जापानी येन बनाउन नेपाली अर्गेली

Avatar
admin

२०७९ पुष २४ गते, आईतवार १४:२२ मा प्रकाशित

महेश्वर आचार्य
अर्गेलीको बोक्रा प्रशोधन गर्दै। तस्वीरहरूः लाक्पा शेर्पा

नेपालको उच्च पहाडी क्षेत्रमा पाइने वनस्पति अर्गेलीको बोक्रा जापान निर्यात हुने क्रम बढ्दो छ। अर्गेलीको बोक्रा जापानी नोट ‘येन’ छाप्न प्रयोग हुने गरेको छ।

वनमा सहजै पाइने अर्गेलीको बोक्रा पछिल्ला केही वर्षदेखि निर्यात हुने थालेपछि यसको व्यावसायिक खेती हुन थालेको सिन्धुपाल्चोकमा रहेको जुगल नेपाली कागज उद्योगका सञ्चालक बेनुदास श्रेष्ठ बताउँछन्। निर्यात बढ्दै जाँदा अर्गेली स्थानीयको आम्दानीको राम्रो स्रोत भएको उनी बताउँछन्।

“हाम्रो क्षेत्रबाट निर्यात हुने वस्तु नै यही मात्र हो,” दोलखाको गौरीशंकर गाउँपालिका–८ का अर्गेली किसान तथा संकलक लाक्पा शेर्पा भन्छन्, “अर्गेलीले बेचेर पालिकाको एउटा वडामा वार्षिक करीब २० लाख रुपैयाँ भित्रिन थालेको छ।”

नेपालमा अर्गेलीको बोक्राबाट कागज बनाइन्छ। स्थानीय प्रविधि प्रयोग गरी बनाइने उक्त कागजलाई नेपाली कागज भनिन्छ। नेपाली कागज विदेशी कागजभन्दा बलियो र गुणस्तरीय हुनाले विदेशमा राम्रै माग हुने गरेको नेपाल हस्तनिर्मित कागज संघ (हेन्डपास)का अध्यक्ष किरणकुमार डंगोल बताउँछन्। “नेपाली हाते कागज संसारमै उत्कृष्ट कागज गनिन्छ। जापानको कागज पहिलो नम्बरमा आउँछ भने नेपालको कागज दोस्रो वा तेस्रो नम्बरमा आउँछ‚” डंगोल भन्छन्‚ “अरुभन्दा विषेश भएकाले पनि विदेशबाट माग आउने गरेको हो।” भन्सार विभागको तथ्यांक अनुसार‚ २०७० सालदेखि अर्गेली निर्यात भएको हो।

गौरीशंकर–८ का व्यावसायी चेतबहादुर शेर्पा अर्गेली खेती हुन थालेपछि स्थानीयले दैनिक एक हजारका दरले दुई महीना काम पाउने गरेको बताउँछन्। उनले प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा २० जना गरी ४० जनालाई काम दिइरहेका छन्। “सामान्य काम गर्ने महिला कामदारले प्रतिकिलो २० रुपैयाँको दरले ज्याला पाउँछन्,” शेर्पा भन्छन्, “सिजनको दुई महीना सबैले काम पाउँछन्।” गाउँमा जनशक्तिको अभाव हुँदा स्थानीय रोजगार र आर्थिक उन्नतिको सम्भावना भए पनि अर्गेली खेती फस्टाउन नसकेको उनको भनाइ छ।

मित्सुमाताको विकल्प अर्गेली
जापानमा नेपालको अर्गेलीसँग मिल्दोजुल्दो वनस्पतिलाई मित्सुमाता भनिन्छ। मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग हुँदै आएको छ। अर्गेलीको रेशादार बोक्राबाट जापानी नोट, पासपोर्ट, खाम, हुलाक टिकट, कागज र कपडा समेत बनाइने अर्गेली जापान निर्यातकर्ता कान्पउ नेपालका रामगोपाल श्रेष्ठ बताउँछन्।

यो पनि पढ्नुहोस्

लोक्ताको रौनक
वनैभरि सहजै पाइने लोक्ता र अर्गेलीको उपयोगबाट ठूलो परिमाणमा पहाडे कागज उत्पादनको उद्योग खोल्न ढिला गर्नुहुन्न। लोक्ताबाट कागजका अतिरिक्त कपडा, झे…
शनिबार, ३ चैत, २०७४
पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, दोलखामा अर्गेली खेती हुन थालेको छ। पश्चिमीतर्फ बाग्लुङ, म्याग्दी, कास्की लगायतको जिल्लामा अर्गेलीको खेतीको सम्भावना रहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार अर्गेली तीन श्रेणीको हुन्छ। ‘क’ श्रेणीको प्रतिकिलो ५७५, ‘ख’ श्रेणीको प्रतिकिलो २०० र ‘ग’ श्रेणीको प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुन्छ।

समान्यतः १५ सयदेखि तीन हजार मिटरको उचाइमा पाइने अर्गेली प्रायजसो उत्तरी मोहडाको सेपिलो तथा पानी नजम्ने ठाउँमा पाइन्छ। झाडीदार सदावहार वनस्पति अर्गेली तीन मिटरसम्म अग्लो हुन्छ। जमीनको अवस्था अनुसार यो ससाना खण्डमा घना रुपमा पाइन्छ। पानी नजम्ने माटो, सेपिलो र ओझेल पर्ने ठाउँमा यो वनस्पति फस्टाउँछ। छिटो बढ्ने अर्गेलीको उचित व्यवस्थापन गरे ३० वर्षसम्म बाँच्छ। छिटो बढ्ने क्षमताका कारण यसले भूक्षय रोक्न तथा हरियाली बढाउन पनि विशेष भूमिका खेल्दछ। लेकाली बस्तीमा जंगली जनावरबाट खेतीबाली जोगाउन बारको रुपमा किसानले अर्गेली रोप्ने गर्छन्।

कात्तिकदेखि फागुनसम्म राम्रो गुणस्तरको अर्गेली उत्पादन हुन्छ। यस अवधिमा उत्पादन हुने अर्गेली बाफमा पकाउँदा राम्रो हुन्छ र रंग पनि सेतो हुन्छ। यस बाहेकको अवधिमा पाइने अर्गेलीमा पानीको मात्रा अधिक हुने र रंग पनि हरियो हुँदा गुणस्तर राम्रो मानिंदैन।

अर्गेलीलाई ठाउँ अनुसार अर्यौली, अरिली, अर्कले पात, तीनहाँगे लोक्ता, खोलेपात, जोखडे, रातो बरुवा आदि भनिन्छ। गुरुङ भाषामा पच्यार, तामाङ भाषामा वारपादी र शेर्पा भाषामा ध्यारपाती समेत भनिन्छ।

चिसो हावापानी भएको पाखो र बारीको कान्लामा लगाउन सकिन्छ। “अर्गेलीमा रोग, कीरा नलाग्नुका साथै बस्तुभाउले पनि खाँदैन‚” अर्गेली किसान लाक्पा भन्छन्‚ “रोपेपछि गोडमेल, सिंचाइको समेत आवश्यकता पर्दैन।” हिमाली क्षेत्रमा कृषिका अन्य विकल्प नहुँदा अर्गेलीलाई आयआर्जनको राम्रो स्रोत देखिएकाले स्थानीय सरकार र कृषि निकायले यसको प्रवर्द्धनमा सहयोग गर्नुपर्ने जुगल कागजका श्रेष्ठ बताउँछन्।

रोपेको पाँच वर्षपछि अर्गेलीको बोक्रा कागज बनाउन योग्य हुन्छ। डाँठको भित्री रेशादार बोक्रा कागज बनाउन प्रयोग हुन्छ। स्थानीय स्तरमा उपलब्ध प्रशोधन विधिमा अर्गेलीको बोक्रा गलाउन कठिन हुन्छ। गाउँघरमा अर्गेलीको बोक्रा डोरी तथा नाम्लो बाट्न समेत प्रयोग गरिन्छ। कहीं कतै यसको जरा खटिरा निको पार्न प्रयोग समेत गरिन्छ। अर्गेलीको बोक्रा र पात कुटेर निकालेको रस माछा मार्नका लागि विषको रुपमा समेत प्रयोग हुने गर्दछ।

ताप्लेजुङ‚ पाँचथर‚ इलाम‚ तेह्रथुम‚ दोलखा‚ रामेछाप‚ बाग्लुङ, म्याग्दी लगायत देशका ५५ जिल्लामा अर्गेली पाइन्छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको तथ्यांक अनुसार‚ २० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक एक लाख १० हजार ४८१ टन अर्गेलीको बोक्रा उत्पादन हुने अनुमान छ। तर, हाल उपयोग क्षमता एक हजार टन मात्र छ। एक हजार टन बोक्राबाट ३३० टन कागज उत्पादन हुन्छ। एक किलो ताजा र बयस्क बोक्राबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुन्छ। ताजा बोक्राबाट ३०० ग्राम उत्पादन हुन्छ।

त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)का बायोटेक्नोलोजिस्ट विजय सुवेदी पूर्वी नेपालमा अर्गेलीको ठूला सम्भावना रहेको बताउँदै व्यवस्थित खेती गर्नुपर्ने सुझाउँछन्। हालसम्म अर्गेली प्रशोधनका सबै काम परम्परागत ढंगले भइरहेकाले अब नयाँ प्रविधि अपनाएर पकाउने, सुकाउने, कागज बनाउर्नुपर्ने उनको सुझाव छ। “अहिले त सबै काम घरेलु ढंगमा हातैले गरिएको छ। त्यसमा मेहनत धेरै पर्छ। अबका दिनमा उन्नत प्रविधि अपनाउनुपर्ने देखिन्छ,” सुवेदी भन्छन्, “खेतीलाई पनि व्यवस्थित तरिकाले गर्दा दिगो र दीर्घकालीन फाइदा हुन्छ।”

अर्गेलीको खेती सहज भए पनि यसको प्रशोधनमा भने निकै ध्यान पुर्‍याउनुपर्ने सुवेदी बताउँछन्। चिसो मौसममा प्रशोधन गर्दा घाममा सुक्न नपाए ढुसीले बिग्रिन्छ। अर्गेलीको बोक्रा, पात, डाँठ र जरा उपयोगी हुने भए तापनि हाल यसको बोक्रा मात्र व्यावसायिक रुपमा उपयोगमा छ।

स्थानीय उत्पादनको प्रयास
नेपालमा हाते कागज बनाउने परम्परा चीनबाट १४औं शताब्दीमा भित्रिएको नारायण मानन्धरले आफ्नो पुस्तक ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’मा (पृ.५४) उल्लेख गरेका छन्। त्यो वेलादेखि नै नेपालमा परम्परागत रुपमा कागज बनाउने चलन रहेको उनको भनाइ छ। उनका अनुसार रसुवा र दोलखा आसपासका तामाङ समुदायले लोक्ताबाट कागज बनाउने नेपाली परम्परा हो।

नेपाली अर्गेलीको बोक्रा र हाते कागजको खपत बढाउन हेन्डपासले स्थानीय डिजाइनरहरूसँग मिलेर तालीम र कार्यशाला सञ्चालन गरिरहेको छ। “नेपाली कागजका नयाँ उत्पादन बनाउन विगतमा व्यावसायीले राम्रा डिजाइनर पाउन सकेका थिएनन् तर नयाँ पुस्ताका डिजाइन धेरै राम्रा छन्,” हेन्डपासका अध्यक्ष डंगोल भन्छन्, “बजारमा बिक्ने खालका नयाँ सामानको परिकल्पना र उत्पादन विकासका लागि तालीम सञ्चालन गरेका हौं। यसले स्थानीय बजारमा नेपाली कागजको माग बढ्ने अपेक्षा छ।”

नेपाली कागज बनाउँदै। तस्वीरः गोपेन राई
बढ्दो निर्यात
आर्थिक वर्ष (आव) २०७०/७१ मा ६० लाख २१ हजार ४५९ रुपैयाँको १४ हजार २२० किलो अर्गेलीको बोक्रा निर्यात भएको थियो। आव २०७१/७२ मा दुई करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको ५१ हजार ७८० किलो निर्यात भएको थियो। आव २०७२/७३ मा तीन करोड ५५ लाख ४२ हजार ९५ रुपैयाँ बराबरको ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको थियो।

आव २०७६/७७ मा ७४ हजार किलो र २०७७/७८ मा ७७ हजार किलो निर्यात भएको थियो। आव २०७८/७९ मा ९५ हजार किलो निर्यात भएको थियो।
https://www.himalkhabar.com/news/133847