संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

Avatar
admin

२०७७ चैत्र २ गते, सोमबार १९:५९ मा प्रकाशित

राजेश परियारको निर्णायक गोलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब सोमबार हेटौंडामा जारी शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रले अर्को ए डिभिजन टोली संकटा क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको २५ औं मिनेटमा राजेशले एक्रोबेटिक किकमार्फत गरेको गोल नै निर्णायक बन्यो । क्रसमा आएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

खेलमा पछि परेको संकटाले गोल गर्ने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको छ । दोस्रो हाफको सुरुवातीमै संकटाका सरोज दाहालको हेडर पोष्ट नजिकैबाट बाहिरियो । विश्वास श्रेष्ठको प्रहारलाई मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीले सहजै बचाए ।

गोलरक्षक बिट भैसकेको अवस्थाको बलललाई मछिन्द्रका अशोक थापाले गोललाइन एरियाबाट बल क्लियर गरिदिए । मछिन्द्रका कप्तान दीपक राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । निरज बस्नेतको फ्रिकिकले पनि पोष्टको दिशा लिन सकेन ।

गोलकर्ता राजेशले खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । नेपाल पुलिस क्लबलाई हराउँदै संकटाले मछिन्द्रसंगको भेट पक्का गरेको थियो ।
मछिन्द्रले फाइनल प्रवेशका लागि अब साविक विजेता मकवानपुर ११ संग खेल्नेछ । संकटाका व्यवस्थापक राजेश तुलाधरले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘खेलाडीहरु आफैं मनमुटाव गर्न लागे । विदेशी खेलाडीहरुले पनि राम्रो खेल्न सकेनन्’, तुलाधरले भने, खेल राम्रो हुँदाहुँदै पनि गोल नहुँदा खेलबाट बाहिरियौें ।’

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिम फाइनल जित्न आएको प्रतिक्रिया दिँदै पाएका अवसरको सदुपयोग गर्न नसकेको बताए । ‘हामीसंग लिग जित्दाको टिम छैन । हाम्रा धेरै खेलाडी राष्ट्रिय टिमको अभ्यासमा छन्’, कटुवालले भने, ‘अर्को खेलमा केही खेलाडी थपिन सक्छन् । फाइनल जित्ने लक्ष्य छ, जितिन्छ ।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार बागमती युवा क्लव सर्लाहीले अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनसंग खेल्नेछ ।

चैत्र ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहति १० लाख र दोस्रो हुने टोलले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् ।