सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई राष्ट्रपतिको बधाई

Avatar
admin

२०७८ पुष १४ गते, बुधबार १८:५७ मा प्रकाशित

काठमाडौं  पुस १४– राष्ट्रपति विद्यादेवी भण्डारीले एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई बधाई दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले बुधबार सामाजिक संजाल ट्वीटरबाट उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् ।

‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रोपटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई ! साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रपतिले ट्वीट गरेकी छिन् ।

यसअघि महिला टोलीलाई प्रधानमन्त्री शेर बहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायत विभिन्न राजनीतिक व्यक्तित्वले नेपाली टोलीलाई बधाई दिइसकेका छन् ।

नेपालले मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो । यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो । यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो

पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो ।