पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँकेचिकित्सक भन्छन्- समुदायमा फैलिसक्यो संक्रमण

Avatar
admin

२०७८ बैशाख ४ गते, शनिबार १४:१९ मा प्रकाशित

कल्पना पौडेल
कल्पना पौडेल

नेपालगन्ज – बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ।

आगामी एक सातामा संक्रमण नियन्त्रणमा नआउने हो भने बाँके जिल्लाभरका स्वास्थ्य संस्था कोरोना संक्रमितले भरिने र उपलब्ध स्रोत साधानले समेत नधान्ने बताइएको छ।

संक्रमण नियन्त्रणका लागि आम नागरिकले स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र परीक्षणलाई तीव्र पारिनुपर्ने, सीमाबाट आउने नागरिकको उचित व्यवस्थापन र परीक्षण गरिनुपर्ने बताइएको छ।

शुक्रबारमात्र बाँकेका तीनवटा ल्यावमा २७१ जनाको पीसीआर परीक्षण गर्दा १९९ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ। बाँकेमा देखिएको यो अहिलेसम्मकै उच्च संक्रमण संख्या हो।बाँके परीक्षण गरिएको पिसिआर नमुनामध्ये ७० प्रतिशतसम्म पोजिटिव रेट देखिँदा संक्रमणको व्यवस्थापनलाई लिएर पनि प्रश्न उठेको छ।

कोरोना संक्रमणको संख्या बढेसँगै संक्रमितले भेरी अस्पतालका बेड पनि भरिन थालेका छन्। अस्पतालमा कोभिडका लक्षण भएका ९० जना बिरामी उपचाररत छन्।

भेरी अस्पतालमा पिसिआर नमुनाको लोड पनि बढेको बताइएको छ।  बिहीबार संकलन गरिएको १८३ मध्ये १२७ जनामा पोजिटिव देखिएको छ। शुक्रबार पनि २०० भन्दा बढी नमुना संकलन भएको बताइएको छ। विगत एक वर्षमा यो संख्या हालसम्मकै उच्च भएको अस्पतालले जनाएको छ।

अस्पतालले आफ्नो स्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ। तर, यही क्रममा संक्रमण फैलिने र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुस्किल पनि चेतावनी दिएको छ। संक्रमणलाई थप फैलिन नदिन नेपाल सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न पनि अस्पतालले सबैलाई आग्रह गरेको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा प्रकाश थापाले ९० जनामध्ये ७ जना भेन्टिेटरमा र ४० जना आइसियुमा उपचाररत भएको जानकारी दिए। १२ वर्ष, १५ र १६ वर्षका बालबालिकासमेत सक्रमित रहेको बताइएको छ।

कुनै न कुनै हिसाबमा संक्रमण समुदायमा फैलिएको आंशका मेसु थापाले गरे। ‘अघिल्लो वर्ष पनि यही समयमा बाँकेमा उच्च संक्रमण देखिएको थियो, उनले भने, ‘यसले समुदायमा संक्रमण फैलिएको देखिन्छ। पहिलेको केस पनि पनि समुदाय रहेको उनको भनाइ छ। ‘यो पहिलेको भाइरस हो वा नयाँ भेरियन्ट वा म्यूटेट के हो भन्ने यकिन भएको छैन,’ उनले भने।

बाँकेमा कोरोनाकै कुन भाइरस हो भनेर भेरियन्ट वा म्यूटेट भाइरस जाँच्ने प्रविधि नभएको बताउँदै उनले अघिल्लो वर्षको तुलनामा भाइरस तिव्र फैलिएको बताए।अहिले सबै उमेर समुहका व्यक्तिमा संक्रमण फैलिएको उनले बताए। अहिले देशभर नै विद्यालयका विद्यार्थी, शिक्षण अस्पतालका स्वास्थयकर्मी पुनः संक्रमित भएका छन्।

भेरी अस्पतालका ६ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ। शल्यक्रिया कक्ष, वार्ड र प्रशासनमा कार्यरत उनीहरु सबैले कोभिसिल्ड खोप लगाएका थिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मीको पनि पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको छ।

आज संक्रमण पुष्टि भएकामध्ये भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसमेत रहेका छन्, जसले कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज र दुई डोज लगाएका थिए। तर, संक्रमित स्वास्थकर्मीको स्वास्थ्यमा जटिलता भने नदेखिएको बताइएको छ। यसपटक पनि संक्रमितमा श्वासप्रश्वासमा समस्या, ज्वरो आउने, जिउ दुख्ने जस्ता पहिलेकै जस्तो लक्षण देखिएको छ।

तत्काल विद्यालय बन्द गरिनुपर्छ
संक्रमणको तिव्र फैलावटलाई मध्यनजर गर्दै तत्काल विद्यालय बन्द गर्न चिकित्सकले आग्रह गरेका छन्। संक्रमण विद्यालय उमेर समूहका विद्यार्थीलाई देखिएकाले विद्यालय बन्द गर्नुपर्ने मेसु थापाले बताए। उनले भीडभाड रोक्न सभासेमिनार, बजारको भीडभाड बन्द गर्नुपर्ने समेत बताए।

नेपालगन्जका विद्यालयहरुले परीक्षा भइरहेको भन्दै विद्यालय बन्द गर्न आनाकानी गरिरहेका छन्। संक्रमणको अवस्था मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले उपमहानगरभित्रका विद्यालय शुक्रबारदेखि र आइतबारदेखि जिल्लाभरका विद्यालय बन्द गर्न डिसिसिएमी बाँकेलाई सिफारिस गरिसकेको छ।

बिहीबार बेलुका बसेको डिसिसिएमसी बाँकेको बैठकले आइतबारदेखि जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।समुदायमै तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यतिबेला विद्यालयहरुमा देखिएको छ। बिहीबार मात्र नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार स्थानीय धम्बोझी माध्यमिक विद्यालय, मंगलप्रसाद माध्यमिक विद्यालय, सेन्टथोमस बोर्डिङ स्कुल, वाटरपार्क, महेन्द्र र आर्दश माध्यमिक विद्यालय र सनविम माविका शिक्षक तथा विद्यार्थीलाई कोरोना संक्रमण भएको हो।कोरोना संक्रमण फैलिरहँदा पनि नेपालगन्जका विद्यालय नियमित रुपमा संचालन भइरहेका छन्।

लकडाउनमा जानुको विकल्प छैन
संक्रमण समदायका फैलिएको भन्दै तत्काल लकडाउनमा जानुपर्ने अवस्था आइसकेको मेसु थापा बताउँछन्।अघिल्लो वर्ष समयमा लकडाउन भएकाले संक्रमण नियन्त्रण गर्न सहज भएकाले भन्दै उनले यसपटक पनि ढिला गर्न नहुने बताए। लकडाउन गर्न ढिला भए संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले भने, ‘कुनै पनि बेला लकडाउनमा जानुको विकल्प छैन। जुन खालको भारतमा संक्रमणको तथ्यांक देखिएको छ, त्यसको आधारमा हामीकहाँ सक्दो चाँडो लकडाउन गर्नुपर्ने देखिएको छ।’अघिल्लो पटकको लकडाउन प्रभावकारी भएको भन्दै अहिले मानिस कोरोनाको डर नभएको तर, संक्रमण तीव्र फैलिएको थापाको अनुभव छ।

अत्यावश्यक बाहेक सेवा बन्द गर्दै भेरी अस्पताल
भेरी अस्पतालले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फिवर क्लिनिक सञ्चालन गर्ने,  रुटिन अप्रेशन बन्द गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्नेबारे सोच बनाइसकेको तर, निर्णय हुन बाँकी रहेको बताइएको छ।

ननकोभिड सेवा बन्द गर्दा थप समस्या हुने भएकाले समस्या पर्ने अस्पतालको भनाइ छ। पछिल्लो पटक कोभिड युनिट बन्द गरेको कोहलपुर मेडिकल कलेजले पनि पुनः कोभिड उचार सेवा शुरु गर्न लागेको छ।

अस्पतालले तत्कालका लागि पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भए पनि संक्रमण बढ्दै जाँदा अभाव हुने भन्दै व्यवस्थापन गर्न शुरु गरेको छ।

रुपैडिया नाकाबाट दैनिक भित्रन्छन् २ हजार व्यक्ति
पछिल्लो समय नेपालगन्ज स्थित नेपाल–भारत जमुनाह नाकाबाट नेपाल भित्रने नेपालीको भीड अत्याधिक बढेको छ। हरेक दिन दुई हजार बढी व्यक्ति आउन थालेका छन्।  सरकारले हरेक नाकामा हेल्थ डेक्स राखेपनि भारतबाट भित्रने सबैको जाँच भने हुन सकेको छैन।

भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाले पुनः लकडाउन हुन थालेपछि कामको खोजीमा भारत पुगेका नेपाली स्वदेश फर्कन थालेका हुन्। तर, नाकाबाट नेपालीहरु निस्फिक्री आइरहेका छन्। उनीहरुको बारे सोधखोज, स्वास्थ्य जाँच भने सबैको भएको छैन। यसरी भारतबाट आउनेहरुले स्वास्थ्यका मापदण्ड पालना गरेको पनि देखिँदैन।

स्वास्थ्य मन्त्रालयले नाकामा स्वास्थ्य जाँच लगायतका व्यवस्थापन गरेको भने पनि यथार्थ भने फरक छ। नाकाबाट भित्रिने नागरिकको व्यवस्थापन सरकारले गरेको देखिँदैन। केन्द्रमा गरेका कुराहरु भाषणमा मात्र समिति देखिन्छ।

नाकाबाट भित्रने धेरै व्यक्तिले मास्क लगाएको देखिँदैन। भीडभाडका बिच नाकाबाट भित्रने धेरैको स्वास्थ्य मन्त्रालयले भनेको जस्तो व्यवस्थापन पनि गर्न सकेको छैन।

नेपालगन्जमा स्थापित हेल्थ डेस्कमा दुई सिफ्टमा गरेर ४ जना स्वास्थ्यकर्मी खटाइएको बताइएको छ। जसमा एक जना करारमा छन्। सिनियर अनमी गीता गिरी शाहीले सरकारले नाकाको हेल्थ डेक्सको क्षमता थप बढाउनु पर्ने र व्यवस्थित गराउनुपर्ने बताइन्। ‘यही व्यवस्थाले मात्र त कोरोना नियन्त्रण गर्न समस्या छ,’ उनले भनिन्।

भारतबाट आएर घर पुगेका व्यक्तिहरूले पनि स्वास्थ्यका मापदण्डअनुसार व्यवहार गर्न जरुरी रहेको उनले बताइन्। सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापित गरेर परीक्षण गरेर मात्रै घर पठाउने, १० वटाका दरले मास्क वितरण गर्ने भने पनि नेपालगन्ज नाकामा उक्त दृश्य देखिएन।