कोरोना संक्रमण भएकी सिअनमी रमा भारतीको उपचारका क्रममा निधन

Avatar
admin

२०७७ माघ १६ गते, शुक्रबार १९:३५ मा प्रकाशित

काठमाडौं- सिअनमी रमा भारतीको कोभिड संक्रमण भई उपचारक्रममा मृत्यु भएको छ।

उनी बाँकेको वैजनाथ गाउँपालिका टिटिहरिया स्वास्थ्य चौकीमा कार्यरत थिइन।

उनलाई  कोभिड-१९ विरुद्व अग्रपंतिमा खटिइ कार्य गर्ने क्रममा कोरोना भाइरस संक्रमण भएको थयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४६ वर्षिय भारतीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले भारतीको निधनले स्तब्ध भएको भन्दै  श्रद्धाञ्जली व्यक्ति गरेको छ।

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान 3 बजे  निधन भएको हो ।

भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । बर्दियाका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भारतीमा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।

‘चार दिन अघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो, उपचारका क्रममा आज निधन भयो’, श्रेष्ठले भने, ‘उहाँ महामारीको सुरुवातबाटै प्रतिकार्यमा खटिनु भएको थियो ।’
भारतीको एक/एक जना छोराछोरी छन् । भारतीको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गरिएको छ  ।

यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जनाएका छन् ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।