जब इरानका खेलाडीहरुले राष्ट्रिय गान गाएनन…

Avatar
admin

२०७९ मंसिर ६ गते, मंगलवार १२:२० मा प्रकाशित

इरान, मंसिर ६, २०७९

इरानका खेलाडीहरुले विश्वकप फुटबलको पहिलो खेलमा राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन् ।  खलिफा इन्टरनेशनल स्टेडियममा सरकार विरोधी प्रदर्शनको समर्थन गर्दै उनीहरुले राष्ट्रिय गान गाउन अस्वीकार गरेका हुन् ।


केही समर्थकहरूले राष्ट्रिय गान चलिरहेको समयमा कराएर असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले ‘महिला, जीवन, स्वतन्त्रता’ भन्ने नारालाई समर्थन गरेका थिए । राष्ट्रिय गान बजिरहेको समयमा इरानको सरकारी टिभीले गानको कभरेजसँगै स्टेडियमको वाइड सट पनि काटेको थियो ।



गत सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि दुई महिनादेखि चलेको राष्ट्रव्यापी विरोधका कारण इरान हल्लिएको छ । कुर्द मूलकी २२ वर्षीया इरानी अमिनीको तेहरानमा गिरफ्तार भएको तीन दिनपछि मृत्यु भएको थियो ।



इरानमा महिलाहरूको लागि पहिरनको नियम उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । ओस्लोस्थित इरान मानव अधिकार समूहका अनुसार अमिनीको मृत्युपछिको सरकारी दमनमा झण्डै ४०० जनाको ज्यान लिइसकेको छ ।