कैलाली–१ मा नागरिक उन्मुक्तिलाई सुरुवाती अग्रता

Avatar
admin

२०७९ मंसिर ५ गते, सोमबार १४:५० मा प्रकाशित

टीकापुर, मङ्सिर ५ गते । प्रतिनिधि सभा सदस्य कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । सोमबार दिउसो २ः०० बजेसम्म भएको ६०० मत गणनामा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई २६९ मत आएको छ ।

त्यस्तै, नेपाली कांग्रेसको रुखलाई १६०, नेकपा (एमाले) को सूर्यलाई ८४, राप्रपाको हलोलाई  ३७, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा ११ र मादलमा २ र शङ्खमा १ मत आएको छ । ३६ मत बदर भएका निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो । मतगणना इलाका प्रशासन कार्यालय टीकापुरमा भइरहेको छ ।

प्रतिनिधि सभा सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमालेका तर्फबाट पूर्व नगरप्रमुख उपेन्द्रबहादुर रावल लगायतका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिनिधि सभाको क्षेत्रमा ६४ हजार ९९९ मत खसेको छ । यहाँ एक लाख छ हजार ७०३ मतदाता छन् ।

प्रदेश (क) मा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज विनाडी, नागरिक उन्मुक्तिका कैलाश चौधरी, एमालेसहितको समर्थनमा जनता समाजवादीका भगतराम चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रदेश (ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल एमालेका द्वारिकाप्रसाद न्यौपाने, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस  नेता रावल २०७४ को निर्वाचनमा बाम गठबन्धनविरुद्ध कांग्रेसबाट विजयी हुनुभएको थियो ।