गाउँ रित्तिने खतरा

Avatar
admin

२०७९ कार्तिक १५ गते, मंगलवार १३:२६ मा प्रकाशित

भाइटीकाको झन्डै एक सातापछि अष्टमी र नवमीको दिनमा बैतडी दशरथचन्द नगरपालिका पुजारा गाउँमा रहेको त्रिपुरासुन्दरी देवीको मन्दिरमा ठूलो मेला लाग्ने गर्छ। पुजारा गाउँको टुप्पोमा चारैतिर डाँडाले घेरिएको, सलल बगेको महाकाली नदीको दृश्य, भारतका विभिन्न ठाउँको सजिलै अवलोकन गर्न सकिने अति नै रमणीय रातो रङमा सजिएको छ– त्रिपुरासुन्दरी देवीको मन्दिर। बैतडीको सदरमुकाम गढीबाट बसमा करिब २० मिनेटको दूरीमा रहेको मन्दिर पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत पनि छ। त्रिपुरासुन्दरीको भगवती मातालाई सात बहिनीमध्ये सबैभन्दा सुन्दर मानिन्छ। मन्दिरको सुन्दरता र वरिपरिको वातावरण अति नै मनमोहक छ।

कात्तिकमा लाग्ने जातका लागि बैतडी जिल्लाका विभिन्न ठाउँबाट राँगा, बोका भाकल गरेका बाजागाजासहित दुई दिन अगाडिबाटै मन्दिर आउने क्रम सुरु हुन्छ। यो मन्दिरमा आफ्नो मनोकामना पूर्ण होस् भन्ने मनसायले या मनोकामना पूरा भइसकेपछि बलि दिने चलन छ। कोही भने आफ्ना इच्छा, आकाङ्क्षा पूर्ण होऊन् भनेर मन्दिरमा होम भइराखेको ठाउँमा बलेको दियो हातमा लिई घण्टौँसम्म उभिने गर्छन् । नुहाइधुवाइ व्रत बसेर तीन दिन अगाडिबाट मन्दिरमा औराद (जाग्राम) बस्न थाल्छन्।

यो मन्दिरमा नानि जात् (सानो मेला) अष्टमीको दिनमा लाग्छ। यो दिनमा भाकल गर्नेहरू भाकल गरेको सरसमान, पैसा, राँगा, बोका वा देउकी जे भए पनि बाजागाजासहित मन्दिरमा आइपुग्छन्। यो दिन पनि मन्दिरमा ठूलो मेला लाग्छ। रातभरि मन्दिरभित्र देवीको पूजा गरिन्छ। धेरै टाढाबाट आफन्तकोमा बस्ने गरी आउनेहरू यही दिन मेलामा आइपुग्ने गर्छन्। भारतका विभिन्न ठाउँबाट समेत मेला हेर्न र भगवती माताको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तालु आउने गर्छन्।

कामको खोजीमा भारत पसेका युवासमेत एक्लै वा परिवारसहित नै मेलाका लागि घर आउने गर्छन्। तिहारका लागि छुट्टीमा घर आएका युवासमेत मेला नहेरी काममा फर्कन रुचाउँदैनन्। वैशाख लागेसँगै गहुँ काट्ने, मकै लगाउने, रोपाइँ गर्ने, असोजमा धान काट्ने, अन्नबाली थन्काउने, गाईबस्तुलाई खर काट्नेदेखि गहुँ लगाउने, खेतमा मल हाल्नेजस्ता कठिन काम सकाएर केही दिनका लागि छुटकारा पाएपछि गाउँले हर्सोल्लासका साथ मेला हेर्न बिहान सात बजे नै मन्दिर पुगिसक्छन्। गाउँघरमा मनाइने यस्ता चाडपर्वले देश–विदेशमा बस्नेहरूलाई झलझली गाउँको याद गराइरहेको हुन्छ। गाउँघरको स्वच्छ वातावरण, एकअर्कालाई मद्दत गर्ने बानी, चाडपर्व, ताजा आफ्नै खेतमा फलेका फलफूल तथा अन्नबाली, मूलको शुद्ध पानी कसैको अधीनमा नरही स्वतन्त्र रूपले काम गर्ने वातावरण नै गाउँघरका अमूल्य सम्पत्ति हुन्।

साँच्चिकै भन्ने हो भने गाउँमा लाग्ने मेलापर्व नै मनोरञ्जनका साधन हुन् गाउँलेका लागि। वर्षांैसम्म भेट नभएका माइती, आफन्त, इष्टमित्रसँग भेट गर्ने बहाना पनि हुन् सुदूरपश्चिमका मेला पर्व र जात्रा। मेलाबाटै उमेर पुगेका युवायुवतीले आफू सुहाउने वर खोजेर विवाह गरी घरजमसमेत गर्ने गरेका छन्। स्थानीय बासिन्दाका लागि आफ्नो बारीमा फलेका अन्नपात, फलफूल, राँगा, खसीबोका, घिउ आदि बेचेर घरखर्च चलाउन पनि मेला अति नै महìवपूर्ण हुने गरेका छन्। मन्दिरमा पूजा गर्नकै लागि लाग्ने मेला, जात्रा आस्थाका धरोहरसमेत हुन्। मन्दिरमा भगवान्का अगाडि गएर कतिपय मानिस रक्सी–चुरोट छोड्ने, झुट नबोल्ने, गलत काम नगर्ने, श्रीमती नकुट्नेजस्ता वाचा कसम खाएर सुध्रिनेसमेत गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा घुम्नलायक ठाउँ पनि थुप्रै छन्। खप्तडका ठूला फाँट, टे«किङका लागि बाजुराको बडिमालिका, अपिसाइपल हिमालको मनोरम दृश्य, रामारोशनका लालीगुरासँका थुँगा, मङ्गलसेन दरबार, उग्रसेन, निङ्लासैनी, त्रिपुरासुन्दरी देवीको मन्दिर, कञ्चनपुरको झन्डै १५ सय मिटर लामो झोलुङ्गे पुल, चराको मुख्य बासस्थान मानिएको घोडाघोडी ताल, रङ फेरिरहने झिलमिला ताल, मुख्य गरेर हरिण तथा कृष्णासारले भरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अपिनम्पा आरक्षजस्ता अनेकौँ मठमन्दिर, तालतलैया, गुफा, पहाड, वनजङ्गलले रमणीय बनेको छ– सुदूरपश्चिम प्रदेश। सुदूरपश्चिम प्रदेशको छुट्टै भाषा, कला, संस्कृति, रहनसहन छ। बच्चादेखि बूढासम्म सबैले गाउन सक्ने, सबैका मनमा बसिरहने देउडा गीत, गौरा पर्व पनि सुदूरपश्चिमका अमूल्य सम्पत्ति हुन्।

अहिले विश्वव्यापी तापमानमा वृद्धिलगायत विभिन्न कारणले लामो समयदेखि कृषि क्षेत्रमा लागेर पुस्तौँपुस्ता गाउँमै बसेकाहरू गाउँ छोड्न बाध्य भइरहेका छन्। वातावरणमा आएको परिवर्तनका कारण कतिपय फलफूल तथा अन्नबाली फल्न छाडेका छन्। कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आएकालाई यसले ठूलो समस्यामा पारेको छ। यसकै कारण धेरैजसो युवा गाउँ छोड्न बाध्य भइरहेका छन्। वर्षौं दुःख गरी परदेशमा दुई पैसा कमाएर पहाडबाट तराई झर्ने क्रम तीव्र रूपमा बढेको छ। यसले कैयौँ गाउँ उजाड हुन पुगेका छन्। गाउँमै बस्न खोज्नेका अन्नबाली रातदिनै जङ्गली जनावर आएर नष्ट गरिरहेका छन्। आफूले दुःख गरी फलाएको अन्नबाली भिœयाउन नपाउँदा किसान रुनु न हाँस्नुको अवस्थामा पुगेका छन्।

जङ्गली जनवारकै कारण बसाइँसराइ गर्नुपर्दा कतिपय स्कुल विद्यार्थीको अभावमा बन्द भइसकेका छन् भने कतिपय बन्द हुने सँघारमा पुगेका छन्। अछाममा घरवरिपरिका मलिला खेतमा बाँदर, बँदेल र भालुले खेती गरेर खान नदिएपछि कतिपय परिवार तराई झरेका छन्। राति जङ्गली जनावर धपाउन जाँदा धरापमा परेर वा तिनले आक्रमण गर्दा कतिपय किसानले ज्यानसमेत गुमाउनु परिरहेको छ। गाउँमा रहेका जम्मा पाँच जना बालबालिका बटुलेर त्यहाँकी एक शिक्षिकाले बालविकास कक्षा चलाइरहेकी छन्। थोरै बालबालिकालाई पढाउनुपर्दा एकातिर सरकारको लगानी खेर गइरहेको छ भने अर्कोतिर यस्ता कक्षा कामचलाउ मात्रै हुने गरेका छन्।

जङ्गली जनावरकै कारण गाउँघर रित्तिँदै गएका छन्। आफ्नो जमिन बाँझो रहनुभन्दा यत्तिकै कमाएर खाऊभन्दा पनि मान्छे पाउन छोडिसकेका छन्। गाउँमै बस्नेहरूले पनि जङ्गली जनावरका कारण आफ्नै जमिन बाँझो छोड्नुपरेको छ। एकातिर बिस्तारै गाउँघर खाली भइरहेका छन् भने अर्कोतिर तराईका मलिला फाँट कङ्क्रिट जङ्गलमा परिवर्तन भइरहेका छन्। यसले देशको खाद्य प्रणालीमा गम्भीर असर पु¥याउँदै गएको छ। गाउँघरमा पनि बिस्तारै पानी, बिजुली, यातायात, शिक्षा तथा स्वास्थ्य सेवाजस्ता अति आवश्यक वस्तु पुगिरहेका छन्।

जङ्गली जनावरकै कारण गाउँघर छोड्नुपर्दा पनि स्थानीय स्तरबाट किसानलाई गाउँमै टिकाइरहन र जङ्गली जनावरबाट तिनको अन्नबाली जोगाउन कुनै पनि प्रकारको सहयोग भएको देखिँदैन। जनताका पीरमर्का तथा समस्या बुझेर तिनको समाधानतिर लाग्नु जनप्रतिनिधको काम हो। विद्यालयमा विद्यार्थी नै नभएपछि शिक्षकको के काम भनेजस्तै जनता नै गाउँमा नरहेपछि त्यहाँका जनप्रतिनिधिको के काम ? भविष्यमा गाउँघरमा मनाइने चाडबाड तथा कला संस्कृतिले मात्रै गाउँका नागरिकलाई गाउँघरमा टिकाइराख्न मुस्किल हुनेछ। गाउँमा काम गरिखाने वातावरण नभएपछि हातमुख जोड्नकै लागि भए पनि गाउँले हिंडेपछि गाउँ पूर्ण रूपमा रित्तिँदै जानेछन्। यसतर्फ समयमै सचेत हुनु जरुरी छ।