आत्महत्या रोक्ने, तर कसरी? 

Avatar
admin

२०७९ माघ ५ गते, बिहीबार १२:२३ मा प्रकाशित

प्रमेश प्रधान
बिहीबार, माघ ५, २०७९  
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्। संगठनले ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरुमा हुने उल्लेख गरेको छ।

पुरुषभन्दा महिलामा आत्महत्या गर्ने प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या भने पुरुषको बढी छ। १५ देखि २४ वर्षका बालबालिका तथा युवायुवती र ७५ वर्षभन्दा माथिकाले आत्महत्या गरेको पाइएको छ।

नेपालको सन्दर्भमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ७ हजारभन्दा बढी व्यक्तिको मृत्यु आत्महत्याबाट भएको थियो र वर्षेनी आत्महत्याको दर बढिनै रहेको छ। यसैले पनि आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्याको रुपमा रहेको छ।

विभिन्न अध्ययन अनुसार आत्महत्या गर्नेमध्ये धेरै व्यक्तिहरुमा मानसिक समस्या प्रमुख कारण रहेको पाइएको छ। विभिन्न कारणमध्ये आनुवांशिक, मनोवैज्ञानिक र सामाजिक कारणहरु अध्ययनबाट देखिएको छ।

९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्यका कारणले हुने गरेको अनुसन्धानबाट देखिएको छ। त्यसमध्ये पनि धेरैजसो व्यक्तिहरुमा आत्महत्याको कारण उदासिनता र डिप्रेसन हुने गरेको छ।

परिवारमा कुनै सदस्यले आत्महत्या गरेको छ भने त्यसको असर पनि परेको हुन्छ। आत्महत्याका लागि प्रयोग हुने साधनको पहुँचमाथि नियन्त्रण गर्न सक्ने हो भने यस्ता घटनामा कमी ल्याउन सकिन्छ।

आत्महत्या आवेश तथा योजनाबद्ध जुनसुकै अवस्थामा पनि हुनसक्छ। योजनाबद्ध प्रायजसो डिप्रेसनमा देखिन्छ। प्रायजसो व्यक्तिले दिन, हप्ता र महिनौंसम्म योजना बनाएका हुन्छन्। व्यक्तिहरुमा निराशापन, सहयोगविहीन महसुस हुने, आशाविहीन सोच आइरहने वा आफू मूल्यहीन भएको ठान्ने आदि हुँदा आत्महत्याको जोखिम बढ्न जान्छ।

त्यस्तै असाधारण छटपटाहट भइरहने, कसैसँग नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ भने उक्त व्यक्तिमा आत्महत्याको जोखिम रहेको हुन्छ। बोर्डरलाइन तथा एन्टिसोसल स्वभाव भएका व्यक्तिहरुमा आफ्नो आवेश नियन्त्रण गर्ने क्षमता असन्तुलन हुने हुँदा आत्महानिको जोखिम उच्च हुन्छ।

आत्महत्या- आत्महानिको जोखिममा पहिले आत्महत्या-आत्महानिको प्रयास गरेका व्यक्तिहरु, उदासिनता, लागुपदार्थको प्रयोग, मदिरापानको लत तथा अन्य जटिल मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु, आर्थिक नोक्सानी, पारिवारिक द्वन्द्व, दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु जस्तै: क्यान्सर, भावनात्मक कठिनाइ भएका व्यक्तिहरु, युद्ध, हिंसा, आघातजन्य घटनामा परेका व्यक्तिहरु पर्छन्।

आत्महत्याका सम्भावित लक्षण:
–    आशाविहीन, सहयोगविहीन र मूल्यहीन, योग्यहीन महसुस गर्ने।
–     पहिले आत्महत्या-आत्महानिको प्रयास गरेका।
–     परिवार, इष्ट-मित्रहरुलाई बिदाई भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने।
–    मेरोबारेमा कसैले चिन्ता लिनु पर्दैन, म नभए पनि कसैलाई फरक पर्दैन, सुतेपछि कहिलै उठ्न नपरोस् जस्ता वाक्यहरु सामाजिक रुपमा व्यक्त गर्ने।
–    आफ्नो मृत्युबारे योजना सुनाउने।
–    आत्महत्या गर्ने माध्यमहरु जस्तै: विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरुको खोजी गर्ने वा अनावश्यक भण्डारण गर्ने।
–    विनाकारण एक्कासि धेरै खुसी हुने वा एक्कासि धेरै दु:खी हुने।
–    सामाजिक सञ्जालमा हिनताबोध र निराशाका पोस्ट लेख्ने वा सेयर गर्ने।

सहयोग कसरी गर्ने?
– खतराको सूचक, जोखिम र सुरक्षाका उपायहरु साथै स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्या रोकथाम गरी प्रत्येक जीवन बचाउन सकिन्छ।
– आत्महत्या सम्बन्धी सावधानी अपनाउने।
– सही सहयोग गर्न सक्ने-उचित परामर्श दिन सक्ने व्यक्तिहरु जस्तै मनोचिकित्सक, चिकित्सामनोविद्, मनोविमर्शकर्ता, स्वास्थ्यमा तालिम प्राप्त व्यक्तिहरुको सहयोग लिन प्रोत्साहन गर्ने।
– हेल्पलाइनको सहयोग लिने- ११६६।
– आत्महत्या तथा आत्महानिबारे खुलेर कुरा गर्ने।
– कसैले आत्महत्याको बारेमा कुरा गर्यो भने उसको कुरा पूर्वाग्रह नराखी गम्भीरतापूर्वक र गोपनीयता राखेर सुनिदिने।
– सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरन्जनात्मक क्रियाकलापमा भुलाउने।
– सामाजिक, आध्यात्मिक र धार्मिक क्रियाकलापहरुमा सहभागी हुने।

विभिन्न अध्ययनहरुले साइकोथेरापी जस्तै: कग्निटिभ विहेभियर थेरापी, डायलेक्टिभ विहेभियर थेरापी, सोलुसन फोकस्ड थेरापीको माध्यमबाट आत्महत्या-आत्महानिको जोखिम कम गर्न सकिन्छ। व्यक्तिहरुमा देखिने जीवनप्रतिको नकारात्मक सोच, हिनताबोध, निराशापन आउने सोचहरु तथा भावनात्मक अस्थिरताबाट उत्पन्न हुने आत्महत्या-आत्महानिको जोखिम कम गर्न साइकोथेरापीले रोकथाममा मद्दत पुग्छ।

यदि कुनै व्यक्तिले बारम्बार निराशाजनक कुराहरु गरिहने वा मर्न पाए पनि हुन्थ्यो जस्ता भाव भएका कुराहरु गर्छ भने उसमा आत्महत्याको विचार आएको हो कि भनी तुरुन्त उपचारको लागि समन्वय गर्नुपर्छ। समयमै गरिने सहयोगले जोखिममा रहेका हरेक व्यक्तिलाई बचाउन सकिन्छ।