ग्रामीण क्षेत्रमा भीर महको सिजन सुरु

Avatar
admin

२०७९ कार्तिक १५ गते, मंगलवार १३:०८ मा प्रकाशित

लमजुङ, कात्तिक १५ गते । लमजुङको ग्रामीण भेगमा भीर महको सिजन सुरु भएको छ । विशेषत पर्यटकीय गाउँमा भीर मह काढने गरिन्छ । गाउँपिच्छे फरक फरक भीरमा मह काढने चलन छ ।

सामुदायिक रुपमा भीर मह काढ्ने परम्परा छ । गाउँले मिलेर भीर मह र आपसमा बाँड्ने गरिन्छ । मस्र्याङ्दी गाउँपालिका –२ उपल्लो घनपोखराको थाम्रो भीरमा मह काढने तयारी गरिएको छ । यस काममा युवा सक्रिय छन् ।

बर्षेनी भीरमा मह काढ्दै आएको र यसबर्ष पनि मह काढने स्थानीय भक्तबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँबाट करिव एक घण्टामा पुग्न सकिने भीरमा झुण्डिएर मह काढिन्छ । सो भीर उपल्लो घनपोखराको आफ्नै मह भीर हो । करिव ७० घर रहेको गाउँका स्थानीय मिलेर मह काढ्ने गरेको बताउनुभयो ।

महका लागि मुख्य नाइके काशिप्रसाद गुरुङ र अन्य युवा खट्ने गरेका छन् । यसबर्ष कात्तिक ३० गतेबाट मह काढने योजना रहेको भक्तबहादुर गुरुङले बताउनुभयो । मह शिकारका लागि काशिप्रसादसँगै भक्तबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र ३० बर्षीय नन्दलाल गुरुङ खट्ने उहाँहरुको योजना छ ।

भक्तबहादुर १३ बर्षदेखि मह काढ्दै आएको बताउनुभयो । ‘गुरुङहरुले परापूर्वकालदेखि गर्दैआइरहेको पेशा हो । ‘अरु ठाउँमा हराउँदै गए पनि घनपोखरामा भने अझै जीवितै राखेका छौं’ उहाँले भन्नुभयो, ‘आफ्नो जुजुबाजेले गरेको कामलाई जोगाई राख्न र आन्तरिक तथा बैदेशिक पर्यटकलाई भित्र्याउने उद्देश्यले हामी युवाहरु मह काढेर यो पेशाको संरक्षणमा लागेका छौं ।’

अर्का युवा नन्दलाल गुरुङले आठ बर्षदेखि मह काढ्दैआएको बताउनुभयो । मह काढने  परम्परा रहेकाले यसको संरक्षणका लागि लागिपरेको उहाँले बताउनुभयो । हराउँदै गएको परम्पराको संरक्षणका लागि युवा एकजुट भएको उहाँको भनाइ छ । भीर मौरीको मह हरेक बर्ष दुई सिजन कात्तिक, मंसिर र बैशाख जेठमा हुनेगरेको उहाँहरुको भनाइ छ ।

छङ्गाछुर भीरमा निगालोको चोयाबाट निर्मित काठ राखेर बनाइएको डोरी (प्रों) मा झुण्डिएर मह काढिन्छ गुरुङले भन्नुभयो । ज्यानको बाजी राखेर परम्परागत तवरबाट मह काढिने गरिएको उहाँले बताउनुभयो ।