फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी

Avatar
admin

२०७८ भाद्र २१ गते, सोमबार २०:२९ मा प्रकाशित

कल्पना पौडेल
काठमाडौं- सरकारले कोरोना विरुद्धको खोप फाइजर र मोडर्ना खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता विस्तार गर्ने तयारी गरेको छ। सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र  ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।

नेपालमा १२ देखि १८ वर्षमुनिका करिब ३५ लाख बालबालिका भएको अनुमान छ। उनीहरुलाई दुई डोज खोप लगाउने र बाँकी खोप कसलाई दिने भन्नेबारे पनि टुंगो लगाउन भने बाँकी छ।

माइनस डिग्री तापक्रममा राख्नुपर्ने खोप खरिदको प्रक्रिया अगाडि बढे पनि नेपालमा माइनस तापक्रममा भण्डारण गर्ने भौतिक संरचना छैन। त्यसकारण सरकारले खोप आयात गर्नुअघि भण्डारण गर्ने कोल्ड चेनको व्यवस्था गर्न लागेको हो।

मोडर्ना आउन समय लाग्ने भएपनि फाइजरको खोप छिट्टै आउने सम्भावना बढ्दै गएकाले कोल्ड चेनको व्यवस्थापन गरिहाल्नुपर्ने दबाव पनि छ।

फाइजरका लागि माइनस ६० देखि ८० (अल्ट्रा कोेल्ड चेन) डिग्री तापक्रम र मोडर्नाका लागि माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण  गर्नुपर्ने हुन्छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार फाइजर २०२२ को जनवरी (पुस–माघ २०७८) र मोडर्ना मार्च (फागुन–चैत २०७८)सम्ममा नेपाल आइपुग्ने छ।

व्यवस्थापन महाशाखाका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले ६० देखि ८० माइनस तापक्रम भएको स्टोर सेन्टर ल्याव र ब्लड बैंक र भेटनरीसँग भएपनि पर्याप्त नभएको बताए।

उनले भने,‘हामीसँग तत्काल माइनसमा भण्डारण गर्ने क्षमता नभएकाले त्यसको विकल्पका विषयमा पनि छलफल भइरहेको छ। माइनसकै कोल्ड चेन विस्तार गर्ने तयारी पनि भइरहेको छ।’

उनका अनुसार फाइजर खोपलाई माइनस ६० देखि ८० डिग्री तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ। तर उक्त तापक्रममा राख्ने व्यवस्था नभएकाले अन्य  भण्डारण विकल्पबारे छलफल भइरहेको छ।

ढुंगानाले भने, ‘थर्मल सिपर भन्ने प्याकेजमा खोप ढुवानी गर्न सकिन्छ। थर्मल सिपर नखोली राखियो र माथिबाट ड्राई आइस भरेर राखियो भने ३० दिनसम्म खोप सुरक्षित राख्न सकिन्छ। यो गर्दा फ्रिजको समेत आवश्यकता पर्दैन। त्यो प्याकेटमै हुन्छ।’ उनका अनुसार यो प्याकेटमा खोप आयो भने त्यो थर्मल सिपर भने फिर्ता गर्नुपर्ने हुन्छ।

त्यसबाहेक माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ। त्यसमा दुई सातासम्म खोप भण्डारण गर्न सकिन्छ। त्यसपछि नेपालमा भएको २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्दा ३० दिनसम्म भण्डारण गर्न सकिने उनले बताए।

खोप आउँदा कसरी आउँछ सोही अनुसार नेपालले भण्डारण गर्छ भन्ने कुरामा भर पर्नेछ।

फाइजरको मात्रा अन्य खोप भन्दा कम हुने भएकाले भण्डारणमा कम ठाउँ ओगट्ने ढुंगानाको भनाई छ। सात÷आठ सय लिटरको एउटा फ्रिजमा ३ लाख सम्म फाइजर खोप राख्न सकिने अनुमान गरिएको छ।

सबै खोप एकैपटक नआउने भएकाले सोही अनुसार भण्डारणको व्यवस्था मिलाइने बताइएको छ।

व्यवस्थापन महाशाखाले  खोप आउने बित्तिकै  खोप कार्यक्रम तय गरी छिटो छिटो अभियान संचालन गर्ने तयारी गरे खोप ढुवानी गरिने उनले बताए।

सरकारले केन्द्रमा खोप भण्डारण गरी जिल्लामा खोप कार्यक्रम तय भएपछि पठाउने गरी तयारी पनि गरेको छ।

खोप आउँदै, फ्रिजर थपिँदै
आगामी महिना गाभीले एक लाख डोज फाइजर नेपाललाई दिँदैछ। त्यसका लागि चार वटा फ्रिजजर उपलब्ध गराउँदैछ। १०० लिटरको ४ वटा फ्रिजजर नेपाल आइसकेको  पनि बताइएको छ।

त्यसैगरी, मोडर्ना खोप भण्डारणका लागि आवश्यक तयारी थालिएको छ।  मोडर्नाको लागि खोप भण्डारणका लागि हरेक प्रदेशमा माइनस १५ देखि २५ डिग्री तापक्रमसम्मको  एउटा फ्रिजर राख्ने तयारी पनि भइरहेको छ।

अहिले केन्द्रीय खोप भण्डारण केन्द्रमा माइनस १५ देखि २५ को दुई वटा फ्रिजर छन्। यी दुईमध्येमा एउटा फ्रिजर पोलियो र पिसिआर कीट राखेर माइनसमै चलाइएको छ। भने अर्को चाँहि माइनसलाई प्लस बनाएर नियमित खोप कार्यक्रम अन्र्तगतका खोप भण्डारण गरिएको छ।

व्यवस्थापन शाखाका ढुंगाना भन्छन्,‘यदि जापान र गाभीबाट आएका वाकिङ कुलर समयमै जडान भए र सोही समयमा मोडर्ना खोप आयो भने दुबै फ्रिजरलाई माइनसमा चलाएर त्यहाँको खोप अर्कोमा सिफ्ट गर्नेछौँ। जसले प्लसमा चलाइएको ठाउँ खाली भएपछि त्यसमा १० देखि १२ लाख डोज मोर्डना भण्डारण गर्न मिल्छ।’

त्यसबाहेक व्यवस्थापन महाशाखा परिसरमा रहेको रेफ्रिजेटर भ्यान पनि माइनसमा चलाउन मिल्छ। तर अहिले प्लसकै खोप राख्नुपर्ने भएकाले २ देखि ८ डिग्री सेल्सियसमै चलाइएको  ढुंगानाले बताए।  त्यसलाई पनि आवश्यकता अनुसार माइनसमा चलाउन सकिने छ। त्यसबाहेक पथलैयामा पनि एउटा फ्रिजर माइनसमा छ। त्यसलाई अहिले प्लसमा चलाइएको छ।

‘यसरी अहिले नै मोर्डना खोप आइहाल्यो भने पनि हामीसँग ब्याकअपका रुपमा भण्डारण गर्न सक्ने क्षमता छ,’ ढुंगानाले भने।

तर, समस्या भने खोप ढुवानीका लाग फ्रिजर भ्यान (माइनस तापक्रम) छैन। त्यसका लागि विभिन्न दातासँग कुराकानी भइरहेको बताइएको छ।

दुईवटा फ्रिजर भ्यान खरीदका लागि कुराकानी अघि बढेको भएपनि निष्र्कषमा नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जापानले आगामी अक्टुबरमा १० वटा वाकिङ कुलर उपलब्ध गराउने भएको छ। कोभ्याक्स गाभीले  उपलब्ध गराउने ९ वटा वाकिङ कुलर पनि छिटै आउँदैछ।  यी फ्रिज २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्ने खालको हुन्। आगामी डिम्सेम्बर यी फ्रिज जडान भएपछि नेपालमा २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्ने क्षमता बढ्नेछ।