‘बढुवाका लागि प्रायोजित लेखकले समालोचना विधा विकृत तुल्याए’

Avatar
admin

२०७९ आश्विन २९ गते, शनिबार १२:३८ मा प्रकाशित

काठमाडौं,  असोज २९, २०७९

नेपाली समालोचनाका क्षेत्रमा स्थापित नाम हो, लक्ष्मणप्रसाद गौतम । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत छन् उनी ।


उनका ‘नन्दनको काव्यिक परिवेश’ (२०५२), ‘चितवनको साहित्य : सर्वेक्षण र विश्लेषण’ (२०५२), ‘सान्दर्भिक समालोचना’ (२०५७), ‘समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण’ (२०६०), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना (२०६६) लगायत करिब २१ समालोचनात्मक कृति प्रकाशित छन् । प्रस्तुत छ, प्राडा लक्ष्मणप्रसाद गौतमसँग वर्तमान समयमा समालोचनाको अवस्था, विधागत विशिष्टता, विकृतिलगायत विषयमा रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीः 



–हिजोआज के कार्यमा व्यस्त हुनुहुन्छ ? 



अध्ययन अनुसन्धानमै व्यस्त छु । विश्वविद्यालयमा एमफिल, पिएचडी पढाउने, अनि शोधार्थीहरूलाई निर्देशन दिने काममा वितेको छ । कहिलेकाहीँ बाहिरका विश्वविद्यालयका पाठ्यक्रम निर्माणका काम पनि आइपर्छन् । म्यानमारको नेपाली पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण गर्ने सम्पूर्ण जिम्मा मलाई दिइएको छ । यसको काम पनि भइरहेको छ ।

यस्तै करिब ७ सय पृष्ठको रत्न बृहत् नेपाली समालोचना पुस्तक सम्पादनले धेरै समय खायो । त्यो रत्न पुस्तकबाट प्रकाशनका लागि प्रेसमा गइसकेको छ । यस्तै करिब ६ सय ५० पृष्ठको नेपाली साहित्यको बृहत् इतिहास पनि जगदम्बा प्रकाशनले प्रकाशन गर्ने तयारी गरेको छ । समकालीन नेपाली कविताका प्रवृत्ति भन्ने मेरो आफ्नै पुस्तकको अन्तिम परिमार्जन गर्दैछु । यी तीनवटै काम मेरा विगत पाँच वर्षदेखिका साधना हुन् । समग्रमा प्राज्ञिक काममा नै दिनचर्या बितिरहेको छ ।

–यहाँले करिब दुई दर्जन समालोचनका कृति प्रकाशित गरिसक्नुभएको छ, यो विधा कतिको सरल या जटिल छ ? 

मानिसले सामान्य सोचेजस्तो तरिकाले गर्ने विधा होइन यो । यो अत्यन्तै जटिल विधा हो किनभने सिर्जना गर्नु पनि सामान्य कार्य होइन । तर कुनै स्रष्टाको सिर्जनाको गहिराइमा प्रवेश गरेर, सर्जकले भन्न खोजेको कुरा छिचोलेर उसले नदेखेका कुरा पनि आफूले देखेर प्रस्तुत गर्नुपर्छ ।

यसैले समालोचना भनेको सिर्जनामाथिको पुनः सिर्जना हो । त्यसैले एउटा सर्जकलाई प्रतिभा, कल्पना र भावना भए पुग्छ । तर समालोचकलाई त्यति मात्र भएर पुग्दैन । ऊसँग कल्पना पनि हुनुपर्छ । किनभने लेखकको कल्पनासँग उसले खेल्नुपर्छ । भावना पनि चाहिन्छ किनभने लेखकको भावनासँग उसले खेल्नुपर्छ । उसमा शास्त्रज्ञान पनि व्यापक रूपमा चाहिन्छ । किनभने सिद्धान्तलाई सिरानी नलगाईकन, सिद्धान्तको गहिरो अध्ययन नगरी समालोचना लेख्न सकिँदैन । जसलाई हामी व्युत्पत्ति भन्छौँ, शास्त्रज्ञान त्यो पनि चाहिन्छ ।

तर सबैभन्दा ठूलो कुरा तेस्रो दृष्टि चाहिन्छ । लेखकले भन्न खोजेको सामान्य कुराभित्र गहिराइमा पुगेर समाजलाई, जीवनदर्शनलाई, कुन चाहिँ विश्वदृष्टिलाई कसरी देखाइएको छ, त्यसको अध्ययनका लागि तेस्रो दृष्टि आवश्यक छ ।

सामान्य किसिमका समीक्षा गर्नु, लटरपटर खालका समालोचना गर्नु त जस्तो तरिकाले पनि हुन सक्ला । तर, गहन र प्राज्ञिक किसिमका समालोचना लेख्न यति कुराको तारतम्य मिलेको हुनुपर्छ र तद्नुरूप समालोचक अध्येता र पठनशील हुनुपर्छ । अनि बल्ल गतिलो समालोचना हुन सक्छ ।

 

–कतिपयले पुस्तकको भूमिका, कृति समीक्षा र समालोचनालाई एउटै धारणाले हेर्ने गरेका छन् । यी विधामा तात्विक भिन्नता कत्तिको छ ?

कृति समीक्षा, भूमिकालाई गहिरो स्थूल रूपमा हेर्दा ती समालोचनाका प्रकार हुन् । तर पुस्तक समीक्षामा पुस्तक प्रकाशित भएपछि आम पाठकलाई सामान्य सूचना दिने मात्र उद्देश्य हुन्छ । सूचनामूलक हुने भएकाले कृतिमा के छ, कस्तो छ र त्यसका केही कमजोरीसमेत देखाएर गरिएको छोटो समालोचना हो पुस्तक समीक्षा ।

यस्तै पुस्तकमा लेखिने भूमिका पनि धेरै किसिमका हुन्छन् । एकदमै लामा लामा करिब १५० पृष्ठसम्मका पनि भूमिका मैले पढेको छु । कुनै त्यस्ता गहन रूपमा, विस्तृत रूपमा भूमिका लेखिएका छन् भने ती गहन समालोचना नै हुन् । कुनै एक दुई पृष्ठका पनि भूमिका हुन्छन् ती पनि पुस्तक समीक्षाजस्तै पाठक प्रतिक्रिया हुन् ।

अखबारमा निस्किने पाठक प्रतिक्रिया, पुस्तक समीक्षा, विभिन्न साहित्यिक प्रतिक्रिया एक किसिमका पाठक प्रतिक्रिया हुन् । त्यो स्थूल रूपमा समालोचनाकै प्रकारभित्र पर्छन् । तर, भूमिका गहन समालोचनाको रूपमा पनि लेखिन सक्छ, त्यसको मूल्य समालोचनात्मक नै हुन्छ । त्यसैले, सामान्य पुस्तक समीक्षालाई एउटै श्रेणीमा राखेर समालोचना भन्न मिल्दैन ।

–अहिले नवप्रवेशी समालोचकहरू पनि निकै आएका छन् । एउटा समालोचकमा हुनैपर्ने मुख्य गुण के के हुन् ? 

पछिल्लो समय एकदमै क्षीण आयु भएका अखबारी शैलीका समालोचनालाई म मान्दिनँ । किनभने तिनको आयु अखबारको भन्दा बढी हुँदैन । अखबारको आयु भनेको बिहान ६ बजे ल्यायो भने १० बजेबाट सकिन्छ । भोलिपल्टबाट त्यो केजीको भाउमा बिक्री हुन्छ । त्यसका तात्कालिक मूल्य मात्र हुन्छ । अब शास्वत मूल्यका समालोचना गर्ने कि तात्कालिक मूल्यका समालोचना हेर्ने भन्ने हुन्छ । त्यसैले अहिलेका कतिपय समालोचक तात्कालिक मूल्यका समालोचनामा लागेका देखिन्छन् एकातिर ।

मैले देखेका केही नवप्रतिभा पनि वास्तवमा समालोचना लेखनतिर नलागी व्यावसायिक लेखनतिर लागेको देखेको छु । उहाँहरूलाई अलिकति आर्थिक रूपमा टेवा पुग्ला, आर्थिक समस्या आफ्नै ठाउँमा होलान् तर इतिहास बनाउने खालका समालोचना लेखौँ भन्न मलाई मन लाग्छ । गहन, गम्भीर अध्ययन गरेर लेखौँ ।

यस्तै कतिपय विश्वविद्यालयमा पढाउनेहरूले उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक हुनका लागि निश्चित प्रयोजनका लागि निकाल्नै पर्छ, निकालिन भने बढुवा हुन पाउँदिनँ भनेर लेखिएका समालोचनाका किताबले पनि खास्सै प्राज्ञिक मूल्य राख्दैनन् । यस्ता बढुवाका लागि प्रायोजित लेखकले समालोचानालाई विकृत तुल्याएका छन् । किनभने समालोचनाका लागि साधना र समर्पण चाहिन्छ, निरन्तरता चाहिन्छ ।

कतिपय समालोचकले एकै वर्ष पाँचवटा किताब प्रकाशित गर्छन् । त्योभन्दा पहिले कहिल्यै छापिएका हुँदैन । किनभने जुन दिन बढुवाको विज्ञापन खुल्छ, अनि लेखेर भटाभट छापेर सङ्ख्या पुर्याउने हुन्छ । त्यसका पाँच सात वर्ष अर्को बढुवाका लागि भनेर प्रकाशित गर्छन् । यसरी प्रायोजित रूपमा समालोचना लेख्नेहरूको सङ्ख्या पनि ठूलो छ ।

तर तिनले पनि सङ्ख्या पुर्‍याउने हुन्, समालोचनामा खासै योगदान पुर्‍याउन सक्दैनन् । समालोचक हुनका लागि नवप्रवेशीको  सङ्ख्या ठूलो छ । तर, त्यो सङ्ख्याभित्र गुण कति छ, त्यो हेर्ने कुरा हो ।

इतिहास निर्माण गर्न त गुणात्मक हुनुपर्छ । अत्यन्त गहन अध्ययन गरेर सर्जकले भन्न नसकेको तेस्रो कुरा के छ, त्यो सूक्ष्म दृष्टि अवलम्बन गरेर साधना र समर्पणका साथ लाग्न नवपुस्तालाई अनुरोध गर्छु ।

किनभने सामान्य पुस्तक समीक्षा, सामान्य समालोचनाको सङ्ख्या बढाउँदैमा समालोचनामा कुनै पनि योगदान हुन सक्दैन । नयाँ दृष्टिकोणले हेर्न सक्नुपर्छ । अहिले बसाइँ उपन्यासलाई सरसर्ती हेर्दा, बसाइँ उपन्यासमा समाजको चित्रण जस्ता समालोचनाले नयाँ केही दिँदैन । पुराना पुस्तकलाई पनि एकदम नयाँ सिद्धान्त, नयाँ चिन्तन, नयाँ दृष्टिकोणका साथ हेरिनुपर्छ ।

समालोचना भनेको ख्याल ख्यालको कुरा होइन, एउटा इतिहास बनाउने कुरा हो । मोतीराम भट्टलाई सम्झन्छौँ, यदुनाथ खनाललाई सम्झन्छौँ, रामकृष्ण शर्मालाई सम्झन्छौँ, वासुदेव त्रिपाठी, मोहनराज शर्मा, राजेन्द्र सुवेदीलाई सम्झन्छौँ । किनभने उनीहरूले केही गरेर गए ।

अब नयाँ पुस्ताले यस्तो काम गरौँ जसले समालोचनामा एउटा धार ल्याउन सकोस् । परिवर्तन ल्याउन सकोस्, नयाँ मोड ल्याउन सकोस् । तर त्यसका लागि अध्ययन र साधना चाहिन्छ । तसर्थ नवपुस्तालाई अलिकति अध्ययनशील भएर तेस्रो दृष्टिले हेरेर, अलिकति साधना र समर्पणको विधा हो भन्ने सोचेर त्यतातिर लाग्न अनुरोध गर्छु ।

–नेपाली समालोचनालाई स्थापित गर्ने व्यक्तित्व चाहिँ को को हुन्, जस्तो लाग्छ ?

यी यी हुन् भनेर नाम लिन भयङ्कर गाह्रो छ । तर, जसले परम्परागत रूपमा चलेको समालोचनाको धारलाई ठ्याक्कै परिवर्तन गरेर नयाँ अध्याय सुरु गरे, त्यो भने मानक समालोचना हो ।

नेपाली समालोचनाको प्रारम्भ गर्ने मोतीराम भट्ट हुन् । त्यसपछि यदुनाथ खनाल आए । रामकृष्ण शर्मा आए, बाबुराम आचार्य जस्ता व्यक्तित्व आए, जसले समालोचना क्षेत्रमा अत्यन्तै ठूलो योगदान दिए । उहाँहरूलाई हटाएर समालोचनाको इतिहास निर्माण गर्नै सक्दैनौँ ।

अलि पछि आएर कृष्णचन्द्र सिंह प्रधानले साझा समालोचना सम्पादन गरेर एउटा नयाँ युगकै आरम्भ गरे ।

त्यसपछि २०४८ मा आएर मोहनराज शर्माले शैली वैज्ञानिक समालोचना लेखेर ठ्याक्कै मोड नै परिवर्तन गरिदिनुभयो । यसले परम्परागत समालोचनामा ठूलो ‘ब्रेक’ दियो । वासुदेव त्रिपाठी, कृष्ण गौतम, गोविन्दराज भट्टराईलगायत धेरै यस्ता विशिष्ट व्यक्तित्वहरू छन्, जसले समालोचनाको इतिहास निर्माण गरे ।

पछिल्लो समय उत्तरआधुनिक प्रवृत्ति, बहुलवादी प्रवृत्ति, सांस्कृतिक समालोचनाका प्रवृत्तिहरू र अझ अहिले त पहिचानका प्रवृत्तिहरू आए । अहिले पहिचानवादी प्रवृत्ति समालोचनामा झन् टड्कारो भएर आएको छ । ‘समकालीन कवितामा पहिचानको स्वर’ भन्ने पुस्तक प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको छ । यस्ता किसिमका नवीन प्रवृत्तिहरू विभिन्न समयमा  आएका छन् । यो नेपाली समालोचनाका लागि महत्त्वपूर्ण प्राप्ति हो ।

यसर्थ जसले समालोचनामा नयाँ चिन्तन, नयाँ मोड, नयाँपन, नयाँ परिवर्तन, नयाँ दिशा र दृष्टिकोण दिन सक्यो, त्यो चाहिँ छानिँदै छानिँदै इतिहासबद्ध हुन्छ । बाँकी हराएर जान्छन् ।

 –अहिले समालोचनाको क्षेत्र ओझेलमा पर्दै गएको हो ?

सङ्ख्यात्मक दृष्टिले पछिल्लो समय निकै समालोचना लेखिएका छन् । अझ ७० को दशकमा त अति धेरै लेखिए । तर सङ्ख्यात्मक अनुपातमा गुणात्मक वृद्धि हुन सकेन । यी दुवै पक्ष समानान्तर रूपमा अगाडि बढेको भए निकै राम्रो हुन्थ्यो ।

यो सबै विधाको रोग हो । भर्खर मैले कविताको इतिहास लेखेँ । कविता सङ्ग्रह प्रकाशित गर्ने तीन हजार कवि त्यसमा समावेश छन् तर त्यहाँबाट तीन हजार राम्रा कविता छानौँ भन्दा पुग्दैनन् । समालोचनाको अवस्था पनि यस्तै छ ।

यति हुँदाहुँदै पनि पछिल्लो समय अत्यन्तै महत्त्वपूर्ण काम भएका छन् । हामीले रत्न नेपाली समालोचना सम्पादन गर्दा पनि प्रत्येक लेखकलाई शीर्षक दिएर लेख्न लगाएका छौँ । स्वतन्त्र लेख्न पाएका छैनन् उनीहरूले । नयाँ दृष्टिकोण आऊन् भनेर त्यसो गरिएको हो । त्यस्तै प्रज्ञा समकालीन नेपाली समालोचना छापिएको छ, कविता विमर्श प्रज्ञाबाट छापिएको छ, प्रज्ञा समकालीन कथा विमर्श छापिएको छ । यस्ता महत्त्वपूर्ण पुस्तक प्रकाशित छन्, जुन समालोचनामा अहिलेसम्म नदेखिएका, नआएका कुरा तिनमा आएका छन् ।

त्यसैले समालोचनामा निराश हुनपर्ने अवस्था छैन । पछिल्लो पुस्ता पनि केही नयाँ सम्भावनाका साथ आएका छन् । उनीहरूको समालोचना अझ सशक्त भएर अगाडि बढोस् भन्ने कामना गर्छु ।

–अहिले नवप्रवेशी समालोचकहरूले अध्ययन गर्नैपर्ने पुस्तक कुन कुन हुन् जस्तो लाग्छ ? 

त्यस्ता धेरै पुस्तक छन् । सबैको नाम लिइराख्न सम्भव छैन । खोज अध्ययन गर्नुपर्छ । समालोचनामा सबैभन्दा पहिला सिद्धान्तमा नै प्रस्ट हुनुपर्छ । नयाँ नयाँ सिद्धान्तको अध्ययन गर्नुपर्छ । त्यसका लागि रत्नावली बृहत् समालोचना भाग ३, समकालीन कविता विमर्श, समकालीन नेपाली कथा विमर्श, पहिचानका समालोचनाहरू, पछिल्लो समयका नवीन सिद्धान्तको अध्ययन गर्नु जरुरी हुन्छ । र सबैभन्दा ठूलो कुरा नवीन किसिमका प्रवृत्तिमा लेखिएका जुन सिर्जना छन्, त्यसको पनि अध्ययन गर्नुपर्छ । यी कुरा भए गहन समालोचना हुन सक्छ ।