दशैं बिदामा पनि स्वास्थ्य संस्था खुल्ला रहने

Avatar
admin

२०७९ आश्विन १५ गते, शनिबार १५:२९ मा प्रकाशित

राजन रावत

हुम्ला, असोज १५ गते । बडा दशैं २०७९ सुरु भइसकेको बेला शनिबारबाट स्वास्थ्य संस्थाहरू खुल्ला रहँदै आएका छन् । बिदाको समयमा पनि बिरामी उपचारका लागि आउने भएकाले स्वास्थ्य संस्था अनिवार्य सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम सञ्चालनमा आएका हुन् ।

सिमकोट गाउँपालिका –२ ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले शनिबारदेखि असोज २१ गतेसम्म बडा दशैको बिदामा पनि स्वास्थ्य चौकी सञ्चालन हुने बताउनुभयो । बिरामीलाई बिदामा पनि उपचार गर्न सहज होस भनेर स्वास्थ्य चौकी खुल्ला राखेर उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।

उक्त स्वास्थ्य चौकीमा शनिबार मात्र २० भन्दा बढी बिरामीहरू उपचारका लागि आउनुभएको थियो । बिरामीहरू स्वास्थ्य चौकीमा आउने सङ्ख्या वृद्धि भइरहेका कारण दशैं बिदामा चौबीसै घण्टा सेवा प्रदान गरिने उहाँले बताउनुभयो । यसका लागि दिनअनुसार स्वास्थ्यकर्मीलाई खटाइएको छ ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले चाडबाडको बेला मानिसहरू बिरामी हुने भएकाले गाउँ स्वास्थ्य संस्थाहरू बिदाको समयमा पनि खुल्ला राख्ने निर्णयअनुसार सञ्चालन गरिएको बताउनुभयो । सिमकोट गाउँपालिकामा चार वटा स्वास्थ्य चौकीसहित १२ वटा स्वास्थ्य संस्थाहरू छन् । उहाँले अरुबेला सेवा दिइरहेका स्वास्थ्य संस्थाले शनिबारबाट पनि सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरू खुल्ला राख्न सुरु गरेको बताउनुभयो ।

यता, खुर्पानाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले हाल गाउँपालिकाभरि खोप अभियान सञ्चालन भइरहेका कारण बिदामा पनि स्वास्थ्य संस्था खुल्ला राखेर उपचार गर्ने उहाँले बताउनुभयो । खुर्पानाथ गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थाहरू छन् । यसैबीच जिल्ला अस्पतालले पनि दशै बिदामा अस्पताल खुल्ला रहने जनाएको छ ।