खसीबोका र राँगा ब्यापारमा बृद्धि

Avatar
admin

२०७९ आश्विन १२ गते, बुधबार १०:४९ मा प्रकाशित

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज १२ गते । चाडवाड नजिकिने क्रमसंगै महोत्तरीमा चौपायाँ ब्यापारल गति लिन थालेको छ । जिल्लाको एक मात्र चौपायाँ (मवेशी) बजार गौशालामा खसी र राँगाको ब्यापार बढेको ब्यापारीले बताएका छन् ।

ब्यापार बढेपछि पशु बजारका ठेकेदारले पनि खुसी छन् । पशु ब्यापारीका अनुसार झण्डै वर्ष दिनले यसको कारोवार ओरालो लागेको थियो । तर असोज लागेदेखि भने लयमा फर्कन लागेको छ ।

भैसी बजारका पुराना ब्यापारी संतोष झाकाअनुसार अहिले गौशालामा प्रति हाट ३० देखि ४० लाख मूल्यबराबरका राँगाको कारावार हुने गरेको छ । भदौसम्म त मुस्किलले २५/३० थान राँगाको खरिद विक्रि हुने गरेको झाले बताउनुभयो ।

अहिले प्रति राँगो न्यूनतम ५ हजारदेखि लाख रुपियाँसम्मको दरले किनबेच हुने गरेको ब्यापारीको भनाई छ । गौशालामा सोमबार र बिहीबार गरि साताको २ दिन हाट लाग्छ ।

भैसी बजारका ठेकेदार शत्रुघन महतोकाअनुसार अहिले बजारैपिछे राँगाको किनबेच बढदो क्रममा छ । दुईचार थारो भैसी पनि विकने गरेका छन् । गएको बिहीबारे हाटमा १ सय ४५ थान राँगा कारोबार भएको थियो । हिजोको सोमवारे हाटमा बढेर १ सय ७१ थान खरिदविक्री भएको उहाँले बताउनुभयो ।

राँगा बजार चालु आर्थिक वर्षको लागि डाक बढाबढमा ७५ लाख ५५ हजारमा नगरपालिकाले ठेक्का लगाएको छ । खसी बजारका ठेकेदार तलेबर साहकाअनुसार पनि दशै नजिकिएसंगै खसीबोकाको किनबेच बढेको छ । ठेकेदारको रेकर्डअनुसार सोमबारे हाटको दिन अपरान्हसम्म २ सय ५० थान खसीबोकाको कारोवार भएको थियो ।

विहिवारे हाटमा १४५ जति विकेका थिए । ‘भदौसम्म ५० थान पनि किनमेल नहुदा ठेक्कामा घाटा लाग्ने चिन्ताले सताएको थियो, अवभने त्यसको पनि ‘मेकअप’ होला जस्तो छ’, साहले भन्नुभयो ।

उहाँले पनि नगरपालिकाबाट ५१ लाखमा खसी बजार ठेक्का लिएको बताउनुभयो । ब्यापारीकाअनुसार अहिले चौपाया ब्यापार बढने कारण नजिकिदो दशै हो । अधिकांशले  दशैका लागि र केहीले पाल्नका लागि किन्ने गरेको २६ वर्षदेखि चौपाया ब्यापार गर्दै आएका सूर्य श्रेष्ठको भनाई छ ।

गौशालामा खरिद भएका धेरैजसो राँगा तथा खसीबोका काठमाडौं र त्यस आसपासका क्षेत्रमा खपत हुने गरेका छन् । सोमवारे हाटमा रागा बोकेर काठमाडौंसम्म जाने पीकअपको ताँती लागेको देखिन्थे । उनीहरुलाई ब्यापारीले खरिद गरेका रागा लोड गर्न भ्याइ नभ्याइ थियो ।

तर राँगा ढुवानीमा संलग्न पिकअप चालक सुदर्शन गौतमकाअनुसार केहीअगि सिन्धुली प्रहरीले वीपी राजमार्गको बाटोबाट चौपायाँ बोकेका पिकअप गुडन रोक लगाएपछि त्यसको असर गौशालाको पशु हाटमा परेको उहाको बुझाइ छ ।

सिन्धुलीको बाटो छोटो पर्ने हुदा ब्यापरीलाई गौशलादेखि काठमाण्डौको ढुवानी भाडा १४/१५ हजार भए पुग्छ । तर मुगलिनको बाटो जानु प¥यो भने दोब्बर बढी लाग्छ । त्यसैले घाटा लाग्ने भएपछि ब्यापारी नआउदा गौशालाका पशु ब्यापार ओरालो लागेको थियो ।

‘तर भदौ अन्तिमतिर प्ररीले बीपीको बाटो खुला गरेपछि पशु हाट लयमा फर्केदै गएको हो’ उहाँले भन्नुभयो । ब्यापारीकाअनुसार गौशालामा स्थानीय उत्पादनका साथै छिमेकी जिल्ला सर्लाही, धनुषा तथा भारत विहारको कोइली र भिष्वा बजारबाट चौपाया आपुर्ति हुने गरेका छन् । त्यस्तै खरिदकर्ता भने भारतीयबाहेक काठमाण्डौ, सिन्धुली र पोखरादेखि उदयपुरसम्मबाट आउने गरेका छन् ।

गौशालको पशु हाटले प्रत्यक्षरुपमा १ सयजनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनुका साथै, मासुको सहज आपुर्ति, किनबेचमा सुविधा र नगरपालिकालाई राजस्व बृद्धिमा उल्लेख्य योगदान पु¥याएको ब्यापारीको भनाई छ ।