गोदावरीको प्राचीन शिव मन्दिर (फोटो फिचर)

Avatar
admin

२०७९ मंसिर १७ गते, शनिबार ११:४७ मा प्रकाशित

कैलाली, मङ्सिर १७ गते । कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा अवस्थित प्राचीन गोदावरी शिव मन्दिर दर्शनार्थीहरुका लागि मुख्य स्थल बनेको छ। यो प्राचीन शिव मन्दिर कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको बाँया तर्फ गोदावरी नदीको किनारको उच्च भागमा रहेको छ।

गोदावरी नदीको किनारमा रहेकोले यस मन्दिरको नाम पनि गोदावरी शिव मन्दिर रहन गएको हो। यस मन्दिरको गर्भ गृहमा कालो शिलाको निकै नै आकर्षक १० इन्च अग्लो शीवलिंग रहेको छ। शिवलिंग वरिपरि, हनुमानको मूर्ति, गणेशको मूर्ति, कार्तिकेयका मूर्तिहरू रहेका छन्। यस शिवको मन्दिरमा नेपाली हिन्दुहरूको माघे सङ्क्रान्ति पर्वमा भक्तजनहरूको निकै नै घुइँचो हुनुको साथै मेला पनि लाग्ने गर्दछ। यस शिवजीको उत्पत्ति सन्दर्भमा किम्बदन्ती यो छ कि एक माझीले माछा मार्न भनी गोदावरी नदीमा जति पटक जाल हाले पनि यही शिवलिंग जालमा पर्ने भएकोले यी शिवलिंगको केही महत्त्व छ भनी यही स्थानमा स्थापना गरिएको हो।

यस शिवको मन्दिर रहेको स्थलमा अन्य विभिन्न मन्दिरहरू, मठहरू रहेकोले यसलाई तीर्थस्थल पनि भनिन्छ। स्थानीयवासी यही तीर्थस्थलमा विभिन्न किसिमका धार्मिक पूजा बाहेक, व्रतबन्ध, विवाहका साथ अन्य पूजा पाठ गर्नुको साथै यो स्थल प्राकृतिक सम्पदाले भरिपूर्ण भएकोले स्थानीयवासी मनोरन्जनकालागि वनभोज समेत खेल्न आउने गर्दछन्।