आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी

Avatar
admin

२०७९ पुष १४ गते, बिहीबार १२:१९ मा प्रकाशित

 कामकाजी महिलाले यसरी गराउन सक्छन्, स्तनपान
कमला गुरुङ बिहीबार, पुस १४, २०७९ 

काठमाडौं- शिशु जन्मिएको दुई वर्षसम्म स्तनपान अनिवार्य मानिन्छ। पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र अनिवार्य भनिए पनि एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउने आमाको संख्या घटिरहेको छ। कोही रहरले स्तनपान गराउँदैनन् त कोही बाध्यताले।

तर शिशुको वृद्धि विकासका लागि स्तनपान निकै महत्वपूर्ण रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी बाल रोग विशेषज्ञ एवं नवजात शिशु विभागीय  प्रमुख डा कल्पना उपाध्याय सुवेदी बताउँछिन्।

एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेको के हो? किन ६ महिनासम्म बच्चालाई आमाका दूध मात्र खुवाउने? फाइदा के छन्? लगायत विषयमा हामीले डा सुवेदीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेको के हो?
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनु हो। यो ६ महिनासम्म आमाको दूध बाहेक पानी पनि नदिने। अपवादको रुपमा बच्चा बिरामी हुँदा औषधि दिईन्छ। त्यो बाहेक आमाको दूध बाहेक अरु कुराको आवश्यकता पर्दैन। यो नै एक्सक्लुसिभ ब्रेस्ट फिडिङ हो।

६ महिनासम्म आमाको दूध मात्र किन आवश्यक छ? एक्सक्लुसिभ ब्रेस्ट फिडिङको महत्व के हो?
आमाको दूध बच्चाको लागि पूर्ण हो। बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहार तत्वहरु प्रोटिन, फ्याट, क्याल्सियम सबै आमाको दूधमा पाईन्छ। त्यो बच्चालाई चाहिने मात्रामा नै हुन्छ। प्रोटिन त गाईको दूधमा पनि हुन्छ। तर आमाको दूधमा भएको प्रोटिनलाई पचाउन बच्चालाई सहज हुन्छ। जसले गर्दा प्रोटिन पचाउन बच्चाको मिर्गौलामा भार पर्दैन। बाहिरबाट दिएको दूधबाट बच्चामा पर्न सक्ने जति पनि असरहरु छन्, ती असरहरु आमाको दूधमा हुँदैन।
जुन बच्चाले ६ महिनासम्म आमाको दूध मात्र खाएको हुन्छ, त्यो बच्चा भविष्यमा स्वस्थ हुन्छ। उसलाई तत्काल लाग्ने रोगबाट त बचाउँछ नै दीर्घकालमा लाग्न सक्ने दीर्घरोगहरुबाट पनि बचाउँछ। तत्काल हुने रोगहरु निमोनिया, झाडापखाला, कानको संक्रमण आमाको दूध खाने बच्चाहरुमा कम हुन्छ। पटक पटक झाडापखाला र निमोनिया भयो भने बच्चामा कुपोषण पनि हुन सक्छ। त्यसैले आमाको दूध खाने बच्चामा कुपोषणको समस्या पनि कम हुन्छ। दीर्घकालमा हुने उच्च रक्तचाप, मधुमेह जस्ता समस्याको जोखिम पनि हुन्छ। आमाको दूध मात्र खाने बच्चाहरु अरु बच्चाको तुलनामा मानसिक रुपमा पनि स्वस्थ राम्रो हुन्छ।

स्तनपानले बच्चासँगै आमालाई पनि फाइदा हुन्छ भनिन्छ? आमालाई स्तनपानले गराउने फाइदाहरु के-के छन्?
स्तनपानले बच्चासँगै आमालाई पनि फाइदा गर्छ। ६ महिनासम्म एक्सक्लुसिभ स्तनपान गराउने महिलाहरुमा गर्भ रहने संभावना पनि कम हुन्छ। स्तनपानले परिवार नियोजनको पनि काम गर्छ। आमामा हुने स्तन क्यान्सर, डिम्बाशयको क्यान्सरबाट पनि बचाउँछ। कतिपय आमालाई बच्चा जन्मिए सकेपछि हुने पोष्टपार्टम डिप्रेशनको समस्या पनि हुन्छ। त्यो समस्यालाई पनि स्तनपानले बचाउँछ। आमाको तौल घटाउन पनि मद्दत गर्दछ। त्यसैले स्तनपानले महिलाको सौन्दर्यता घटाउने होइन, झन् बढाउँछ।

आमाको दूध र फर्मूला मिल्क अर्थात् बट्टाको दूध खाने बच्चामा स्वास्थ्यका हिसाबले के फरक हुन्छ?
बट्टाको दूध खाने बच्चाहरु तुलना गर्दा मोटो जस्तो देखिन्छ। तर मोटो हुनु स्वास्थ्यको हिसाबले राम्रो होइन। बच्चा मोटो भयो भने राम्रो हुन्छ भन्ने धेरै आमाको बुझाई छ। बट्टाको दूध खानेभन्दा आमाको दूध खाने बच्चा तुलनात्मक रुपमा अघि पातलो जस्तो देखिन सक्छ। तर मोटो हुनुपनि एउटा कुपोषणको समस्या नै हो। बट्टाको दूध खुवाउँदा संक्रमणको संभावना पनि हुन्छ। किनभने तयार गर्ने क्रममा हात, बोतल सधै सफा छ÷छैन भन्ने हुँदैन। थोरै मात्र पनि हेलचक्र्याई भयो भने बच्चालाई विभिन्न संक्रमणको संभावना हुन्छ। सरफाईमा ध्यान दिन सकिएन भने समस्या हुन्छ। तर आमाको दूध खुवाउने क्रममा यी जोखिमहरु हुँदैन।

आमाको दूधमा मात्र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ। जुन बट्टाको दूधमा पाइँदैन। किनभने प्रतिरोधात्मक क्षमता जिउँदो कोषिकाहरुमा हुन्छ। तर बट्टाको दूधमा हुँदैन। कोशिस आमाको दूध जस्तै बनाउन खोजिएको हुन्छ। तर बट्टाको दूधमा हुने प्रोटिनहरु बढी हुन्छ। जुन आमाको दूधको तुलनामा धेरै हुन्छ। यसले बच्चालाई प्रोटिन पचाउन गाह्रो हुन्छ। र मिर्गौलामा पनि भार पर्छ। बट्टाको दूध खाने बच्चामा एलर्जीक रोगहरु पनि हुन सक्छ। तर आमाको दूध खाने बच्चामा कम हुन्छ। आमाको दूध र बट्टाको दूधको कुनै तुलना नै छैन।

बच्चा जन्मिएको कति घण्टाभित्र स्तनपान गराउनुपर्छ?
जतिसक्दो चाँडो भन्छौ। तर एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। किनभने बच्चा जन्मिने बित्तिकै सक्रिय हुन्छ। एक घण्टापछि बच्चा निदाउँछ। जन्मने बित्तिकै सक्रिय हुँदा जति बलले बच्चाले दूध तान्छ, पछि त्यति हुँदैन। त्यसैले एक घण्टापछि दूध खुवायो भने पहिले जति बलपूर्वक तरिकाले बच्चाले दूध खाँदैन। आमाको दूध जति तान्यो त्यति आउने हो। त्यसैले सुरुको एक घण्टाभित्र बच्चालाई आमाले दूध खुवायो भने राम्रो हुन्छ। जति छिटो खुवायो बच्चाले आमाको दूध खान त्यति नै छिटो सिक्छ र दूध पनि आउँछ। एक घण्टाभित्र आमाको दूध दिँदा बाहिरको दूध दिनुपर्ने संभावना घट्छ र ६ महिनासम्म एक्सक्लुसिभ स्तनपान गराउन पनि मद्दत गर्दछ।

दिनमा कति पटकसम्म र कति घण्टाको फरकमा आमाले स्तनपान गराउनुपर्छ?
दिनमा मात्र नभई रातको समयमा पनि आमाले स्तनपान गराउनुपर्छ। दिन र रातमा गरेर ८ देखि १२ पटकसम्म खुवाउनुपर्छ। बच्चा जति सानो उसलाई त्यति धेरै शक्ति चाहिन्छ। तर एकै पटक धेरै दूध खान सक्दैन। धेरै सानो र समय अगाडी जन्मिएको बच्चालाई दुई÷दुई घण्टाको फरकमा खुवाउनुपर्छ। महिना पुरा भएर जन्मिएको बच्चालाई तीन-तीन घण्टाको फरकको खुवाउँदा हुन्छ। यो भन्दैमा घडी हेरेर दूध खुवाउन पर्दैन। बच्चाले मागे अनुसार अर्थात् डिमान्ड फिडिङ गर्नुपर्छ। बच्चाले राम्रोसँग दूध खाएको छ भने २-३ घण्टासम्म पुग्छ। कुनै बच्चालाई दुई घण्टापछि चाहिएला त कुनै बच्चालाई ३ घण्टापछि दूध चाहिएला। त्यसैले भोक लागेपछि बच्चा उठेर दूध खोजे जस्तो गर्छ। त्यो बेला दूध खुवाउनुपर्छ। तर कुनै बच्चा चार घण्टापछि सुतिरहेको छ भने शरीरमा ग्लुकोजको मात्रा कम हुने डर हुन्छ। त्यसैले चार घण्टाभन्दा ढिला नगर्ने। त्यसैले दिन र रात गरी ८ देखि १२ पटक भनिएको हो। र, राति पनि उठेर खुवाउनुपर्छ।

अहिले धेरै महिलाहरु कामकाजी छन्। उनीहरुका लागि प्रत्येक २/३ घण्टामा स्तनपान गराउन संभव पनि नहोला।कामकाजी महिलाहरुले कसरी स्तनपानलाई नियमति बनाउन सक्छन्?
अहिले धेरै आमाहरु कामकाजी छन्। कामकाजी महिलाहरुले २÷३ महिनापछि काम गर्न सुरु गरिहाल्नु हुन्छ। काम गर्ने महिला भन्दैमा एक्सक्लुसिभ स्तनपान गराउन नमिल्ने भन्ने छैन। काम गर्ने कार्यालयमा स्तनपान कक्ष हुनुपर्छ। कुनै महिलाले ६ घण्टा काम गर्छिन् र म आफ्नै दूध खुवाउँछु भनेपनि संभव छ। उहाँले काममा जानुभन्दा अगाडी आफ्नो दूध निचोरेर राख्न सकिन्छ। कोठाको तापक्रममा ६ घण्टा र फ्रिजमा २४ घण्टासम्म राख्न सकिन्छ।

कतिपय महिलाहरुले बच्चा जन्मिएपछि दूध नआएको गुनासो गर्छन् अनि बट्टाको दूध सुरु गर्छन्। दूध नआउने समस्या किन हुन्छ?
आमालाई जहिले पनि बच्चाले धेरै दूध खाओस् भन्ने हुन्छ। तर सुरुको केही दिनमा आमाको जति दूध आउँछ, खुवाउनुपर्छ। सुरुमा थोपा थोपा गरेर दूध आउँछ। एकै पटक धेरै आउँदैन। एक दुई महिनाको सुत्केरी आमासँग तुलना गर्नु हुँदैन। सुरुमा धेरै महिलाको दूध थोरै नै आउँछ। र, आमाको जति दूध आउँछ, त्यतिले बच्चालाई पुग्छ।

स्तनपान गराउने सही तरिका कस्तो हुनुपर्छ?
दूध खुवाउने सही तरिका पनि हुन्छ। दूध खुवाउँदा आमाले बच्चालाई पुरै आफु तिर फर्काउने, बच्चाको पेट आफ्नो पेटमा छुवाउने र स्तनको पुरै कालो भाग बच्चाको मुखमा राखेर खुवाउनुपर्छ। बच्चाले कुनै बेला सुरुमा धेरै दूध तान्छ र एकछिन आराम गर्छ। अनि फेरि तान्न थाल्छ। तर कतिपय आमाले बच्चालाई दूध पुगेको भन्दै दूध निकालि दिन्छन्। तर बच्चालाई पुगेको हुँदैन। दिनरात गरेर ८ देखि १२ पटकसम्म दूध खुवाउने र हरेक पटक खुवाउँदा २० देखि ४० मिनेटसम्म खुवाउनुपर्छ। तर सुरुमा खाँदै छोड्दा आमाले बच्चालाई पुग्यो होला भनेर निकालिदिनु हुन्छ। अनि हामीले सोध्दा मेरो बच्चाले त आधा–आधा घण्टामा दूध खान्छ भन्नु हुन्छ। यो भनेको बच्चाले पेट भरेर खान नपाएको हो।
दूध खाँदा खाँदै बच्चा एकछिन निदाएको जस्तो गर्छ। विस्तारै कानहरु चलाइदियौँ भने फेरि दूध खान थाल्छ। एकदमै राम्रोसँग खाने बच्चालाई २० मिनेटसम्म दूध खुवाउँदा पुग्छ। तर विस्तारै खाने बच्चालाई ४० मिनेटसम्म खुवाउँदा पुग्छ। अगाडी र पछाडी आउने दूधमा पनि फरक हुन्छ। बच्चाले सुरुमा खाने दूधमा प्रोटिन बढी हुन्छ। तर पछिको दूधमा फ्याट चिल्लो पदार्थ बढी हुन्छ। जसले बच्चालाई लामो समयसम्म सन्तुष्टि दिन्छ।

सिजेरियन सेक्सन (शल्यक्रिया) मार्फत बच्चा जन्माएको महिलाले सुरुमा स्तनपान गराउन मिल्दैन भनिन्छ नी। यो भ्रम हो की सत्य हो?
यो गलत हो। अपरेशन गरेको आमा आफैँले बच्चालाई दूध खुवाउन सक्नु हुँदैन। तर उहाँलाई अरुको सहयोग चाहिन्छ। अपरेशन गरेपछि केही आराम भएपछि आमाले बच्चालाई दूध खुवाउन मिल्छ। अपरेशन गरेको आमाले पनि एक घण्टाभित्र स्तनपान गराउन संभव छ। अपरेशन गरेको आमामा दुखाई बढी हुन्छ। तर बच्चा आफ्नो साथमा आएर दूध खान थालेपछि मानसिक रुपमा पनि आमा सन्तुष्ट हुन थाल्छ।

स्तनपान गराउन नमिल्ने अवस्थाहरु पनि हुन्छन् की हुँदैनन्?
हुन्छन्। तर एकदमै कम मात्रामा हुन्छन्। कुनैमा बच्चा त कुनैमा आमाको कारण स्तनपान गराउन नमिल्ने अवस्था हुन्छन्। एन्टिसाइकोटिस औषधि खाने, स्तन क्यान्सर भएको र दूधबाट पिप आइरहेको आमाले स्तनपान गराउन मिल्दैन। तर यी कारणहरु पहिले नै थाहा हुन्छ। कतिपय महिलामा भने दूधमो मुन्टा भित्र गएको हुन्छ तर यसको पनि समाधान हुन्छ। यो बाहेक अन्य अवस्थामा आमाले दूध खुवाउन मिल्छ। कुनै बच्चाहरुमा सानै उमेरदेखि ल्याक्टोज पचाउन नसक्ने रोग हुन्छ। त्यस्ता बच्चाहरुमा आमाको दूध खुवाउनु हुँदैन। त्यो अवस्थामा चिकित्सकसँग परामर्श गर्न सकिन्छ।