‘स्वास्थ्य बुझेको र भिजन भएको युवा नेतृत्व चाहिन्छ’

Avatar
admin

२०७९ कार्तिक १५ गते, मंगलवार १४:०३ मा प्रकाशित

भएकै नीति र कानूनलाई कार्यान्वयन गरे मात्र पनि पुग्छ 

कमला गुरुङमंगलबार, कात्तिक १५, २०७९

काठमाडौं – पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मी हाल कुनै पनि सरकारी पदमा छैनन्। केही समय अघि उनी सरकारी सेवाबाट अवकास प्राप्त भएकी थिइन्।

कुनै पनि सरकारी पदमा नरहेपनि स्वास्थ्य क्षेत्रमा भइरहने उतार चढाव प्रति भने उनको चासो अहिले पनि उत्तिकै छ। नहोस् पनि किन। जीवनको करिब तीन दशक समय उनले स्वास्थ्य क्षेत्रमा खर्चिएकी छिन्।

स्वास्थ्यको नेतृत्व कसले गर्ला? कस्तो भिजन भएको व्यक्ति आउलान् भन्ने प्रति उनको चासो सधै रहन्छ। आगामी मंसिर ४ को चुनावलाई केन्द्रित गरी दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन्। जसमा स्वास्थ्य क्षेत्रका विषय निकै प्राथमिकतामा पनि राखिने गरिएका छन्।

स्वास्थ्यखबरले पछिल्लो केही समययता देशको स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलावद्ध रुपमा सामाग्रीहरु प्रकाशित गर्दै आइरहेको छ।

यही श्रृंखला अन्तर्गत यसपटक घोषणापत्रमा स्वास्थ्यका कस्ता विषय समेटिनुपर्छ? अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ? अबको नेतृत्व तहमा आउनेहरुले के कुरामा ध्यान दिन आवश्यक छ लगायतका विषयमा पूर्व स्वास्थ्य सचिव डा रेग्मीसँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

दलहरुले हाल घोषणापत्र जारी गरिरहेका छन्। उनीहरुले जारी गरेको घोषणापत्र कत्तिको हेर्नुहुन्छ ?

हुन त म राजनीतिक मान्छे होइन। म प्राविधिक मान्छे हुँ। तर यो हरेक कुरा यहाँ राजनीतिसँग ठोक्किन्छ। दलहरुले जारी गरेको घोषणापत्रहरु हेरियो। तर पहिलेको घोषणापत्र र अहिलेको घोषणापत्रमा केही फरक छैन। उनीहरुले गरेको बाचा बन्धनहरु उही छ। तर भाषा मात्रै अलग जस्तो छ। एउटै मान्छेहरुले सम्पादन गर्ने भएकाले हो की पहिले र अहिलेको घोषणापत्र उस्तै उस्तै छ।

देशभर चुनावी माहोल छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा पाँच वर्षअघि दलहरुले स्वास्थ्यका विषयमा जारी गरेका घोषणाहरु कति पुरा भएजस्तो लाग्छ ?

यो कुरा त पहिले घोषणापत्र जारी गरेका दलहरुले अहिलेको घोषणापत्रमै राख्नुपथ्र्यो। हामीले अघिल्लो चुनावमा यी–यी बाचा, प्रतिवद्धताहरु गरेका थियौँ। तीमध्ये यी बाचाहरु पुरा भए यी बाचाहरु पुरा हुन सकेनन् भनेर घोषणापत्रमै लेखिनुपथ्र्यो। हामीले यो काम गर्न सकेनौ भनेपछि जनताले मान्छन्। किनभने भनिएका सबै कुराहरु पुरा गर्न सकिन्छन् भन्ने पनि हुँदैन। तर दलहरु इमानदार हुनुपर्छ। तर यहाँ त जनतालाई धेरै आश्वासन दिएर जब दलहरु जितेर पदमा पुग्छन्। तब जनतालाई दिएका आश्वासनहरु पनि भुल्ने गर्छन्।

कुर्सीमा पुगेपछि जनतालाई आश्वासन दिएका दलहरुले तल फर्केर हेर्न फुर्सद नहुने रहेछ। दलहरुले ठूला ठूला आश्वासन दिनुभन्दा पनि पुरा गर्न सक्ने खालका घोषणा गर्नुपर्छ। दलहरुले यसअघि स्वास्थ्यका क्षेत्रमा गरेका घोषणाहरु पनि त्यति पुरा भए जस्तो लाग्दैन।

स्वास्थ्य सेवामा यहाँले लामो समय काम गर्नुभयो। सरकारी सेवामा रहँदा धेरै मन्त्रीहरुसँग काम गर्ने मौका पनि पाउनुभयो। काम गर्ने क्रममा कुन मन्त्री राम्रो र जनस्वास्थ्यप्रति गम्भीर पाउनुभयो ?

स्वास्थ्य क्षेत्रमा मैले २९ वर्ष काम गरे। त्यसमा पनि २२/२३ वर्ष मैले दुर्गम क्षेत्रमा काम गरे। दुर्गम क्षेत्रमा काम गर्दा मन्त्री को आए? सचिव को आए? भन्ने कुरासँग खासै मतलब नहुने रहेछ। दैनिक अस्पताल गयो, बिरामीको उपचार गर्‍यो अनि सकियो।

तर जब केन्द्रमा आएर निर्देशक भएँ। प्रमुख विशेषज्ञ हुँदै सचिव हुने अवसर पनि पाएँ। त्यसपछि भने मन्त्री को भयो? लगायत विषयमा चासो हुने रहेछ। किनभने सचिवको पदमा रहेर काम गर्दा नीतिगत तहमा रहेर काम गर्नुपर्ने हुन्छ। नीतिगत कुरामा भने मन्त्री को आए कस्तो आए भन्ने कुराले पनि धेरै अर्थ र महत्व राख्ने गर्छ।मेरो सचिवको कार्यकाल छोटो रह्यो। कार्यकाल छोटो भएपनि म मन्त्रालयमा प्रमुख विशेषज्ञको हैसियतमा पनि तीन वर्ष बसे। प्रमुख विशेषज्ञले पनि मन्त्रीसँग नजिक भएर काम गर्नुपर्ने हुन्छ।

मन्त्री भनेको एउटा पार्टीको व्यक्ति, मन्त्रालय आउने जाने भन्ने मात्र हुँदैन। धेरै महत्वपूर्ण जिम्मेवारी मन्त्रीको काँधमा हुन्छ। नीतिगत कुराहरुको निर्णय, मन्त्रिपरिषद, प्रधानमन्त्री समक्ष आफ्ना कुराहरु राख्नुपर्छ। सबैलाई रिझाउन सक्ने हुनुपर्छ। त्यो बेला जानकार मन्त्री हुन आवश्यक छ। अझ स्वास्थ्य क्षेत्र बुझेको व्यक्ति स्वास्थ्य मन्त्री भए धेरै राम्रो हुन्छ।

मैले धेरै मन्त्रीहरुसँग काम गर्ने मौका पाएँ। केही मन्त्रीहरुको काम मलाई राम्रो लाग्यो। जसमध्ये रामवरण यादव पनि एक हुनु हुन्छ। उहाँ स्वास्थ्यमन्त्री भएर आउँदा हामीले सन् १९९१ मा प्रथम राष्ट्रिय स्वास्थ्य नीति ल्यायौँ। यो स्वास्थ्य नीति यस्ता राम्रा राम्रा विषयहरु समेट्यो की अहिले त्यही कुराहरुलाई यता फर्काउने उता फर्काउने गरेका छौँ। त्यही स्वास्थ्य नीतिलाई हामीले गाउँघरमा पुर्‍यायौँ।

त्यसपछि अर्को स्वास्थ्य मन्त्री आउनु भयो। उहाँ स्वास्थ्य क्षेत्रको व्यक्ति हुनुहुन्थेन। तर उहाँको भिजन, उहाँको दख्खल, उहाँको ज्ञान, र उर्जा देख्दा मन्त्री भनेको यस्तो व्यक्ति हुनुपर्छ भन्ने लाग्थ्यो र, अहिले पनि लाग्छ। यी सब कुराको अनुभव मैले गगन थापा स्वास्थ्य मन्त्री हुँदा महसुस गरे। गगन थापासँग मैले लामो समय काम गर्न पाइन। ६/७ महिना काम गरे। तर व्यक्तिको पहिचान गर्न धेरै समय पनि काम गर्न नपर्ने रहेछ। गगन थापा स्वास्थ्य मन्त्रीभएपछि नीतिगत र स्वास्थ्य संस्थाको विकासमा लाग्नुभयो। एउटा विशेषज्ञ सेवालाई पनि उहाँले घरदैलोसम्म पुर्‍याउनुभयो।

उहाँ मन्त्री भएपनि जटिल खालको रोगको निःशुल्क उपचार ८ बाट १२ पुर्‍याउनु भयो। स्थानीय स्तरमा औषधि खरिद प्रक्रियालाई पनि उहाँले सहज बनाइदिनु भएको थियो। सरकारले त्यो बेला ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनेको थियो। तर गाउँघरका स्वास्थ्य संस्थामा भने ती औषधिहरुको अभाव हुन्थ्यो। त्यसमा औषधि खरिद गर्ने प्रक्रिया झन्झटिलो भएका कारण पनि औषधि अभाव हुने गर्दथ्यो। पहिला ७० प्रतिशत औषधि केन्द्रमा, १० प्रतिशत क्षेत्रीय निर्देशनालयमा र २० प्रतिशत मात्र जिल्लास्तरमा हुन्थ्यो। सबैभन्दा बढी खपत हुने ठाउँमा कम औषधि जाँदा समस्या हुने गर्दथ्यो।

यही समस्यालाई समाधान गर्न गगन थापाले एउटा कमिटी गठन गरेर तुरुन्तै औषधि खरिद गर्न मिल्ने सहजता गरिदिनु भएको थियो। एउटा दृष्टिकोण भएको मन्त्री हुनुहुन्थ्यो उहाँ। एउटा घटना मलाई याद छ। उहाँ र म जेनेभाको एउटा कार्यक्रममा गएका थियौँ। त्यो कार्यक्रममा मन्त्रीहरु अगाडी बस्छन्। सचिव पछाडी र अर्को लाइनमा अधिकारीहरु बस्ने गर्छन्। मन्त्रीले उक्त कार्यक्रममा नीतिगतदेखि अन्य कुराहरु राख्छन्। हामीले पछाडीबाट केही कुराहरु नोट गरेर उहाँलाई दिन्थ्यौ। उहाँले ती कुराहरु यति सहज र बुझ्ने गरी राख्नुहुन्थ्यो की उहाँ स्वास्थ्यको मान्छे हो की हामी भन्ने लाग्थ्यो। यो कुरालाई यसरी पनि हेर्न सकिदो रहेछ भन्ने पनि लाग्थ्यो।गिरिराजमणी पोखरेल पनि राम्रो दृष्टिकोण राख्ने मन्त्री हुनु हुन्थ्यो। तर कर्मचारीको सरुवा बढुवामा बढी रुमल्लिनु भयो जस्तो लाग्छ। नियम विपरित सरुवा बढुवाको कुरा आउँदा मैले मानिन। मन्त्रीको कुरा नमान्दा मन्त्रीसँग टसल भएर काम अगाडी जान सकेन।

पाँच वर्ष अघिको निर्वाचनपछि स्थायी सरकार बन्ने धेरैको अपेक्षा थियो। तर त्यसो भएन। यो अवधिमा दुई जना प्रधानमन्त्री र स्वास्थ्यमा १० जना मन्त्री भए। यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर गर्‍याे?

एउटा भिजन भएको, नीतिगत तहमा काम गर्न सक्ने खालको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ। तर सचिव र अन्य अधिकारीलाई सरुवा गर्ने तर्फ ध्यान दिनुहुँदैन। सचिव मात्र होइन, कुनै पनि विभागको निर्देशकहरुलाई दौडाइरहनु हुँदैन। यसले स्थायित्व आउँदैन। त्यसैले मन्त्री लगायत कुनै पनि अधिकारी छोटो समयमा परिवर्तन भइरहनु राम्रो होइन।

यहाँ स्वास्थ्य सचिव भएर पनि काम गरिसक्नु भएको छ। स्वास्थ्य प्रणालीको विकासको कुरा गरिरहँदा कहाँ कमजोरी देख्नुहुन्छ? अपेक्षाकृत सुधार किन हुन नसकिरहेको हो?

म स्वास्थ्य सचिव भएर काम गर्दा मेरो ६/७ महिनाको कार्यकालमा मैले तीन जना मन्त्रीहरुसँग काम गरे। कोही मन्त्री भएर आउनुभयो चुनावी प्रचार प्रसारमा जानुभयो। कोही बिना विभागीय मन्त्री रहेर जानुभयो। स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सम्बन्धी जानकार र युवा मन्त्री नै आउनुपर्छ। तब मात्र स्वास्थ्य क्षेत्रमा अपेक्षाकृत सुधारहरु हुन सक्छन्। पटकपटक मन्त्री परिवतर्न भइरहँदा र मन्त्रालय नबुझेको मन्त्री आउँदा स्वास्थ्य प्रणालीको विकास हुन सक्दैन।

अहिले हामी पुराना कानूनको आधारमा काम गरिरहेका छौँ। अब स्वास्थ्य प्रणाली नै परिवर्तन गर्नु पर्ने बेला आएन र ? अथवा नेपालको छुट्टै प्रणाली विकास गर्नुपर्ने आवश्यकता हो ?

हामी नेपालीहरु अन्य राष्ट्रले निर्माण गरेका राम्रा राम्रा नीति र कार्यक्रमहरु यहाँ पनि ल्याउँछौ। राम्रा पक्षहरुलाई समेटेर एउटा नीति र रणनीति बनाउने रहेछौँ। हेर्दा ती नीतिहरु साहैर् राम्रो लाग्छ। अनेक कुराहरु छन्। तर ती कुराहरु यहाँ लागू हुने लायक गर्नुपर्‍याे। संघीयता लागू भएपछि हामीलाई गाह्रो भयो काम गर्न सहज भएन भन्ने कुराको अन्य विकल्प नै छैन। बरु समन्वय गरेर काम गर्नुपर्छ। स्वास्थ्य प्रणाली र स्वास्थ्य संरचना बनाएका छौँ, त्यसैलाई लागू गर्दै जानुपर्छ। र गल्ती भएपनि सिक्दै सुधार गरेर जानुपर्छ। समन्वय नै गर्नुपर्छ। गैरसरकारी संस्थालाई पनि एकीकृत गरी परिचालन गर्नुपर्छ।

अब चुनाव मार्फत जितेर आउने दलहरुले स्वास्थ्य क्षेत्रको पनि विशेषगरी कुन क्षेत्रमा बढी केन्द्रित भएर काम गर्नुपर्छ ?

स्वास्थ्य क्षेत्रमा संरचनाहरु बनिसकेका छन्। कतिपय कुराहरु कागजमा सीमित छन्। एउटा मन्त्रीले गरेका कामलाई अर्को मन्त्रीले पनि निरन्तरता दिन सक्छन्। तर यहाँ यस्तो हुँदैन। मन्त्री अनुसारको काम र कार्यक्रम तय हुन्छन्। एउटाले सुरुवात गरेका कामलाई अर्कोलाई निरन्तरता दिन चाहदैनन्।

कसरी गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याउने? कति चिकित्सक चाहिन्छ? कति वटा मेडिकल कलेज चाहिन्छ? कसरी एसडीजी लक्ष्य प्राप्त गर्न सकिन्छ? कति बेजट चाहिन्छ? कति जनशक्ति चाहिन्छ लगायत सबै खाकाहरु, रणनीति, नीतिहरु स्वास्थ्य मन्त्रालयमा तयार छ। तर यी कुराहरु कार्यान्वयनमा आउँदैन। भएका नीतिहरुलाई कार्यान्वयन गरे मात्र पनि पुग्छ।

त्यसैले अब निर्वाचित भएर आउने प्रतिनिधिले भएका यी नीतिहरुलाई नै कार्यान्वयन गरेर अनुगमन गरे मात्र पनि पुग्छ। यो पाँच वर्षमा यति मात्र काम गरेपनि स्वास्थ्य क्षेत्र धेरै अगाडी जान सक्छ। यति मात्र गरे त हामी कहाँ पुग्छौं होला। यो सरकारले गरेको काम मैले गर्दिन भनेर अघि बढियो भने हामीले स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि हासिल गर्न सक्छौ।

अन्त्यमा स्वास्थ्य क्षेत्रको विकासका लागि यहाँको सुझावहरु के-के छन् ?

म स्वास्थ्य सचिव भएर आउँदा एउटा परिवर्तन हुन लागेको समय जस्तो थियो। देश संघीय प्रणाली अनुसार स्वास्थ्य क्षेत्र र संरचनालाई कसरी अघि बढाउनुपर्छ भन्नेमा केन्द्रित भएर काम गरिरहेका थियौँ। कुरा गर्दै जाँदा फेरि पनि गगन थापाको कुरा आउँछ। मैले उहाँसँग काम गरे। र, मलाई उहाँको काम गर्ने शैली मन परेको कारण उहाँकै कुरा आउँछ।

संघीयता लागू भएको धेरै वर्ष भइसक्यो तर अहिले पनि तीन तहका सरकारबीच समन्वयको अभाव छ। त्यो समन्वय राम्रोसँग गरियो भने राम्रो हुन्छ। प्रत्येक प्रदेशमा स्वास्थ्यका एक जना अनुभवी विज्ञलाई राख्नुपर्छ। अवकाश प्राप्त विज्ञहरुलाई पनि हामीले समावेश गर्न सक्छौ। म पनि अवकाश प्राप्त भइसके तर मलाई अझै पनि काम गर्ने जाँगर छ। तर सरकारले म जस्तो अवकाश प्राप्त व्यक्तिलाई प्रयोग नै गर्न सकेको छैन। विज्ञहरुलाई समावेश गरी एउटा कमिटी बनाउन सकिन्छ। त्यो कमिटीले सम्बन्धित प्रदेशको स्वास्थ्य प्रणालीको विकास गर्न धेरै सघाउ पुग्छ।