लुम्बिनीमाथि कर्णालीको फराकिलो जित

Avatar
admin

२०७८ मंसिर ८ गते, बुधबार १८:३९ मा प्रकाशित

जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अल आउट भयो । लुम्बिनीका प्रज्वल थापाले ३६ बलमा ४ चौकासहित सर्वाधिक २८ रनको योगदान दिए । दुर्गेश गुप्ताले ३७ बलमा ४ चौका सहित २० रन बनाए । तीव्र गतिका बलर अनुज चनाराले पहिलो ओभरको चौथो बलमा लुम्बिनीका ओपनर तथा कप्तान देव खनाललाई शून्यमा युनिस सिंहबाट क्याच गराएका थिए । प्रमुख ब्याटर देव आउट भएपछि लुम्बिनी खेलमा सम्हाल्लिन सकेको थिएन ।

प्रकाश जैशीले छैटौं ओभरको पाँचौं बलमा विराट भण्डारीलाई रुपक दाहालबाट ६ रनमा क्याच गराए । आठौं ओभरको तेस्रो बलमा जैशीले विशाल विक्रम केसीलाई १ रनमा बोल्ड आउट गरे । तीन बलपछि सुनिल भण्डारी एलबीडब्लू आउटको शिकार बने । चनाराले नवौं ओभरको चौथो बलमा ओपनर आकाश त्रिपाठीलाई १५ रनमा बोल्ड आउट गर्दै पेभेलिएन फर्काएका थिए । १२ औं ओभरको दोस्रो बलमा प्रकाशले वासिर अहमदलाई ४ रनमा बोल्ड आउट गरे ।

दुई बलपछि अभिषेक गौतमलाई शून्यमा बोल्ड आउट गर्दै ब्यक्तिगत पाँच विकेट पूरा गरेका थिए । एक समय ११.४ ओभरमा ४०–७ को कमजोर अवस्थामा पुगेको लुम्बिनीलाई आठौं विकेटका लागि प्रज्वल थापा र दुर्गेश गुप्ताले ४७ रनको साझेदारी गर्दै रनको अन्तर घटाएका थिए ।
कर्णालीको सानदार जितमा प्रकाश जैशीले ९ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । अनुज चनाराले ७ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर युनिस सिंहले २.५ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोेजेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । कर्णालीका लागि मध्यक्रमका ब्याटर सुवास ऐरले ९० बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । कप्तान निश्चल रावलले ९९ बलमा ५ चौका सहित ४४ रन जोडे ।

पहिलो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर दुर्गेश गुप्ताले ओपनर मनिश थापालाई शून्यमा बोल्ड आउट गरेका थिए । तर कर्णालीलाई बायाँहाते ओपनर विपिन रावलले २६ बलमा ४ चौका र १ छक्कासहित ३२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गुप्तालेनै सातौं ओभरको तेस्रो बलमा विपिनलाई विकेटकिपर प्रज्वल थापाबाट क्याच गराए ।

तेस्रो विकेटका लागि कप्तान निश्चल र सुवासले १ सय २२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुर्याएका थिए । सुवासलाई स्पिनर वासिर अहमदले ३६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गरेका थिए । त्यसअघि सुवासले ब्यक्तिगत ५१ रनमा जीवनदान पाएका थिए ।

स्पिनर अभिषेक गौतमको २७ औं ओभरको पहिलो बलमा कप्तान देव खनालले सट कभरमा क्याच ड्रप गरेका थिए । ३९ औं ओभरको अन्तिम बलमा विशाल विक्रम केसीले निश्चवलाई देव खनालबाट क्याच गराए । तल्लोक्रमका प्रकाश जैशीले ३६ बल खेल्दा १ चौकासहित २५ रनमा क्याच आउट भए । राज शाह ८ र दीनेश पुन ५ रनमा आउट भए । सन्दीप शाही १० र युनिस सिंह ९ रनमा अविजित रहे ।

लुम्बिनीका बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । विशाल विक्रम केसीले २, वासिर अहमद र मोहम्मद हुसैनले १(१ विकेट लिए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो । कर्णालीले दोस्रो खेलमा विहीबार प्रदेश १ सँग मुलपानीमा खेल्नेछ । मुलपानीमै लुम्बिनीले सुदूरपश्चिमसँग शुक्रबार खेल्नेछ ।(हाम्रो खेलकुद)