शिक्षण पेशा छाडेर कृषि कर्ममा लागेका उमेश : जसलाई पर्‍यो पहिलो गाँसमै ढुंगा

Avatar
admin

२०७८ कार्तिक ९ गते, मंगलवार १८:५० मा प्रकाशित

श्रवण देव

 सप्तरी । सप्तरीको खडक नगरपालिका-१० का उमेशप्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङको लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । उनी २०५७ सालदेखि अस्थायी दरबन्दीमा गणित विषय पढाइरहेका थिए ।

२०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी बन्न र स्वेच्छिक अवकाशको नीति ल्याउँदा साहले अवकाश नै रोजे । ‘त्यसबेला परिवारमा रोजगारी गर्ने म मात्रै थिएँ । अनि सबै बेरोजगार,’ साह भन्छन्, ‘म त स्थायी हुन्थें । तर परिवारका सबै बेरोजगार नै रहन्थे । परिवारमा काम गर्ने योग्य व्यक्तिलाई पनि रोजगारी दिने सोचेर स्वेच्छिक अवकाश रोजे ।’

२०७६ वैशाखमा उनी ताप्लेजुङबाट सप्तरी घर फर्के । केही दिन गाउँ घुमे । यहाँको वस्तुस्थितिबारे पुनर्ताजगी भए । यसपछि साहले कृषि कर्ममा जुट्ने निधो गरे ।

कृषि कर्ममा लाग्न उनले जग्गाको खोजी गर्न थाले । चन्द्रा मावि बोदेबर्साइनको जग्गा उनले गाउँमै फेला पारे । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिसँग कुरा चलाए, कुरा पनि मिल्यो । त्यसपछि उनले विद्यालयको १५ कठ्ठा जग्गा १५ वर्षका लागि लिजमा लिए ।

जग्गा लिजमा लिएपछि रकमको जोहोमा जुटे उनी । ‘केही आफूले बचत गरेको रकम थियो । अरु २५ लाख कृषि विकास बैंकबाट ऋण लिएर केरा खेती शुरु गरें,’ उनी भन्छन् । कात्तिक, २०७६ देखि उनले ती जग्गामा केरा खेती शुरु गरे । शुरुमै ३० हजार केराको बोट रोपे उनले । ती काममा उनीसहित उनका घरपरिवारका व्यक्ति पनि सहयोगी भए ।

पहिलो गाँसमै ढुंगा

साहले रोपेका केराका बोटहरुमा फल लाग्न लागेको थियो । रोपिएका प्रायः सबै बोटमा केराले घारीको रुप बनाइसकेको थियो । केही बोटमा फलेका केरा त आगामी छठसम्म बजार पुर्‍याउने तयारी गरेका थिए साहले । ‘छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना थियो,’ साह भन्छन्, ‘तर मनको लड्डू घिउसँग खान बाध्य भएँ ।’

किनकि, कात्तिक १ मा भएको बेमौसमी मुसलधारे वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गर्‍यो । वर्षा र हावाहुरीले उनले लगाएको अधिकांश केराको बोट लडाएको छ । फल्न शुरु गरिसकेको र कतिपय तयार हुन लागेको कुरा नष्ट भएपछि साहलाई पहिलो गाँसमै ढुंगाजस्तै भयो ।

‘केरा खेती गर्दा राम्रो आम्दानी हुने विश्वास थियो । त्यही भएर यो खेती नै रोजेको थिएँ,’ साह भन्छन्, ‘तर, पहिलो पटक गरेको खेती नै प्रकृतिले असफल बनाइदियो ।’ हावाहुरी र वर्षाका कारण २५ लाख रुपैयाँ बराबरको केरा नष्ट भएको उनले बताए । ‘यो मेरो लागि धेरै ठूलो क्षति हो,’ उनले भने, ‘गरिएको लगानी र मिहिनेत सबै बर्बाद भएछ ।’

यद्यपि उनले यसबाट हरेस नखाने बताएका छन् । ‘कृषि कर्ममै लागिसकेपछि हरेस खानु भनेको ठीक हुँदैन,’ उनी भन्छन्, ‘पुनः मिहिनेत गर्छु । शायद, अब त राम्रो हुन्छ होला ।’