विश्वमा नेपाली कला पुर्याउन हस्तकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री देउवा

Avatar
admin

२०७८ मंसिर ४ गते, शनिबार १६:५० मा प्रकाशित

नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई आज राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सिर्जनामासमेत यो उद्योगले सहयोग रहेको बताउनुभयो ।

‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वमा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री बिक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताउनुभयो ।

‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवद्र्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक रु छ खर्बको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ’, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवद्र्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिनुभयो । हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

‘हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ’,अध्यक्ष शाक्यले भन्नुभयो ।

हाल आन्तरिक बजारमा वार्षिक दुई अर्बको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले आठ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ । महासङ्घले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासङ्घले जनाएको छ ।

व्यापार मेला संयोजक रविन्द्र शाक्यले २०२९मा स्थापना भएको महासङ्घमा हाल चार हजार २५५ सदस्य रहेको जानकारी दिनुभयो ।

महासङ्घको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औँ कला नगरी घोषणा गर्न सफल भएको उहाँले सुनाउनुभयो । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने मेला एक लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा रु पाँच करोडका हस्तकलाका सामग्री बिक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ ।

कोरोना महामारी सुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ ।

मेलाका लागि सरकारी निकाय निर्यात प्रवद्र्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताउनुभयो ।

मेलामा हस्तकलाका ४२ विधाका १२० कक्ष राखिएको छ । कार्यक्रममा महासङ्घले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभएको थियो ।

हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उहाँले आजै शुभारम्भ गर्नुभएको छ । पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको जनाइएको छ ।