चैत ५ भित्र स्थानीय चुनाव गर्न आयोगको सिफारिस, सरकारसँग माग्यो ३० करोड

Avatar
admin

२०७८ कार्तिक ८ गते, सोमबार १७:१४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार निर्वाचन आयोग पुगेका छन् । स्थानीय तहको चुनावको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा निर्वाचन आयोग पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तहरुबीच भएको छलफलमा आयोगले चैत ५ गतेभित्र स्थानीय निर्वाचन गर्न सिफारिस गरेको छ ।

आयोगले स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनु भन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोही अनुसार सिफारिस गरेको आयोगले जानकारी दिएको छ । यसबारे प्रधानमन्त्रीले उपर्युक्त निर्णय दिने बताएका छन् ।

प्रतिनिधिसभाको ४, प्रदेशसभाको १८ र केही स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बिषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसा भट्टराईले जनाएका छन् । यस्त अगामी फागुन २१ ग्तेबाट रिक्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको बारेमा समेत छलफल भएको छ ।

‘स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था, प्रतिनिधि सभाका रिक्त ४ सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ’ भट्टराईले भने ।

आयोगको पदाधिकारीसंगको छलफल पश्चात प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसंग छलफल गरेर अगाडी बढने बताएका छन् ।

यस्तै आयोगका पदाधिकारीहरुले निर्वाचन सम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका सम्बन्धमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारसँग आयोगले माग्यो ३० करोड
निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठ लगत्तै सुरु गर्ने योजना बनाएको छ ।