कर्णालीमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुईमात्र महिला उम्मेदवार

Avatar
admin

२०७९ आश्विन २५ गते, मंगलवार १७:११ मा प्रकाशित

सुर्खेत, असोज २५, २०७९

कर्णालीबाट प्रतिनिधिसभा सदस्यका लागि जम्मा २ जनामात्रै महिला उम्मेदवार प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीले जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।


जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दैछिन् ।



दुवै जनाले संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय सरकारमा राज्यमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । कुँवर ०७० को दोस्रो संविधानसभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी थिइन् भने राप्रपा महामन्त्री शाही ०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र ०७४ मा ३ महिना सहरी विकास मन्त्री भएकी हुन् ।



दुवै जना पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लडेका थिए । जसमा कुन्ती दुवै पटक सफल भइन् भने गोमा पहिलो निर्वाचनमा असफल भए पनि दोस्रो पटक सफल भइन् ।

०५४ सालमा स्कुल पढ्दा–पढ्दै माओवादी जनयुद्धमा होमिएकी गोमाले आसन्न निर्वाचनलाई अवसर र चुनौतीको रुपमा लिएकी छन् भने लामो राजनीतिक संघर्षलाई पहिलो पटक जनताको अभिमतबाट अनुमोदन गराएर महिला र दैलेखी जनताका समस्या उजागर गर्ने पक्षमा छिन् कुन्ती । दुवै नेतृ पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका हुन् ।

गोमा भन्छिन्– खेलाडीले हार्छु भनेर मैदानमा उत्रिने होइन

जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मेकी गोमा १४ वर्षकै उमेरमा जनयुद्धमा होमिएकी हुन् । ०५६ सालमा सोही पालिकाकै वडा नम्बर ७ का वीरबहादुर कुँवरसँग उनले जनवादी विवाह गरिन् । वीरबहादुर पनि जनयुद्धमै सहभागी थिए ।

गोमाले रातोपाटीसँग भनिन्, ‘कुनै पनि खेलाडी म हार्छु भनेर खेल मैदानमा उत्रिने होइन, जित्न सक्छु भनेरै खेल मैदानमा उत्रने हो ।’

गोमाले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै गर्दा खुसीसँगै चुनौतीको रुपमा पनि लिएको बताएकी छन् । ‘एउटा पिछडिएको क्षेत्र अझ जुम्लाको विकट गाउँकी एउटा महिला, नितान्त रुपमा पहिलो पटक प्रतिस्पर्धाको मैदानमा होमिँदा ठुलो चुनौती त छ नै,’ उनले भनिन्, ‘सबै हिसाबले यो चुनौतीको विषय छ ।’

निर्वाचनलाई आफूले परीक्षाका रुपमा लिएको उनले बताइन् । महिलाले जित्न सक्दैनन् भन्ने भ्रम तोड्न पनि आफ्नो उम्मेदवारी सार्थक बन्ने उनको विश्वास छ ।

कुन्ती भन्छिन्– नागरिकले नयाँ अनुहार खोजेका छन्

कुन्ती शाहीको राजनीतिक यात्रा भने अनेरास्ववियुबाट सुरु भएको हो । ०४७ सालमा राप्रपामा लागेकी उनले राप्रपाको महामन्त्री बन्न झण्डै तीन दशक संघर्ष गर्नुप¥यो । उनको पारिवारिक पृष्ठभूमि पञ्चायती राजनीति नै भएकाले उनी राप्रपाको राजनीतिमा समावेश भएकी थिइन् । विद्यार्थी राजनीतिमा उनले नेपालगन्जको महेन्द्र बहुमखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन् । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् । राप्रपाको राजनीतिमा लागेको तीन दशपछि नायिका रेखा थापालाई पराजित गर्दै महामन्त्रीमा निर्वाचिन भएकी थिइन् । उनी दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्ने नेतृमा पर्छिन् ।

शाहीले रातोपाटीसँग भनिन्, ‘दैलेखको राजनीतिमा लामो समयदेखि उही अनुहार दोहोरिने गरेको छ, तर उनीहरुले संसदमा यहाँका नागरिकको सवालमा आवाज उठाउँदैनन्, खासै परिवर्तन हुन् सकेन भन्ने खालका जनगुनासा आएका छन् । जनताले नयाँ अनुहार खोजेकाले म बलियो उम्मेदवार हुँ ।’

शाहीसँग प्रतिस्पर्धामा रहेका एमाले नेता रविन्द्रराज शर्मा दोस्रो पटक चुनाव लड्दैछन् भने गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मर बहादुर थापा दैलेखका लागि पुरानै अनुहार हुन् ।