बालबालिकालाई चिसोमा के कस्ता रोगले सताउँछ? अभिभावकले के कुरामा ध्यान दिने? (भिडियो)

Avatar
admin

२०७९ पुष १६ गते, शनिबार ११:५७ मा प्रकाशित

 रुघाखोकी लाग्दा अभिभावकले आफूखुसी औषधि किनेर दिनु हुँदैन
कमला गुरुङशनिबार, पुस १६, २०७९

जसमध्ये रुघाखोकीजन्य समस्याले बालबालिकालाई बढी बिरामी पार्ने गरेको कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा रामहरि चापागाईंले बताए। छिटो सर्ने र सामान्य हेलचक्र्याईले पनि जटिलता निम्त्याउने भएकाले रुघाखोकीबाट बालबालिकालाई बचाउन जरुरी छ।

यही विषयमा रहेर हामीले डा चापागाईंसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

चिसो मौसम बालबालिकाको लागि कत्तिको जोखिमपूर्ण मानिन्छ?
– समग्रमा बालबालिकाका लागि चिसो र गर्मी दुवै मौसम जोखिमपूर्ण भन्ने हुँदैन।
– मौसमको हिसाबले हेर्दा चिसोभन्दा गर्मीमा बालबालिकाहरु उपचारका लागि बढी आउँछन्।
– तर कुनै रोग हुन्छन्, जसले जाडो मौसममा मात्र बालबालिकालाई सताउँछ।

बालबालिकालाई चिसोमा सबैभन्दा बढी सताउने रोगहरु के के हुन्?
– रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखालाले जाडोमा बालबालिकालाई बढी सताउँछ।
– झाडापखाला गर्मीमा धेरै हुन्छ, तर जाडोमा एउटा विशेष प्रकृतिको झाडापखाला हुन्छ।
– यी तीन वटामा पनि रुघाखोकीजन्य समस्या प्रमुख रुपमा देखिन्छन्।

रुघाखोकीजन्य समस्याले चिसोमै बालबालिकालाई किन बिरामी पार्छ?
– रुघाखोकी गराउने किटाणु चिसोमा बढी सक्रिय हुन्छ।
– यो किटाणु जाडोमा लामो समयसम्म पनि बाँच्न सक्छ।
– चिसोमा बालबालिकाहरु एकै ठाउँमा बस्ने, खेल्ने हुँदा रोग सर्ने संभावना बढी हुन्छ।
– चिसोमा घरभित्र हुने प्रदूषण पनि बढी हुने भएकाले रोग फैलन सहयोग पुग्छ।
– चिसोमा सरसफाईमा कमी हुने भएकाले पनि रुघाखोकीजन्य समस्या बढी देखिन्छ।

कस्ता बालबालिकाहरु रुघाखोकीजन्य समस्याको बढी जोखिममा पर्छन्?
– रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका बढी जोखिममा पर्छन्।
– कुपोषण भएका, पूर्ण खोप नलगाएका, सरसफाईमा कमी भएका बालबालिका पर्छन्।
– एकै ठाउँमा धेरै मानिस बस्ने ठाउँका बालबालिकालाई पनि यो समस्याले सताउँछ।

रुघाखोकीजन्य समस्याले सताउँदा देखिने मुख्य लक्षणहरु के के हुन्?
– अभिभावकले मुख्य रुपमा ध्यान दिनुपर्ने कुरा नै यही हुन्।
– रुघाखोकी बिग्रियो भने निमोनिया हुन्छ।
– सामान्य खोकी र सिगान आउँदैमा अभिभावकहरु आतिहाल्नु पर्दैैन।
– रुघाखोकीसँगै सास फेर्न गाह्रो भए, सास फेर्दा कोखा हानेमा, ज्वरो आएमा, राम्ररी खान नसके, बच्चा सुस्त भए आत्तिनुपर्छ।

समयमै उपचार नगरे रुघाखोकीजन्य समस्याले निम्ताउने जटिलताहरु के के हुन्?
– रुघाखोकीलाई समयमै उपचार नगरे फोक्सोको संक्रमण अर्थात् निमोनिया गराउँछ।
– निमोनिया बिग्रियो भने शरीरको अन्य अंगहरुमा असर गर्छ।
– समयमै उपचार नपाए बच्चाको मृत्यु समेत हुन सक्छ।

कान्ति बाल अस्पतालमा अहिले रुघाखोकीजन्य समस्या लिएर कति बिरामीहरु आउने गरेका छन्?
– कान्ति बाल अस्पतालमा गर्मीमा भन्दा जाडोमा कम बिरामी आउँछन्।
– तर जाडोमा आउने बिरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी रुघाखोकीजन्य समस्याका हुन्छन्।
– रुघाखोकीजन्य समस्याका बिरामी धेरै आउने भएपछि भर्ना हुने बिरामी पनि यसैका हुन्छन्।

अभिभावकले बालबालिकालाई चिसोबाट कसरी बचाउन सक्छन्?
– चिसोमा पोषणयुक्त खानेकुरा दिनुपर्छ।
– तातो बनाउने कपडा लगाई दिनुपर्छ। लामो, हावा नछिर्ने कपडा लगाई दिनुपर्छ।
– बच्चा भएको घरमा सबै एकै ठाउँमा गुम्सिएर आगो ताप्ने, हिटर बाल्ने गर्नु हुँदैन।
– सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै खोपको मात्रा पुरा गर्नुपर्छ।
– रुघाखोकी लाग्दा अभिभावकले आफूखुसी औषधि किनेर दिनु हुँदैन।
– कुनै रुघाखोकी औषधि नै नचाहिने खालका पनि हुन्छन्।
– आफुखुसी औषधि खुवाउँदा शरीरमा नकारात्मक असर पर्न सक्छ।