‘भोको पेटले उमेर देख्दैन’

Avatar
admin

२०७९ पुष २३ गते, शनिबार १२:२१ मा प्रकाशित

ढल्केबर, पुस २३ गते । धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्षको हुनुहुन्छ। ज्यानले अशक्त उहाँ श्रीमती र परिवारको पेट पाल्न यतिका उमेरमा पनि कृषि मजदुरी गर्न बाध्य हुनुभएको छ। श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश हुनुभएको हो।

विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा बताउनुहुन्छ। उहाँले भन्नुभयो, “घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ। भोको पेटले उमेर देख्दैन।”

काम गरेबापत ज्यालामा साहुले आठ किलो धान दिने गरेको उहाँले बताउनुभयो। त्यही धानबाट छाक टार्ने र औषधि उपचार गर्नुपर्छ। भत्किँदै गएको घर देखाउँदै महराले भन्नुभयो, “यो घरबाहेक हाम्रो अरू कुनै सम्पत्ति छैन।”

साहु जगदीशले हरुवाचरुवा गर्ने र उब्जनी गरेर खाने सर्तमा पाँच कट्ठा जग्गा दिएको उहाँले बताउनुभयो। त्यसबापत उहाँले आफ्नो काम पनि लगाउनुहुन्छ। साहुले भनेको काम जसरी पनि गर्नुपर्छ। उहाँले आफ्नो दुखेसो सुनाउनुभयो।

महराको छ धुर जग्गामा बनेको फुसको घर छ। घरको केही भागको छाना र बेरा च्यातिएको छ। चिसो र वर्षाको पानी छल्न प्लास्टिक ओछ्याउनुभएको छ। उहाँ कान्छी श्रीमतीसँग त्यहाँ बस्नुहुन्छ। कान्छी र जेठीतर्फबाट गरी छजना छोराछोरी छन्। सबैले विवाह गरिसकेका छन्। “हामीलाई कसैले वास्ता गर्दैनन्। हामी बूढाबूढीलाई हेरचाह गर्ने कोही छैनन्”, महरा भन्नुहुन्छ।

सँगै बस्दै आएकी ७२ वर्षीया कान्छी श्रीमती महावती महरा १० वर्षदेखि अशक्त हुनुहुन्छ। उहाँ हिँडडुल गर्न सक्नुहुन्न। उहाँकै उपचार गर्न महराले तीन वर्षअघि गाउँकै मिथिलेश साहसँग एक लाख रुपियाँ ऋण लिनुभएको थियो। तमसुक बनाएर सयकडा तीनका दरले उहाँले ऋण लिनुभएको हो। उहाँले भन्नुभयो, “ब्याज जोडेर त्यो पैसा धेरै भएकाले त्यही साहुकोमा काम गर्दैछु। ज्यालाको धानले खानु कि कर्जा तिर्नु।”

गौरदाहा टोलकै ५० वर्षीय विन्देश्वर महरा पनि बँधुवा मजदुरका रूपमा काम गर्नुहुन्छ। उहाँ पनि गाउँकै रामकुमार मण्डलकोमा पाँच वर्षदेखि काम गर्दै आउनुभएको छ। साहुले उहाँलाई पनि हरुवाचरुवा गर्ने सर्तमा उब्जाउनका लागि पाँच कट्ठा जग्गा दिएका छन्। हरुवाचरुवा काम गरेबापत पाउने आठ किलो धानले नौ जनाको परिवार पाल्नुपर्ने विन्देश्वरको बाध्यता छ।

विन्देश्वरको आर्थिक अवस्था पनि दयनीय छ। उहाँ सात धुर जग्गामा बनेको एउटा सानो घरमा श्रीमती, चार जना छोराबुहारी र तीन जना नाति नातिनीसहित बस्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “आठ किलो धानले बाँच्न निकै समस्या छ।”

गौरदाहा टोलमा ७० भन्दा बढी घरपरिवार हरूवाचरुवा छन्। उनीहरू सबैको अवस्था अत्यन्तै पीडादायी छ। आर्थिक अभावमा चरम शोषणमा परेका छन्। सरकारले पटकपटक हरुवाचरुवा, हलिया, कमलरी, कमैया मुक्तिसँगै पुनःस्थापना गर्ने घोषणा गरे पनि कार्यान्वयनमा नआउँदा धनुषामा हरुवाचरुवाका रूपमा थुप्रै घरपरिवार श्रम बन्धकी लगाउन बाध्य छन्।