‘उच्च शिक्षाका पाठ्यपुस्तक छाप्ने काम खोसिएकाले साझा भासियो’

Avatar
admin

२०७९ भाद्र २७ गते, सोमबार १५:०३ मा प्रकाशित

‘गरिमा’ पत्रिका बन्द हुन दिँदैनौँ : प्रह्लाद पोखरेल, महाप्रबन्धक, साझा प्रकाशन

काठमाडौं, भदौ २७, २०७९

sharethis sharing buttonसाझा प्रकाशन नेपाली साहित्यिक क्षेत्रमा निकै पुरानो र एक समयको प्रतिष्ठित संस्था हो । यसको इतिहास गोर्खा भाषा प्रकाशिनी समितिसँग जोडिन्छ । निरङ्कुश राणा शासन कालमा नेपाली साहित्यिक कृति प्रकाशनका लागि भनेर विसं १९७१ मा चन्द्र समशेरले यो समितिको स्थापना गरेका थिए । यो संस्था १९९१ सालमा आएर नेपाली भाषा प्रकाशिनी समितिमा परिणत भयो । विसं २०२१ देखि भने साझा प्रकाशनका नाममा सञ्चालित छ । 

प्रजातन्त्रको पुनर्बहाली अघिसम्म साझा प्रकाशनले नेपाली साहित्यका प्रशस्त कृति छाप्यो । बिक्रीवितरणकै लागि नेपालभर र भारतमा समेत शाखा स्थापना गर्यो । यस्तो संस्थाबाट आफ्ना कृति प्रकाशन गर्न पाउँदा साहित्यकारहरूको निकै गर्व महसुस गर्थे । तर, अब त्यो अवस्था रहेन । 



पछिल्लो डेढ दशक साझा प्रकाशन निकै खराब समयबाट गुज्रियो । राजनीतिक नियुक्ति, जथाभावी कर्मचारी भर्ना, फितलो व्यवस्थापन यसको अधोगतिको प्रमुख कारण बन्यो । उच्च शिक्षाका पाठ्यपुस्तक छाप्ने काम पनि सरकारले खोसेपछि साझा धराशायी बन्यो । करिब करिब बन्द नै हुने अवस्थामा पुग्यो । धेरै कर्मचारीलाई अनिवार्य अवकाश दिइयो । अवकाश पाउनेहरूले पनि पाउने जति सेवा सुविधा अझै पाइसकेका छैनन् । अहिले पनि त्यहाँ कार्यरत कर्मचारीले करिब १६ महिनादेखिको तलब पाउन सकेका छैनन् । साझाका यिनै विविध समस्या र हाल जारी पुस्तक प्रदर्शनीका विषयमा केन्द्रित रही साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलसँग रातोपाटीले गरेको कुराकानीः



–साझाले अहिले पुस्तक प्रदर्शनी गर्दै रहेछ, यो कति वर्षपछिको प्रदर्शनी हो ? 

बेला बेलामा साझाले यस्तो प्रदर्शनी गर्दै आएको हो । बीचमा केही समय टुटेको रहेछ । पहिले पहिले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदर्शनी गर्दा जुनसुकै समयमा पनि सँगै गर्ने चलन थियो । बीचमा आएर त्यो टुटेको रहेछ । अहिले फेरि प्रज्ञा प्रतिष्ठनसँग सल्लाह गरेर उसले प्रदर्शनी गर्दा साझाले पनि स्टल राख्ने गरी २०७९ वैशाख १ गतेदेखि व्यवस्थापन मिलायौँ । उहाँहरूले प्रदर्शनी गर्दा साझा पनि एकातिर बस्छ । अरूतिर लगेर प्रदर्शनीमा राख्नुभन्दा जहाँ जहाँ साझाका केन्द्र छन्, त्यहीँबाट गर्ने र छुट दिने व्यवस्था मिलाइएको छ । अहिले भने यही भदौ १५ देखि असोज २ सम्म देशभरका साझाका शाखाहरूमा पुस्तक प्रदर्शनी गरिरहेका छौँ ।

–यस्तो प्रदर्शनीबाट कति जति पुस्तक बिक्री हुन्छ ? 

अहिलेको अवस्थामा दैनिक एक लाख रुपियाँको बिक्री हुने गरेको छ । व्यक्तिले मात्र किन्दा त्यति धेरै बिक्री हुँदो रहेनछ, लाइब्रेरीका लागि आए भने अलि बढी बिक्री हुँदोरहेछ । वैशाखको पुस्तक प्रदर्शनीमा लाइब्रेरीहरूले धेरै पुस्तक खरिद गरेका थिए । त्यो समय आर्थिक वर्षको समापनको समय पनि हुँदो रहेछ ।

गत वैशाखमा हामीले पुस्तक प्रदर्शनीबाट करिब ४६ लाखका पुस्तक बिक्री गरेका थियौँ । त्यसले हामी उत्साहित भयौँ ।

अर्को कुरा हाम्रा पुराना पुस्तकहरू धेरै मूल्यका छैनन् । थोरै मूल्य हुँदा कम बिक्री भएको जस्तो देखिन्छ । तर अहिले हाम्रा पुराना कृति आउट अफ स्टक हुन थालिसके । यसरी बिक्री भइसकेका कृति साझाले छाप्न सकेको थिएन । अब चाहिँ हामी पुराना किताब पुनः छाप्ने व्यवस्थापन गर्दैछौँ । बढी पढिने पुस्तक तुरुन्तै छाप्ने कार्य हुन्छ ।

 

–कुन कुन ठाउँमा प्रदर्शनी हुँदैछ ? 

साझाको केन्द्रीय कार्यालय पुल्चोक र सबै शाखा कार्यालयहरूमा हुँदैछ । विर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, चितवन, नुवाकोटको विदुर तथा त्रिशूली, पश्चिममा पोखरा, दाङ, बुटबल, धनगढी शाखाहरूमा प्रदर्शनी हुँदैछ । काठमाडौंमा भने विश्व भाषा क्याम्पस प्रदर्शनीमार्गमा छ । प्रदर्शनी असोज २ सम्म रहन्छ ।

– प्रदर्शनीमा कस्ता कस्ता पुस्तक राखिएका छन् ? 

वाङ्मयका विभिन्न विधाका पुस्तक छन् । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, नाटक, एकाङ्की, शब्दकोश, जीवनीलगायत साझाले प्रकाशनले छापेका सबै खालका पुस्तक छन् । साझाले अङ्ग्रेजी–नेपाली शब्दकोश छापेको थियो पहिले त्यो, साझाको बगलीकोश छ, गत वर्ष मदन पुरस्कार पाएको लिम्बुवानको ऐतिहासिक दस्तावेज छापेको थियो, अस्ति मदन पुरस्कारको श्रेष्ठ सूचीमा पनि परेको प्राध्यापक नीलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली व्युत्पत्तिमूलक शब्दकोश’ पनि प्रदर्शनीमा छुटमा राखिएको छ । यो साझाको इतिहासमा सबैभन्दा ठूलो कृति पनि हो ।

–क्रमैसँग भन्दा साझाका सबैभन्दा राम्रो बिक्री गर्ने शाखाहरू चाहिँ कुन कुन हुन् ? 

सबैभन्दा बढी बिक्री गर्ने विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा रहेको शाखा हो । यसले गत वर्ष एक करोडको कारोबार गरेको छ । यो चाहिँ साहित्यिक कृतिहरू मात्र बिक्रीको हो । यद्यपि पाठ्यपुस्तक हुने हो भने अझ बढ्न सक्छ ।

हामीले बेच्ने भनेको वाङ्मयका पुस्तक हुन् । वार्षिक पाँच करोड रुपियाँको बिक्री लक्ष्य राखेका छौँ । यति कारोबार भयो भने साझाले नयाँ किताब छाप्न सक्छ । तर यो साहित्यिक पुस्तकको मात्र लक्ष्य हो, पाठ्यपुस्तक बेच्न पायौँ भने अझ धेरै हुन्छ । यो वर्षदेखि पाठ्यपुस्तकको काम गर्न पाउँछौँ भन्नेमा आशावादी छौँ ।

करोडको किताब एउटै शाखाबाट बिक्री गर्ने साझा कसरी भासियो ?

यस्तो छ, विश्वविद्यालयमा आइए तह हुँदा साझा प्रकाशनले कोर्सका किताब छाप्थ्यो । १ देखि १० सम्मको जनक शिक्षाले र त्यसदेखि माथि साझा प्रकाशनले छाप्थ्यो । तर विगत तीन वर्षदेखि साझालाई त्यो कार्य दिइएको छैन । यस्तो हुनुमा पनि कारण छ । करिब ९ वर्षदेखि उसले अडिट नै गरेको रहेनछ । त्यसैले उसले विश्वास गुमायो ।

म आएपछि महालेखा परीक्षकको कार्यालयमा गएर अनुरोध गरेपछि ३ जना अडिटर खटाइ दिनुभएको छ । एउटा अडिटरले ३ वर्षसम्मको अडिट गर्न पाउँदो रहेछ । पहिलो ३ वर्षको अडिट लगभग सकिएको छ । अर्को ३ वर्षको अब गराउँछौँ, अनि बाँकी ३ वर्षको पनि गराउँछौँ । यति गरेपछि विश्वास आर्जन गर्ने ठाउँमा पुग्छौँ होला ।

साझाले पहिले छाप्दै आएको ११ र १२ को पाठ्यपुस्तक छाप्नका लागि शिक्षा मन्त्रालयमा अनुरोध गरेका छौँ । हाम्रो अनुरोधलाई शिक्षामन्त्रीज्यूले संसदमा सैद्धान्तिक प्रश्नहरूको जवाफ दिँदा पटक पटक छाप्न दिने भन्नु भएको छ । राष्ट्रिय सभाको र प्रतिनिधि सभाको बैठकमै अबको वर्षदेखि ११ र १२ का अनिवार्य विषयका पाठ्यपुस्तक साझा प्रकाशनमार्फत् छाप्ने भन्नु भएको छ । तर शिक्षा मन्त्रालयले अझसम्म त्यो अधिकार दिइसकेको छैन । हामी निरन्तर प्रयासमा छौँ ।

–तपाईं साझामा आउँदा वार्षिक आम्दानी कति थियो ? अहिले कति छ ?  

साझा स्थापना भएको करिब ९५ वर्ष कहिल्यै पनि घाटामा गएको रहेनछ, एकदमै राम्रोसँग चलेको रहेछ । तर बीचका १०, १५ वर्षमा यसको व्यवस्थापनमा उथलपुथल आएपछि धेरै घटेको अवस्था देखियो । गत वर्ष त्यही चार साढे चार करोडको कारोबार भएको अवस्था देखिन्छ । यो वर्ष चाहिँ अलिकति बढ्छ । किनभने प्रदर्शनी पनि थालेका छौँ । गत वर्षदेखि नयाँ पुस्तक पनि छाप्न थालेका छौँ । २०७७ मा मदन पुरस्कार प्राप्त कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ सङ्ग्रह प्रकाशित गर्यौँ । ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली साहित्यकोश’ छाप्यौँ ।

अहिले नयाँ किताब छपाउने प्रबन्ध नयाँ किसिमले गरेका छौँ । अब पुस्तक छपाउँदा लेखकले पाउने २० प्रतिशत रोयल्टी हामीले सुरुमै उपलब्ध गराउने र छापिएको पुस्तकको ५ सय प्रति लेखक आफैले किनिदिने व्यवस्था गराएका छौँ । यसले लेखकलाई सुरुमै २० प्रतिशत रोयल्टी पाउने र साझालाई पुस्तक छापिनुभन्दा अगाडि नै ५ सय प्रतिको रकम आउने भयो । त्यसबाट हामीले कागजको किन्ने पैसा पाउने भयौँ । यो योजनाअन्तर्गत करिब १२ वटा पुस्तक छापिसकेका छौँ ।

–बजेटका लागि साझाले सरकारको मुख मात्रै ताक्छ । आयआर्जन बढाउने अन्य योजना के के बनाउनु भएको छ ?

साझाको अभिभावक भनेको सरकार नै हो । यो नाफामूलक संस्था होइन, सरकारको सेवामूलक संस्था हो । त्यसैले, साझाले सरकारको मुख ताक्नु स्वाभाविकै हो । नेपाली वाङ्मयको विकासका निम्ति साहित्यकारहरूका पुस्तक छाप्ने, रोयल्टी दिने किसिमको संस्था हो यो ।  तर यसले नाफा कमाएर मात्र खानुपर्छ भन्दाखेरि साझा ‘सस्टेनेबल’ हुन सक्दैन । जब उच्च शिक्षाका पाठ्यपुस्तक छाप्ने उसको कामलाई खोसियो, त्यसले साझालाई एकदमै तल पुर्याएको हो । यसका नियमित काम नखोसेको भए सरकारको मुख ताक्नु पर्दैनथ्यो ।

साझासँग भौतिक सम्पत्ति निकै छ । जग्गा धेरै ठाउँमा छन्, त्यसको सदुपयोग हुन सकेको छैन । त्यसबाट आयआर्जन गर्न सकेका छैनौँ । तिनलाई भाडामा लगाएर, भौतिक पूर्वाधार तयार गरेर भाडा तिरेर बस्नुको सट्टा आफ्नै घरमा बसेर खर्च घटाउने कार्यतर्फ लागिरहेका छौँ । शाखा भएका ठाउँमा जग्गा छ भने भौतिक पूर्वाधार तयार गरी आफ्नै भवनमा बस्ने कार्य गर्दैछौ ।

हामीले ६ वटा प्रदेशमा प्रदेश कार्यालयहरूको व्यवस्था गरेका छौँ । कर्णाली प्रदेशमा चाहिँ जग्गा छ, पूर्वाधार बनिसकेको छैन ।

 

–अहिले कर्मचारी चाहिँ कति छन् ?

अहिले ओएनएम सर्भे गरेर सञ्चालक समितिले साझामा १२४ दरबन्दी कायम गरेको छ । त्यसमध्ये अहिले ६४ जना स्थायी कर्मचारी छन् । अनि प्रेसमा काम गर्ने केही करारका प्राविधिक कर्मचारी गरी जम्मा अहिले ७४ जना कर्मचारी छन् । पाठ्यपुस्तक छाप्न पायौँ, पहिले गरिआएका काम दिइयो भने दरबन्दीअनुसार पूर्ति गर्नुपर्ने हुन्छ । यसलाई पदपूर्ति गर्न अब लोकसेवाकै सहयोग लिनुपर्ने हुन्छ ।

–अहिले सबै कर्मचारीले नियमित तलब खान पाउँदैछन् कि, समस्या उस्तै छ ? 

अहिले कर्मचारीले २०७८ जेठको तलब खाँदैछन् । करिब १५, १६ महिनाको तलब खुवाउन सकेका छैनौँ । यो अन्तर चाहिँ घटाउँदै जाँदैछौँ । साझासँग दायित्व थुप्रै छ । पूर्वनिवृत्त कर्मचारीहरूको करिब डेढ १ करोड भुक्तानी गर्दैछौँ । अब साढे ३ करोड रुपियाँ जति बाँकी रहन्छ । नयाँ अवकाश प्राप्त गर्ने कर्मचारीलाई पनि तत्काल भुक्तानी गर्न सक्दैनौँ । तर पनि विस्तारै यसलाई घटाउँदै अगाडि बढ्ने अवस्थामा छौँ ।

–तपाईं त नेपाल सरकारको प्रशासक पनि भएको मान्छे, त्यहाँ र साझामा कर्मचारी परिचालन गर्न कतिको फरक पर्दो रहेछ ?

साझामा त पुस्तक नै सम्पत्ति हो । किताबको सङ्ख्या र त्यसको मूल्य नै यसको सम्पत्ति भयो । निजामती सेवा र यहाँको सेवाको प्रकृति पनि फरक पर्छ तर व्यवस्थापनको सिद्धान्त उही त हो नि ।

–तपाईंभन्दा अगाडिका सबै महाप्रबन्धकले सुधार्न नसकेर हिँडे । साझालाई नयाँ जीवन दिने कार्यमा कति सफल हुनुभयो जस्तो लाग्छ ? 

उहाँहरूले पनि आफ्नो समयमा प्रयत्न गर्नुभयो होला । तर जताततैबाट जर्जर भएको अवस्थालाई सुधार गर्न समय लाग्छ । मलाई पनि त्यही अवस्था आउन सक्छ । तर लेखक साहित्यकारहरूबाट साह्रै राम्रो सद्भाव पाएको छु, उहाँहरूबाट ठूलो अपेक्षा छ । म पनि साहित्यकार भएको र प्रशासनको अनुभव पनि भएको हुँदा र साहित्यकारहरूले अनुरोध गर्नुभएको हुँदा कोसिस गरिरहेको छु । तर एउटा व्यक्तिले मात्र गरेर केही हुनेवाला छैन ।

सञ्चालक समिति र कर्मचारीबाट जुन किसिमको माहोल बन्दैछ, त्यसबाट म आशावादी छु । अब अझ दूरावस्थामा जाँदैन । आधा निर्माण भएको केन्द्रीय भवन पनि पनि पूरा गर्ने प्रयास गर्दैछौँ । त्यसबाट पनि केही आम्दानी हुन्छ । त्यस्तै विभिन्न शाखामा रहेका जग्गाहरूमा पनि भवन निर्माण गरी आफ्नै भवनमा सारेपछि खर्चमा कटौती हुन्छ ।

–साझाबाट प्रकाशित हुने निकै लोकप्रिय पत्रिका गरिमा पुनः प्रकाशन सुरु भएको थियो ? फेरि बन्द हुने हल्ला छ नि ?  

प्रकाशन गर्दै बन्द हुँदै आएको हुँदा आम शुभेच्छुकले शङ्का गरेका हुन्, त्यो स्वाभाविक नै हो । म साझामा आउनेवित्तिकै साझा प्रकाशनबाट २०३९ साल पुसदेखि प्रकाशित भएको गरिमा प्रकाशित गर्छु भनेको थिएँ । यो साझा प्रकाशनलाई चिनाउने आधार पनि हो । गरिमामा एउटा सिर्जना प्रकाशित हुँदा गौरवान्वित हुन्थे । त्यति प्रतिष्ठित पत्रिका थियो गरिमा । त्यसैले अब यसलाई बन्द हुन दिँदैनौँ । बन्द हुँदैन ।