हुन्छ । जघन्य अपराधमा उसको मुख्य भूमिका हुन्छ । प्रहरी इन्काउन्टरमा अपराधीको मृत्यु हुन्छ । सहिद घोषणा गर्न माग गर्दै नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिन्छ । आन्दोलनकारी शक्तिलाई सरकारले वार्ताका लागि आह्वान गर्छ । सहिद घोषणा नगरुन्जेल वार्तामा पनि नबस्ने र आन्दोलन पनि फिर्ता नलिने आन्दोलनकारीहरुको माग हुन्छ । अन्ततः सरकार एउटा चोर देखि जघन्य अपराध सम्म संलग्न कुख्यात अपराधीलाई सहिद घोषणा गर्न बाध्य हुन्छ । शहिदको मर्म विरुद्धको कर्म नेपालमा हुन् थालेको छ । के हो सहिद ? को हो सहिद ? यसको उचित परिभाषा गर्न जरुरी भैसकेको छ ।
सहिदहरुको योगदानलाई पैसामा खरिद बिक्री गर्न थाले पछि यसको कुनै अर्थ र औचित्य रहदैन । गोली लाग्यो कि दश लाख झर्यो । अझ आजभोली त पचास लाखको कुरो चलेको छ । सहिदको मूल्य भनेको परिवर्तन हो ,योगदान र परिणाम हो ,पैसा होइन । तर नेपालमा पैसाका लागि सहिद बन्ने प्रतियोगिता हुन थालेको छ भन्दा फरक पर्दैन । सहिदको मूल्य भनेको पैसा हो भन्ने बुझेका हाम्रा राजनीतिक दलले यसको व्यापक दुरुपयोग गर्दैछन् । मर्नका लागि पैसाको प्रलोभन देखाएर मानवता विरुद्धको अपराध गर्दैछन । जहाँ पैसाका लागि मृत्युको बाटो रोजिन्छ भनेर विश्वमा सन्देश नजाओस । सहिदको सच्चा सम्मान त्यति बेला हुन्छ । जव शहिदले दिएको योगदानको कदर गर्दै शान्ति ,स्थायीत्व , समृद्धि, अग्रगमन र परिवर्तनलाई संस्थागत विकास गरिन्छ ।
परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नकालागि आफ्नो ज्यान अर्पण गर्ने सहिद हुन । सहिदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौं भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । सहिदका परिवार अनि घरहरु लगायत शहिद परिवारका सदस्यहरुको अवस्था दूरदराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ । सहिद दिवस भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो । तर ब्यवहारमा भने त्यस्तो देखिदैन । सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र झगडा गर्ने स्वतन्त्रता बाहेक जनताका जनजीविकाका सवाल झन नाजुक बन्दै गएका छन् । अनुचित ढगले महगीको मार र भ्रष्ट्राचारको चपेटा जनताले खेप्नु परिरहेको छ । न्यानो वस्त्र, स्थान र खानपानको अभावमा आवाज उठाउनु परिरहेको छ । यो वा त्यो अनगिन्ती समस्याले जनता झन् थिचिनु परिरहेको छ । अनि कसरी मनाउने जनताले सहिद दिवस ? यस्को जवाफ कस्ले दिने ?
सहिदको मर्म, भावना र सपनालाई साकार पार्न राज्यले सकेको छैन । मुलुकमा अहिले जस्तोसुकै अवस्थामा मृत्यु भएकाहरुलाई पनि सहिद घोषणा गर्ने प्रबृतिले गर्दा ती वीर सहिदहरुप्रति अन्याय भइरहेको छ । देश र जनताले सहिदलाई माघ १६ गते मात्र सम्झने होइन कि हामीले हाम्रो हृदयको कुना कुनामा सहिदहरुलाई सम्झी राख्नु पर्दछ । विशेषगरी देश चलाउनेहरुले सहिदको भावनालाई अबमूल्यन गरे भने सहिदहरुको आत्माले पनि हामी सबैलाई धिक्कारी रहने छ । सहिद दिवस मनाउँदा यी सबै कुराहरु ख्याल गर्न सकियो भने मात्र सहिद दिवसको सार्थकता हुनेछ ।
मिति ः–२०७७ माघ १५ गते दाङ