लकडाउनमा वीरगञ्ज आइसिपीबाट भित्रिए २३ हजार मालवाहक गाडी

Avatar
admin

२०७७ असार ३ गते, बुधबार १२:०२ मा प्रकाशित

३ असार पर्सा : दुवै देशमा लकडाउन भएको समयमा खाद्यान्नलगायतका सामग्री लिएर भारतबाट २२ हजार ९९३ वटा मालवाहक गाडी नेपाल भित्रिएको छ। उक्त मालवाहक गाडी वीरगञ्जस्थित नेपाल भारत संयुक्त भन्सार चौकी (आइसिपी)बाट मात्र भित्रिएका हुन्।  चालु आर्थिक वर्षको ११ महिनामा भने वीरगञ्जमा रहेको मुलुककै पहिलो आइसीपीबाट एक लाख ३८ हजार ५७ वटा मालवाहक सवारी नेपाल भित्रिएको इन्टरमोडल यातायात विकास समिति आइसिपीको तथ्यांकमा उल्लेख छ। यो अवधिमा नेपालबाट भने १५ हजार ७५५ वटा मात्र मालवाहक गाडी आइसिपी भएर बाहिरिएको छ।  व्यापार घाटाको सिद्धान्तअनुसार समीक्षा गर्दा यो निक्कै डरलाग्दो अवस्था रहेको इन्टरमोडल यातायात विकास समिति आइसिपीका प्रमुख कमल ज्ञवालीले बताउँछन्। यताबाट माल वस्तु लिएर गएकाभन्दा उताबाट मालवस्तु भरिएका मालवाहक सवारी एक लाख २२ हजार ३०२ वटा बढी आएको तथ्यांकले देखाएको छ। नराम्रो संकेत भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालबस्तु बोकेर मुलुकको एउटा नाकाबाट मात्र यत्रो अन्तरमा मालबस्तु लिएका मालवाहक गाडी भित्रिनु राम्रो संकेत होइन। त्यसमा पनि खाद्यान्नसहितका सामान बाहिरी मुलुकबाट कृषि प्रधान देशमा आयात हुने कुरा झनै नराम्रो भएको स्थानीय बुद्धिजिवीहरु बताउँछन्।  ३०–३५ वर्षअघि भने खाद्यान्नलगायतका सामग्री वीरगञ्ज नाकाबाट भारततर्फ निर्यात हुने गरेको थियो। डा. विश्वम्भर शर्मा भन्छन्, ‘तीन दशक पहिले यही वीरगञ्ज नाकाबाट धान चामललगायत खाद्य सामग्री निर्यात हुन्थ्थे। अहलिे भने उल्टो भएको छ।’ गत आर्थिक वर्षमा वीरगञ्ज आइसिपीबाट एक लाख ५८ हजार १९१ वटा मालवाहक गाडी नेपाल भित्रिएका थिए। नेपालतर्फ आइसिपी सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी वहन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिको गत वर्षको तथ्यांकअनुसार नेपालतर्फबाट भने जम्मा १५ हजार १३५ वटा मात्र भर्ती मालवाहक गाडी भारततर्फ गएको थियो।  केही सुधार आइसिपीबाट हुने भर्ती मालवाहक गाडी आवागमनकोे तथ्यांकअनुसार नेपालका लागि चालु आर्थिक वर्ष थोरै सकारात्मक देखिएको छ। यो भनेको गत आर्थिक वर्ष भर्ती मालवाहक गाडी बाहिरिएको भन्दा चालु आर्थिक वर्षको ११ महिनामा नै ६२० वटा बढी मालवाहक गाडी आइसिपी भएर बाहिरीको तथ्यांकले देखाएको छ।  गत आर्थिक वर्ष १५ हजार १३५ वटा मालवाहक गाडी मालबस्तु लिएर आइसिपीबाट बाहिरिएको तथ्यांक छ। आइसिपीबाट करिब ६५ प्रतिशत सामान  भित्रिँदै साविकको वीरगञ्ज भन्सार कार्यालयबाट भित्रिने मालवाहक गाडीमध्ये आइसिपी सञ्चालनमा आएपछि ६०÷६५ प्रतिशत आयात वीरगञ्जको सिर्सियामा रहेको आइसिपीबाट भइरहेको छ। साविकको वीरगञ्ज भन्सार नाकाबाट ३५ प्रतिशत जति मात्र ढुवानी भइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलप्रसाद साहले बताए।  आइसिपी र वीरगञ्ज भन्सार कार्यालय एउटै हो। साविकको वीरगञ्ज नाका साँघुरो भएर नेपाल सरकार र भारत सरकार दुवैले साविकका नाकाभन्दा पश्चिममा आइसिपी बनाएर त्यहीबाट मालबस्तु आयात निर्यात गरिरहेको सूचना अधिकारी साहले बताए।