‘संविधानको सीमामा नबस्दा पहिले राजतन्त्रलाई बिदा गर्‍यौं, अहिले ओली र एमालेलाई’

Avatar
admin

२०७८ आश्विन ५ गते, मंगलवार १८:३२ मा प्रकाशित

असोज, काठमाडौं । लामो समय आफैंले नेतृत्व गरेको दल नेकपा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । २ भदौमा एकीकृत समाजवादी दर्ता गरेका अध्यक्ष नेपाल नयाँ पार्टी निर्माण गर्न देश दौडाहामा छन् ।

आफैं संस्थापक रहेको एमाले दक्षिणपन्थी बाटोमा लागेकाले विद्रोहको आवश्यकता परेको उनको दावी छ । ‘एमाले त केपी ओलीको प्राइभेट लिमिटेड कम्पनी भइसक्यो नि । म कम्युनिष्ट पार्टी ब्यूँताउन चाहन्छु । क्रान्तिकारी पार्टीको अभियन्ताका रूपमा भूमिका खेल्न चाहन्छु’, अध्यक्ष नेपाल भन्छन् ।

प्रतिनिधिसभाको ठूलो दल एमाले विभाजन गर्दै नयाँ दल निर्माणको थालनी भने ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयबाट भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा संसद् विघटन गर्ने निर्णय गरेपछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भयो र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल सडक संघर्षमा उत्रिए ।

११ फागुन २०७७ मा सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भयो, तर २३ फागुनमा नेकपाकै एकता प्रक्रिया भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्र ब्यूँतायो । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष बने । अदालतको फैसला पछि एमाले बनेका ओली र नेपालबीच सहमति जुट्न सकेन । एमालेका दोस्रो तहका नेताहरू पार्टी मिलाउन लागिपरे ।

२९ वैशाखमा ओली र नेपालबीच एमाले एकता गर्ने भद्र सहमति जुट्दा विपक्षी गठबन्धनले संविधानको धारा ७६(२) बमोजिम संयुक्त सरकार बनाउन सकेका थिएनन् । ३० वैशाख २०७८ मा ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भए । तर ओलीले विश्वासको मत लिन चाहेनन् । बरु संसद विघटन गर्ने योजनाका साथ संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिसँग सिफारिस गरे ।

त्यसपछि संसद् जोगाउन सरकार बनाउनुपर्ने भन्दै लाग्ने नेताहरुसँगै उभिए– माधव नेपाल । माधव नेपाल सहित एमालेका २६ सांसदले साथ दिएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थन रह्यो । काँग्रेस (६१), माओवादी केन्द्र (४९), एमाले (२६), जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरे । ओलीले पनि फेरि प्रधानमन्त्रीमा दाबी गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई पनि प्रधानमन्त्री नियुक्त गरिनन् । र, ओलीले ७ जेठको मध्यरात दोस्रोपटक संसद् विघटन गरे ।

यो विघटनपछि देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सांसदहरु रिट लिएर सर्वोच्च अदालत गए । माधव नेपालसहित २३ सांसदले पनि संसद् पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न रिट दायर गरे । २८ असारमा संसद् पुनर्स्थापना भयो, देउवा प्रधानमन्त्री बने । पाँच वर्षे स्थीर सरकारको प्रधानमन्त्री निर्वाचित ओली दुई पटकको संसद विघटन प्रयास असफल भएपछि अदालतको फैसलाबाट पदच्यूत भए र बालकोट फर्किए । अर्थात्, संसद् विघटन र पुनर्स्थापनाको दुई विपरीत ध्रुवमा ओली र नेपाल उभिँदा एमाले विभाजित हुन भयो ।

संविधान जोगाउन संसद् पुनर्स्थापनाको अडान लिँदा अध्यक्ष नेपालले एमालेबाटै अलग हुनुपर्ने परिस्थिति निर्माण भएको छ । तर अध्यक्ष नेपाल भने पुष्पलालले पनि आफैंले स्थापना गरेको कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको बताउँछन् । ‘रायमाझीले (केशरजंग रायमाझी) पार्टी कब्जा गरेर दक्षिणपन्थी बाटोमा लिएर गए । आफैले जन्माएको त्यो पार्टीलाई विदा गरेर पुष्पलालले विद्रोह गर्नुभयो’, नेपाल भन्छन् ।

एकीकृत समाजवादीले अब नेपाली विशेषताको समाजवादसम्मको यात्रा तय गर्ने उनको दावी छ । तर केपी ओली र एमाले भने संविधानको बाधक शक्ति भएकाले राजसंस्थाकै हालतमा पुग्ने नेपाल बताउँछन् । ‘राजा नै संविधानको सीमामा बस्न नचाहेपछि त्यो (राजतन्त्र) संस्थालाई विदा गर्‍यौं । राजा संविधानको बाधक बनेकाले’ अध्यक्ष नेपाल भन्छन्, ‘अहिले एउटा संस्थाको व्यक्ति (केपी ओली) लाई विदा गर्दागर्दै संस्था (एमाले) पनि विदा गर्नुपर्ने अवस्था भयो ।’

 

प्रस्तुत छ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

संसद् विघटन विरुद्धको संघर्ष गर्ने क्रममा आजको अवस्थामा आइपुग्नुभयो । त्यो संघर्ष संविधान बचाउन भन्नुभएको थियो, के अब संविधान सुरक्षित छ ?

संविधानमाथि बक्र दृष्टि छँदैछ । किनकि यो संविधान कतिपयको इच्छा विपरीत आएको हो । हाम्रो निकै ठूलो त्याग, तपस्या र बलिदानबाट संविधान ल्याइएको हो । सबैखाले चुनौती सामना गरेर ल्याइएको हो । संविधानसभाबाट संविधान निर्माण भइरहँदा कतिपय देश सहमत भएनन् । तर हामीले संकल्प र जनताको समर्थन छ भने पार लगाउन सकिन्छ भनेर देखाएका थियौं । त्यसैले सजगकता सधैंभर आवश्यक छ ।

एउटा पार्टीको अध्यक्ष र प्रधानमन्त्री नै संविधानको बाधक भइदिए । विदा गर्नुपर्ने अवस्था आयो । त्यो संस्था भएकाले संस्था (राजतन्त्र) विदा गर्नुपर्‍यो । अहिले एउटा व्यक्ति (केपी ओली) लाई विदा गर्दागर्दै संस्था (एमाले) पनि विदा गर्नुपर्ने अवस्था भयो ।

संविधान बनाउन नेतृत्व गरेको दाबी गर्नेहरूबाटै संविधानमाथि आक्रमण भयो । त्यही सविधान जोगाउन भनेर एमालेबाट विद्रोह गर्नुभयो । यस्तो होला भनेर सोच्नुभएको थियो ?

चिताएको जस्तो त कहिल्यै हुँदैन । भवितव्य हुन्छ । नचिताएको हुन्छ । त्यसलाई स्वीकार गर्नुपर्छ । भूकम्पले घर भत्काउला भनेर मानिसले चिताएको हुँदैन । आफ्नो नजिकका मानिसले चाँडै प्राण त्याग गर्ला भनेर चिताएको हुँदैन । कुनै देशमा गएर जिन्दगी बिताउनु पर्ला भने चिताएको हुँदैन । तर त्यस्तो हुन्छ ।

मैले चिताएको थिएँ, म राम्रो चाटर्ड एकाउण्टेण्ट बन्छु । त्यो भन्दा पहिले कुनै राम्रो इन्जिनियर बन्छु भनेर लागेको थिएँ । भएन । मेरो कोर्स नै चेञ्ज भयो, म राजनीतिमा लागेँ । राजनीतिमा लाग्दा पनि प्रधानमन्त्री हुन्छु भनेर चिताइएको थिएन । अवश्य चिताइएको थिएन कि हाम्रै जीवनकालमा गणतन्त्र ल्याउन सकुँला । राजतन्त्रलाई अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरौंला । परिस्थितिले कहाँबाट कहाँ पुर्‍याउँछ ।

पोजिटिभ डिरेक्सनमा मुलुक र समाजलाई लानुपर्छ । मानिसलाई लानुपर्छ । पोजिटिभ थिंकिङमा विश्वास गर्ने मान्छे हुँ म ।

फेरि पनि त्यही कुरा– संविधान ठीक ट्र्याकमा आइपुग्यो कि अझै संकटमा छ ?

संविधानको प्रावधानमाथि पटक–पटक कुल्चिने कोशिस भयो । संसारमा बिरलै होला, प्रधानमन्त्रीले एउटै कार्यकालमा दुई–दुई पटक (प्रतिनिधिसभा) भंग गरोस् । सर्वोच्च अदालतले रोक लगाइसकेपछि पनि भंग गर्ने दुस्साहस गरियो । यस्ता प्रवृत्ति भएका मान्छेहरु हुँदा रहेछन् । त्यो प्रवृत्तिका बाहक देखा पर्दा रहेछन् । तर, यस्तो प्रवृत्तिको अन्त्य हुन्छ ।

तपाईं, २०४७ सालको संविधानको पनि मस्यौदाकार । राजनैतिक नेतृत्वकै कारण संविधान संकट पर्छ ?

०४७ सालको संविधानलाई संशोधन गर्न चाहेका थियौं । त्यतिखेर नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईजी मान्नुभएन । पछि परिस्थिति अर्कै भइदियो । हामीले राजतन्त्र संवैधानिक रुपमा स्वीकार गरेका थियौं । तर राजा नै संविधानको सीमामा बस्न नचाहेपछि त्यो (राजतन्त्र) संस्थालाई विदा गर्‍यौं । राजा संविधानको बाधक बनेकाले (विदा गर्‍यौंं) ।

अहिले पनि एउटा पार्टीको अध्यक्ष र प्रधानमन्त्री नै संविधानको बाधक भइदिए । विदा गर्नुपर्ने अवस्था आयो । त्यो संस्था भएकाले संस्था (राजतन्त्र) विदा गर्नुपर्‍यो । अहिले एउटा व्यक्ति (केपी ओली) लाई विदा गर्दागर्दै संस्था (एमाले) पनि विदा गर्नुपर्ने अवस्था भयो । जबसम्म त्यो संस्थाको प्रमुख यस्तै व्यक्तिको हातमा रहन्छ भने सिंगो संस्था विदा गर्नुपर्ने अवस्था बन्छ नै ।

यस्तो हामीले पहिले पनि गरेका छौं । रायमाझीले (केशरजंग रायमाझी) पार्टी कब्जा गरेर दक्षिणपन्थी बाटोमा लिएर गए । आफैंले जन्माएको त्यो पार्टीलाई विदा गरेर पुष्पलालले विद्रोह गर्नुभयो । २००६ सालमा जन्माएको पार्टीलाई पुष्पलालले टाटा बाइबाई गर्नुभयो । र, क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै अर्को पार्टी बनाउनुभयो ।

त्यही पार्टीमा सदस्य भएको मान्छे म । कार्यकर्ता भएर झण्डा बुलन्द बनाएको मान्छे म । तर पुष्पलाललाई टाटा बाइबाइ गर्नुपर्‍यो । । र, अर्को क्रान्तिकारी पार्टी (कोर्डिनेशन केन्द्र) स्थापना गर्नुपर्‍यो । २०३५ सालमा नेकपा माले र २०४७ सालमा नेकपा एमाले बनाउनुपर्‍यो ।

अहिले एमाले गलत दिशातिर गयो । व्यक्तिवाद र दक्षिणपन्थको आहालमा डुब्यो । व्यक्तिवादी अहंकार, गुटबन्दीपूर्ण काम, निरंकुश शैली, विदेशी पक्षपोषकहरु र प्रतिगामी तत्वहरुसँग साँठगाँठ, फेरि राजतन्त्र पुनर्स्थापना गर्न खोज्नेहरुसँग साँठगाँठ हुन थाल्यो । संविधानको मूल मर्म र भावनामा प्रहार गर्दै गणतन्त्रकै विरुद्ध बोल्न थालियो । त्यसकारण विद्रोहको झण्डा उठाउन पर्‍यो ।

संविधानको बाधक (व्यक्ति र संस्था) विदा हुन्छन् भन्नुभयो । तर, चिन्ता त संविधान नै विदा हुन्छ कि भन्ने पो देखिन्छ नि ?

सक्ने भए त सैनिक शासन चलाउने हल्ला चलेकै हो । उहाँ (केपी ओली) ले सोच्नुभएको थियो– म यो देशको हिटलर बनौला । तर हिटलरको अन्त्य भयो ।

केपी ओलीले दिनसम्म दुःख दिनुभयो । तर केपी ओली प्रवृत्ति पूरै पछारिएको छ, छटपटाइरहेको छ । त्यसैले सीमा नाघेर बोलिरहनुभएको छ । म त्यो तहमा जान चाहन्न । किनकि हामी नयाँ संस्कार भएको नयाँ पार्टी बनाउन चाहन्छौं ।

जुन पार्टीले देशमा नयाँ सन्देश देओस् । जनताको भावना र मन जितोस् । जनताको आकांक्षा पूरा गरोस् । जनता सधैं विरोधी कुरा सुन्न चाहदैनन् । सिर्जनात्मक र रचनात्मक कुरा सुन्न चाहन्छन् । नयाँ कुरा सुन्न चाहन्छन् । बदलिदो परिस्थितिको चाहना पूरा गर्न सामाजिक अभियान्ताका रुपमा यो पार्टीलाई जनता देख्न चाहन्छन् ।

अहिले महिलाहरुमाथि हिंसा छ । अत्याचार छ । विपन्न जनताको बिजोक छ । अपांगता भएका र एकल महिलाको अवस्था हरिविजोक छ । अल्पसंख्यक समुदायको हरिबिजोक छ । उनीहरुका छोराछोरीले पढ्न पाइरहेका छैनन् । विपन्न परिवारसँग गाँस, बाँस, कपास र रोजगारीको समस्या छ । रोजगारी नपाएर विदेशमा भौतारिरहेका छन् । स्वदेश फर्कन्छु भन्दा नदी पार गर्न पाउँदैनन् । चढेको तुइन काटिन्छ । राज्य केही पनि गर्दैन् ।

हो, यस्ता समस्या हल भएको देख्न चाहन्छन्, जनता । निर्मला पन्तका हत्याराले दण्ड पाओस् भन्ने चाहन्छन् । न्याय र समानताको राज्य चाहन्छन् । जनता हावादारी गफले दिक्क भइसके । हामी जनताको जीवनसँग जोडिएको कुरा गर्न चाहन्छौं । हाम्रै नेपाली विशेषताको समाजवाद स्थापित गर्न चाहन्छौं ।

तपाईंमाथि केपी ओलीले विभिन्न प्रश्न उठाउनुभएको छ, ती प्रश्नको जवाफ दिनु हुन्न ?

त्यस्तो जवाफ दिनु राम्रो हुँदैन । नभए त मान्छेहरुले सवै उस्तै हुन् भनेर बुझ्छन् । म गाउँले झगडामा फस्न चाहन्न । मान्छेले आफै मूल्याकंन गरोस् । सभ्य र असभ्यको पहिचान गरोस् । संस्कृति र अपसंस्कृतिको पहिचान गरुन् । राम्रो मान्छेले राम्रो मान्छे खोज्दछ, नराम्रो मान्छेले नराम्रै मान्छे खोज्दछ ।

कोही भ्रममा परेर, भुलभुलैयामा (दश बुँदे सहमति गरेर) परेर गएका छन्– सुधार्न सकिन्छ कि भन्ने ठानेर । तर, मान्छेको सदीक्षाले मात्रै हुँदैन । मान्छे परिवर्तन हुन्छ कि हुँदैन भन्ने उसको चरित्रले नियाल्न सक्नुपर्छ । इतिहासमा पनि धेरै मान्छे बदल्न खोजियो, तर सकिएन ।

शिशुपाललाई कृष्णले कति सुधार्न खोज्नुभयो, तर सक्नुभएन । केपी ओली त्यस्तो पात्र नभइदिनुहोस् । समयमै सुध्रिनुहोस् । चेतना आओस् । मान्छेले छि:छि र दूरदूर नगरोस् । उहाँप्रति निन्दा र भर्त्सना नगरुन् ।

तपाईंको भनाइमा, केपी ओलीले शिशुपाल जस्तै आफैंलाई कमजोर बनाइरहनुभएको छ ?

त्यस्तो भन्न चाहन्न । उहाँमा परिवर्तन होओस्, सुधार होओस् । म सबैमा सद्बुद्धि पलोओस् भन्ने पक्षको मान्छे हुँ । बुद्ध जन्मेको देशको नागरिक हुँ । हिन्दू धर्मको पुण्यभूमिमा वेद र पुराणबाट अभिप्रेरित नागरिक हुँ । मेरो बुवाबाट सिकेको कुरा– कहिले पनि नराम्रोको पक्षपोषण नर्गनु । कसैको कुभलो नचिताउनु ।

कुभलो नचिताउने कुरा गर्नुभयो । तर एमाले सिध्याउन त लाग्नु भयो नि हैन र ?

(हाँस्दै) एमाले त केपी ओलीको प्राइभेट लिमिटेड कम्पनी भइसक्यो नि । म कम्युनिष्ट पार्टीलाई ब्यूँताउन चाहन्छु । कम्युनिष्ट पार्टीलाई गति दिन चाहन्छु । क्रान्तिकारी पार्टीको अभियन्ताका रुपमा भूमिका निर्वाह गर्न चाहन्छु । देशभक्ति, लोकतन्त्र र परिवर्तनको सम्बाहकको भूमिका निर्वाह गर्न चाहन्छु ।

सवैका राम्रो पक्ष समेट्न चाहन्छु । सबैको ज्ञान र वुद्धि लिन चाहन्छु । सबैले उत्तिकै योगदान गरेका छन्, सबैलाई मानसम्मान गर्न चाहन्छु । मिडियाकर्मी, बुद्धिजीवि, सामाजिक अभियन्ता, जनताका सेवक सबैको पवित्र भावनाको कदर गर्न चाहन्छु ।

फेरि संविधानकै कुरा गरौं । संविधान र संसद् जोगाउन भनेर लाग्नु भयो । अहिले सत्तारुढ गठबन्धनमा भएका कतिपय दलले शासकीय स्वरुप फेरौं भनेका छन्, कसैले प्रदेशको सीमांकन हेरफेर गरौँ भनेका छन् । कतै तपाईंहरुको गठबन्धनबाटै संविधान त संकटमा पर्दैन ?

कुन देशमा यस्तो (संशोधन) भएन र ! भारत, फ्रान्स र अमेरिकामा भएन ! संसारका लोकतान्त्रिक भनिएका देशहरुमा भएन ? भइरहन्छ त ।

अन्तर्तत्व ठीक छ भने देशमा सद्भावको भावलाई बलियो बनाउँछ भने, देशको अनुशासन प्रणालीलाई राम्रो बनाउँछ भने उपायको खोजी हुन्छ । किनभने, कुनै पनि प्रणाली पर्फेक्ट छैन । पर्फेक्सनको खोजी गर्नु राम्रो कुरा हो ।

तर, के गर्दा पर्फेक्सन हुन्छ भन्ने बुझिएन भने घुम्दैफिर्दै रुम्जाटार पुगिन्छ । शासकीय स्वरुपबारे मैले भनेको छु– प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको भए कस्तो हुन्थ्यो ? यस्ता (केपी ओली) मान्छे राष्ट्रपति भइदिएको भए के हुन्थ्यो ? विचार गर्नुहोस् । यस्ता पात्र र प्रवृत्ति भएकाहरु नेपालमा छन् ।

नेपालमा अहिले एक निर्वाचनदेखि अर्को निर्वाचन चलिरहेको छ । यो ठीक होइन, जनतादेखि जनतासम्म हुनुपर्छ । हो, जनताको निम्ति निर्वाचन आवश्यक हो, लोकतन्त्रलाई आवश्यक छ । जनताको जनादेशका लागि आवश्यक छ । जनताको सार्वभौम अधिकार प्रयोगका लागि आवधिक निर्वाचन प्रणाली आवश्यक छ ।

तर अहिले देखिएको विकृति हटाउनैपर्छ । अहिले दलाल पूँजीवाद हाबी छ । दलाल नोकरशाही पूँजीवाद विरुद्धमा जानुपर्छ । राष्ट्रिय पूँजीको विकास गरी नेपाली विशेषताको समाजवादसम्म पुग्नुपर्छ । सबै देशसँग मित्रतापूर्ण सम्बन्ध राख्दै विदेशी पूँजीलाई प्रवद्र्धन गर्ने काम गर्दै हामीले संसारका सबै राम्रा अनुभव लिएर अगाडि बढ्नुपर्छ ।

संशोधनले संविधानको आयु बढाउँछ भन्ने तर्क पनि सुनिन्छ, के संविधान संशोधन गर्ने बेला भयो ?

अहिले छैन । समय भइसक्यो भन्ने ठान्दिनँ । कतिबेला आवश्यक पर्छ, छलफल गरौंला ।