ब्राजिल : बोल्सोनारोले चुनावी नतिजाहरूलाई चुनौती दिए, राजनीतिक अशान्ति बढ्ने संकेत

Avatar
admin

२०७९ मंसिर ७ गते, बुधबार १२:४६ मा प्रकाशित

काठमाडौं,  मंसिर ७, २०७९

ब्राजिलमा आम निर्वाचन सम्पन्न भएको केही सातापछि फेरि एकपटक राजनीतिक अनिश्चितताको अवधि सुरु हुँदै गरेको देखिएको छ । ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालैको चुनावी नतिजालाई चुनौती दिएका छन् । उनले तीन लाख भोटिङ मेसिनमा हालिएका मतलाई अवैध ठहर गर्नुपर्ने बताएका छन् ।


तर, उनले निर्वाचनमा धाँधली भएको कुनै प्रमाण भने पेश गरेका छैनन् । यस चुनावमा उनका प्रतिद्वन्द्वी तथा ब्राजिलका पूर्व राष्ट्रपति लुला दा सिल्भा विजयी भएका छन् ।



लुला दा सिल्भाले ५०.९ प्रतिशत मत प्राप्त गरे । लुलाको यो जित स्तब्ध थियो किनभने अन्तिम क्षणसम्म यी दुईबीच घनिष्ट टक्कर थियो । यस चुनावमा बोल्सोनारोले ४९.१ प्रतिशत मत पाएका छन् ।



चुनावी नतिजा आएपछि, ब्राजिलका विभिन्न प्रान्त र प्रमुख सडक मार्गमा बोलसोनारो समर्थकको तर्फबाट चक्का जामका साथै हिंसा र आगजनीको खबर र तस्बिर सार्वजनिक भएका थिए ।

नतिजा आएपछि बोल्सोनारोले सार्वजनिक रूपमा आफ्नो हार स्वीकार गरेका थिएनन् ।

यद्यपी, उनका चीफ अफ स्टाफले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका थिए ।

त्यसपछि ब्राजिलको सर्वोच्च अदालतले बयान जारी गरेर सत्ता हस्तान्तरणको आफ्नो मञ्जुरी दिएर बोलसोनारोले चुनावको नतीजा स्वीकार गरेको भनेको थियो ।

तर यसको लगभग तीन हप्तापछि बोलसोनारोले यी नतीजालाई आधिकारिक रुपमा चुनौती दिएका छन् ।

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुला दा सिल्भाले सत्तारुढ दलले चुनावी नतिजालाई चुनौती दिएर लोकतन्त्रको अपमान गरिरहेको बताएका छन् ।