लोकप्रियता बढेसँगै व्यवसायिकता कुर्दै भलिबल

Avatar
admin

२०७८ जेष्ठ ८ गते, शनिबार २०:४४ मा प्रकाशित

प्रकाश तिमल्सिना, काठमाडौं

कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै न कुनै बेला भलिबल खेलेकै हुनुपर्दछ ।

हुन त हाम्रो देशमा फुटबल र पछिल्ला दिनहरुमा क्रिकेट खेललाई लोकप्रिय मानिन्छ । तर देशव्यापी रुपमा हुने भलिबलका ठूला साना प्रतियोगितामा दर्शकको सहभागितालाई आधार मान्ने हो भने फुटबल र क्रिकेट भन्दा भलिबलको लोकप्रियता पक्कै कम छैन । खेलमा रुची आ आफ्नै हुन सक्छन् । तर यति भन्न सकिन्छ देशमा भलिबल खेल थाहा नहुने कमै मात्र होलान् ।

मास गेममा देशको सर्वाधिक ३ लोकप्रिय खेल निकाल्ने हो भने निश्चित प्राय छ त्यसमा भलिबल पर्छ नै । फुटबल देशमा पहिलेबाट लोकप्रिय थियो नै क्रिकेट पनि झन्डै दशकयता लोकप्रियताको शिखरमा चढ्दै गरेको खेल हो ।

सहज रुपमा तल्लो तहसम्म पुग्न खेल र दर्शकको व्यापक रुचीका आधारमा नै खेलको लोकप्रियतालाई मापन गर्न सहज हुन्छ । खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गर्ने सफलताले पनि त्यो खेललाई लोकप्रिय बनाउनका लागि भूमिका खेलिरहेको हुन्छ । अर्को देश भित्र हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले आयोजनाले खेललाई लोकप्रिय बनाउनका लागि मद्दत गर्नेछ ।

भलिबलका हकमा हेर्ने हो भने ती सबै संयोग मिल्दै आएको छ । पछिल्लो ५ वर्षलाई हेर्ने हो भने नेपाली भलिबलमा कायपलट भएको छ । अझ महिला भलिबलको उपलब्धिलाई फर्केर हेर्ने हो भने लोभलाग्दो नै छ । पछिल्लो ५ वर्षे भलिबलको स्वर्णिम काल थियो भन्दा फरक पर्दैन । भलिबलले एक पछि अर्को सफलताको सिढी चढ्दै गएको छ ।

पछिल्लो ५ वर्षमा भलिबलमा सफलताको सुरुवात भने पुरुष टोलीले दिलाएको थियो । २०७३ चैतमा माल्दिभ्समा आयोजना भएको तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष टोलीले कास्य पदक जितेको थियो । ४ दशक भन्दा लामो अन्तर्राष्ट्रिय भलिबल सहभागितामा नेपालले प्राप्त गरेको त्यो पहिलो पदक थियो ।

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । सन् १९८७ को सागको तेस्रो संस्करण देखि निरन्तर भाग लिदै आएको नेपालले पुरुष भलिबलमा कुनै पनि पदक जित्न सकेको थिएन । त्यसअर्थ पुरुष टोलीको त्यो सफलताको चर्चा बारम्बार हुनु स्वभाविक छ । सागमा नेपालको महिला टोलीले भने त्यति बेला सम्म तीन पटक (सन् १९९९,२००६ र २०१६) मा कास्य पदक जितिसकेको थियो ।

पुरुष टोलीले पहिलो पटक पदक जित्नुअघि बाटै नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गराउनका लागि अभियानको सुरुवात गरिसकेकेको थियो । दानबहादुर घिसिङ अध्यक्ष रहेको अघिल्लो कार्यसमितिले साधारण सभामार्फत भलिबललाई राष्ट्रिय खेल बनाउन पहल लिने निर्णय गरेको थियो । पुरुष टोलीको सफलताले त्यो अभियानलाई अझै मद्दत गर्यो ।

जसको फलस्वरुप २०७४ साल जेठ ८ गते भलिबलले देशको राष्ट्रिय खेलको मान्यता पाएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र सोही पार्टीका दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री हुँदा राष्ट्रिय खेल घोषणा भएकोले पनि भलिबल संघ परिवार उनीहरु प्रति सधै आभारी रहने गरेको देखिन्छ । त्यसैको निरन्तरताका रुपमा गत वर्ष लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा भलिबललाई राष्ट्रिय खेल उल्लेख गरिएको छ ।

भलिबल राष्ट्रिय खेल भइसकेपछि महिला भलिबल टोलीले अहिले सम्मकै ठूलो सफलता यहि बीचमा दिलाएको छ । कुनै बेला झन्डै शून्य अवस्थामा पुगेको भलिबलले छोटो समयमा यति धेरै प्रगती गर्छ भन्ने अनुमान कमैले गरेका थिए । तामाङ नेतृत्वको कार्यसमितिले भलिबललाई चलायमान बनाउनका लागि थालेको प्रयासलाई मनोरञ्जन रमण शर्मा नेतृत्वको कार्यसमितिले थप उचाईमा लाने प्रयास गरेको थियो भन्नका लागि कन्ज्युस्याई गर्न पर्दैन ।

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकै खुसियालीमा अध्यक्ष शर्माले व्यक्तिगत रुपमा १० लाख रुपैयाँको अक्षण कोष स्थापना गरे । उनले त्यसबाट हरेक वर्ष एक एक महिला र पुरुष खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेका थिए ।

सफलता यसै प्राप्त हुँदैन । खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनले खेलकुदमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राखिन्छ । पछिल्लो ५ वर्षमा भलिबल संघले आंशिक रुपमा यसलाई आत्मसात गर्ने प्रयास गरेको छ । २०७६ भदौमा भलिबल संघले पुरुषको एभिसी सेन्ट्रल जोनको सफलतापूर्वक आयोजना गर्नुले पनि नेपालले भलिबलमा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको सम्बन्धलाई आँकलन गर्न सकिन्छ । त्यहि दौरान एभिसी सेन्ट्रल जोनको कार्यसमितिको बैठक पनि काठमाडौंमा आयोजना भएको थियो ।

सबैभन्दा ठूलो खुसी महिला भलिबलले डेढ वर्ष अघि दिएको थियो । २०७६ कात्तिकमा बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा महिला टोलीले स्वर्ण पदक जितेको थियो । त्यो सफलताले मंसिरमा पनि निरन्तरता पायो । स्वदेशमा आयोजना भएको १३ औं सागको महिला टोलीले पहिलो पटक रजत पदक जित्यो । ३७ वर्ष लामो इतिहास रहेको सागको महिला भलिबलको फाइनलमा पुगेको त्यो पहिलो अवसर थियो । त्यसअर्थ पनि ती दुई ठूला सफलता दिलाउने पुस्तालाई महिला टोलीको स्वर्णिम पुस्ता भन्ने गरिएको छ ।

सिमित साधान श्रोतका बाबजुद भलिबल संघले गरेको अथक मेहनत र प्रयासकै कारण भलिबलले पछिल्लो ५ वर्षमा अरु भन्दा आफूलाई बेग्लै ठाँउमा उभ्याएको छ । गरे सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । अहिले पनि संघको कार्यालय राष्ट्रिय खेलकुद परिषद् (राखेप) दिएको एउटा कोठामा सिमित छ । तर त्यसले दिलाएको सफलता भने विराट छ । आफैले प्राप्त गरेको सफलतालाई जोगाउन र त्यो भन्दा ठूलो सफलता दिलाउनका लागि संघमाथि चुनौती पनि त्यति कै बढेको छ ।

यति हुँदाहुँदै भलिबलमा सबै ठीक भइसकेको त ? भन्ने प्रश्न पक्कै आउँछ । सफलता प्राप्त गर्नु र त्यसले खेलाडीको जीवनमा प्रत्यक्ष प्रभाव पार्नु फरक विषय हो । फुटबल र क्रिकेट आंशिक रुपमा व्यवसायिक भइसक्दा भलिबलले भने त्यसतर्फ अघि बढ्न सकेको छैन । भौतिक पूर्वाधार निर्माणमा उल्लेख केहि हुन सकेको छैन । भलिबलको अलग्गै कर्भड हल अहिले सम्म बन्न सकेको छैन ।

भलिबल संघले क्लब च्याम्पियनसिप र लिग आयोजनासँगै देशव्यापी रुपमा साना ठूला प्रतियोगिता आयोजना हुन्छन् । संख्यात्मक रुपमा भलिबलमा समस्या छैन । तर, ती सबै हुँदाहुँदै खेलाडीले भने भलिबललाई नियमित आम्दानीको श्रोत बनाउन वातवरण छैन । अन्तर्राष्ट्रिय पदक जित्दा सरकारबाट प्राप्त गर्ने केहि पुरस्कारबाहेक भलिबल खेलाडीको आम्दानीको माध्यम बन्न सकेको छैन ।

तीन विभागिय टोली (सेना, प्रहरी र शसस्त्र प्रहरी) ले भलिबल लगायतका खेलाडीलाई रोजगारी नदिने हो भने नेपालको खेलकुदको अवस्था दयनिय हुनेछ । ती विभागकै कारण नेपाली खेलकुदको आधार तयार भएको छ भन्दा फरक पर्दैन ।

अब भलिबललाई राष्ट्रिय खेल हो भनेर गर्व गरेर मात्र पुग्दैन । राष्ट्रिय खेलमा आबद्ध हुने खेलाडी, प्राविधिक सबैले यसलाई आम्दानीको बलियो आधार मान्न पाउने वातावरण तयार पार्न सक्नुपर्दछ । त्यसमा सरकारी निकायले पनि ध्यान दिन आवश्यक छ । राष्ट्रिय खेलको मान्यता दिएर मात्र सरकारले आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो भने भलिबल फेरि पूरानै शुन्य प्रायसमा पुग्न सक्ने खतरा रहन्छ ।

भलिबलको स्थायी विकास र खेलाडीहरुलाई आम्दानीको श्रोत खेल हुन्छ भन्ने आधार दिन सक्ने हो भने फुटबल र क्रिकेटमा जस्तै भलिबलमा पनि युवा पुस्ताको आकर्षण रहन्छ । भौतिक पूर्वाधार विकास र भलिबलको विकासका लागि सरकारले अलग व्यवस्था नगर्ने हो भने भलिबलले यो भन्दा ठूलो सफलता पाउन कठीन हुनेछ । अर्को तर्फ भलिबल संघले पनि टिकट काटेर दर्शक आउने यो खेलमा पुरानै मानसिकताबाट माथि उठ्न जरुरी छ ।

प्रतियोगिता आयोजना गर्दा टिकट शुल्कलाई पनि आम्दानीको एउटा बलियो श्रोत बनाउन सक्छ । त्यस्तै फुटबल क्रिकेटमा जस्तै कर्पोरेट हाउसहरुको सहभागिताका लागि पहल थाल्नु पर्दछ । क्रिकेट र फुटबलमा फ्रेन्चाईज हुन सक्छ भने भलिबलमा पनि पक्कै हुन सक्छ । त्यसले अन्ततः खेलाडी र भलिबललाई नै फाइदा पुग्नेछ । भलिबल संघको अबको योजना भलिबलको व्यवासायिकिरणका लागि हुन सकोस् । भलिबल खेलेरै बाच्ने अवस्था तयार होस् ।

भलिबल परिवारलाई भलिबल दिवसको शुभकामना । हाम्रो खेलकुद