किरात राजाबारे बहस

Avatar
admin

२०७९ माघ २८ गते, शनिबार ११:१६ मा प्रकाशित

यसरी गोपाल राजवंशाली र भाषा वंशावलीको वर्णन साथै अन्य लेखक तथा ग्रन्थकारले प्रकाशनमा ल्याएका पुस्तकको वर्णन अध्ययन हेर्दा नेपालमा राज्य गर्ने राजवंशमध्ये सबैभन्दा लामो अवधि राज्य गर्ने राजवंश किरात थिए भन्ने देखिन्छ। जसअनुसार यो जातिले ३२ पुस्तासम्म करिब १९६३ वर्ष राज्य गरेका थिए। यिनै वंशका ३२ पुस्ताका राजामध्ये पहिलो राजा यलम्बर थिए। यसैलाई आधार मानेर प्रायःजसो सबै किरात तथा गैरकिरातले पनि किरातका पहिलो राजा यलम्बर नै मान्दै आएको देखिन्छ। किरात (विशेषगरी राई)हरूले आफूहरूको संवत् यले संवत् भन्ने गरेका छन्। उनीहरूको मतअनुसार यो संवत् तिनै किरातका राजा यलम्बरले स्थापित गरेका हुनाले येले संवत् भनिएको हो भन्ने गरेको पाइन्छ। तथापि यस येले संवत्का बारेमा केही बिमति र बेमेलका वर्णन पनि देखिएको पाइन्छ। तथापि यसबारेमा आगामी दिनमा अध्ययन अनुसन्धानबाट निक्र्योल निक्लने नै छ।

यसरी किरातका प्रथम राजा यलम्बर हुन् भन्दै र मान्दै आइएको भए पनि प्राचीन इतिहासको वर्णन अध्ययन गर्दा किरात वंशका पहिलो राजा ‘यलम्बर’ नभएर ‘शम्बर’ हो भन्ने देखिन्छ। यसबारेमा प्राचीन इतिहासका ग्रन्थ चारै वेद सत्य युगमा सर्वप्रथम महादेवले ब्रह्मालाई सुनाएका थिए। त्यसपछि ब्रह्माले चार ब्रह्मापुत्रलाई वेदको वर्णन सुनाएका थिए र स्मृतिका रूपमा रखिए। धेरै पछि मात्र यसलाई लिखित रूपमा तयार गरिएको हो भनिन्छ।

वेदका बारेमा आजसम्म कुनै वैज्ञानिकले समेत प्रश्न उठाउन सकेका छैनन् भनिन्छ। ती ऋग्वेदलगायत चारै वेदको वर्णनमा ‘शम्बर’ राजाको चर्चा गरिएको पाइन्छ। जुन वर्णनअनुसार शम्बर र देवराज इन्द्रबीच ४० वर्ष युद्ध भएको उल्लेख पाइन्छ। शम्बरलाई वेदमा किरात भनेर उल्लेख गरिएको छैन तर उनी किरातै हुन् भन्ने विज्ञको मत रहेका छन्। यसबारेमा ग्रन्थकार डा. स्वामी प्रपन्नाचार्यले यी शम्बरलाई “किरात’ भनेर प्रस्ट उल्लेख गरेको पाइएन भन्दैमा यिनी किरात होइन भन्न मिल्दैन” भन्ने गहकिलो मत जाहेर गरेको पाइन्छ।

यसैगरी वेदको वर्णनमा शम्बरसँग सोमरस अर्थात् मादक पदार्थको पनि सम्बन्ध रहेको पाइन्छ। यस वर्णनले पनि शम्बर किरात राजा नै थिए भन्ने आधार देखिन्छ। यता मदनमणि दीक्षितले त शम्बरलाई प्रस्ट रूपमा किरात राजा भनेर उल्लेख गरेका छन्। उनले “…देवसेनाका अधिपति ती इन्द्र दिवोदासले उत्तर पर्वतको किरातराज शम्बरसित पचासौँ ठाउँमा पचासौँ पटक युद्धमा विजय प्राप्त गरी परुष्णिबाट निकै पर्वततिर लखेटेको… चुमुरीले प्रद्युम्नमार्फत पठाएको समाचारले किरात राजा शम्बरलाई जुर्मुरायो” भन्ने वर्णन गरेका छन्। यसरी वेदको विभिन्न वर्णनले त्यस कालमा शम्बर किरात राजा थिए भन्ने प्रमाण देखाउँछ। इतिहासको वर्णनमा सत्य युगका भोगकर्ता शिव/महादेव र किरात समकालीन पनि देखिन्छ। त्यस आधारबाट किरात राजा शम्बर सत्य युगका थिए भन्न सकिन्छ।

यसैगरी वेदको वर्णनमा किरात राजाहरू द्रुह्यु सत्ययुगीन प्रसिद्ध राजा थिए। सुरघु कैलाश पर्वतका राजा, सुबाहु गढवालका राजा, नीलाम्बुद अनुपद्वीपका राजा र भीमसेनका मित्र, भगदत्त प्रागज्योतिषपुर र लाउड पर्वतका राजा साथै देवराज इन्द्रको परम मित्र, सुमना मध्यदेशका राजा, शुक्राधिपति युधिष्ठिरलाई सयकडौँ हात्ती र करोडौँ रत्न दिने प्रसिद्ध र धनवान् राजा थिए भन्नेजस्ता वर्णन देख्न सकिन्छ। यस्तै अन्य किरात राजा पुणिन्द, कुणिन्द, विशङ्कु, अपगा, चालिमद्र, घटासुर, शङ्कु, शुकर, सुशर्मा र श्रीक्रमलील अन्तिम राजा थिए भन्ने वर्णन पाइन्छ तर यी राजाले कुन युगमा कति समय राज्य गरेका थिए भन्ने प्रस्ट देखिँदैन। यसर्थ यी किरात राजाले भोग गरेको समयका बारेमा गहिरो अध्ययनको आवश्यकता देखिन्छ।

यसरी प्राचीन किरात राज्य र बसोबास क्षेत्रसमेत एकै स्थान मात्र नभएर विभिन्न भूभागमा फैलिएका थिए अर्थात् नेपाली भूमिमा मात्र सीमित थिएन भन्ने वर्णनबाट बुझ्न सकिन्छ। प्राचीन किरात क्षेत्रबारे प्रमाण खोज्दा डा. स्वामी प्रपन्नाचार्यले उल्लेख गरेको वर्णन हेर्दा, “किरात तप्तकुण्ड काश्मीर (श्रीनगरदेखि पश्चिम दक्षिण अर्थात् अहिलेको पाकिस्तान)देखि कामरूप क्षेत्र (आसम), पर्शुरामकुण्ड (हालको अरुणाञ्चल प्रदेश), त्रिपुराको उदयपुर, अमरपुर र उनकोटी, मणिपुर, बर्माको माण्डले र इरावती नदीको घाँटीसम्म थिए” भनिएको छ। यसैगरी ग्रन्थकारले यी भूमि, “नेपाल, भारत, चीन, तिब्बत, मङ्गोलिया, बर्मा, थाइल्यान्ड, उत्तर कोरिया, दक्षिण कोरिया आदि राष्ट्रसम्म फैलिएका थिए” भन्ने उल्लेख गर्दै, “आर्यावर्त, जम्बुद्वीप, हिमवत्खण्ड, इन्दद्वीप, इन्द्रकील, अनुपद्वीप, बर्मा, कम्बोडिया, कच्चीन, मणिपुर, कैलाश, काश्मीर, राजस्थान आदि क्षेत्रमा किरात लाखौँ वर्षपूर्वदेखि नै बसोबास गरेका” भनी उल्लेख गरेको पाइन्छ।

यता भाषावंशावलीको वर्णनमा, त्रेता युग समाप्त हुन ११ हजार वर्ष बाँकी रहँदा ‘…यहाँपछि म्लेच्छ किरातीहरू आई दस हजार वर्षसम्म राज्य गरिरहँदा त्यस समय कामधेनु आई दूध चढायाको…’ भनिएको छ। यो वर्णनबाट त्रेता युग समाप्त हुन एक हजार वर्ष बाँकी रहँदासम्म किरातले यहाँ     (काठमाडौँ उपत्यकामा) १० हजार वर्षसम्म राज्य गरेका थिए भन्ने बुझिन्छ। जुन समय आजभन्दा करिब आठ लाख ७० हजार १२३ वर्षपहिलेको मान्नुपर्ने हुन्छ। यसरी हेर्दा त्रेता युगको किरात राज्य दोस्रो पटकका थिए भन्न सकिन्छ। तथापि यस कालमा कति र कुन कुन किरात राजाले राज्य गरेका थिए भन्ने वर्णनबाट प्रस्ट देखिँदैन। यसर्थ यो पनि अध्ययन अनुसन्धानकै विषय रहेको देखिन्छ। वंशावली साथै अन्य ग्रन्थकारले उल्लेख गरेका वर्णन हेर्दा द्वापर युग समाप्त हुन करिब ४४७ वर्षदेखि कलिको लगभग १५१६ सम्म किरात वंशले पुनः यहाँ राज्य गरेका थिए भन्ने देखिन्छ। यस काललाई किरातको तेस्रो कार्यकाल मान्नुपर्ने हुन्छ। त्यसै कालका पहिलो राजा यलम्बर थिए र उनीसमेत ३२ पुस्तासम्म किरात राजाले यहाँ राज्य गरेका थिए भन्ने देखिन्छ। यसका बारे लेखक तथा ग्रन्थकारको वर्णन प्रस्ट देख्न पाइन्छ।

यस प्रकार इतिहास तथा ग्रन्थकारले उल्लेख गरेका वर्णनलाई आधार मानेर हेर्दा किरातले राज्य सुरु गरेको समय हिसाब गर्दा सत्य युगमा राजा शम्बरले आजभन्दा करिब २१ लाख ६५ हजार वर्षभन्दापहिले, त्रेता युगमा आजभन्दा आठ लाख ८० हजार वर्षभन्दापहिले र पछिल्लो कालमा यलम्बरले आजभन्दा करिब पाँच हजार १२३ वर्षपहिले राज्य सुरु गरेको देखिन्छ। सत्य युगमा कति वर्ष राज्य गरे यकिन नभए पनि त्रेता युगमा १० हजार वर्ष र पछिल्लो पटक ३२ पुस्ताका राजाले १९६३ वर्ष आठ महिना राज्य गरेको देखिन्छ र शम्बरको राज्य अवधिबाहेकका राजाहरूको राज्य भोग अवधि मात्र हेर्दा ११ हजार ९६३ वर्ष आठ महिनाको समयावधि देखिन्छ।

अतः समग्रमा हेर्दा किरात राजाहरूले विभिन्न स्थान र समयमा पटक–पटक राज्य भोग गरेको देखिँदा पहिलो पटक सत्य युगमा शम्बरलगायत राजाहरूले, त्रेया युगमा दोस्रो पटक विभिन्न राजाहरूले र पछिल्लो अर्थात् तेस्रो पटक द्वापर युगको उत्तराद्र्धदेखि कलिको पूर्वाद्र्धसम्म यलम्बरलगायत ३२ पुस्ताले राज्य भोग गरेका थिए भन्ने प्रमाणले बताउँछ। यसर्थ किरात इतिहासको पहिलो किरात राजा शम्बर नै हुन्, यलम्बर होइन भन्ने प्रस्ट हुन्छ। यसकारण यलम्बर तेस्रो किरात कालका मात्र पहिलो किरात राजा भएकाले किरात इतिहासकै पहिलो राजा भन्न र मान्न मिल्दैन।