रोनाल्डो र मेस्सीको खेल हेर्न ३३ करोडको टिकट

Avatar
admin

२०७९ माघ ५ गते, बिहीबार १२:३१ मा प्रकाशित

बिहीबार, माघ ५, २०७९

एजेन्सी – साउदी अरबका एक व्यापारीले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी सहभागी हुने मैत्रीपूर्ण खेलका लागि ३३ करोड नेपाली रुपैयाँ भन्दा बढी खर्चेर टिकट खरिद गरेका छन् ।

विहीबार हुने पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल स्टारबीचको मैत्रीपूर्ण खेलका लागि अक्सनमार्फत एक भीआइपी टिकट विक्रीमा राखिएको थियो । १० लाख साउदी रियाल (३ करोड नेपाली रुपैयाँ) बाट सुरु भएको बोलकबोल मंगलबार साँझ सकिएको थियो । अन्तिम बोली २६ लाख अमेरिकी डलर रहेको थियो ।

उक्त भीआइपी टिकट खरिद गर्नेले आफूले चाहेका खेलाडीसँग तस्विर खिच्न पाउने र खेलाडीको ड्रेसिङ रुम समेत प्रवेश गर्न पाइनेछ । यस अक्सनमार्फत आएको रकम एहसान नामक राष्ट्रिय च्यारिटीमा योगदान दिइने बताइएको छ ।

विहीबार नेपाली समय अनुसार रातको १०:४५ बजे सुरु हुने खेलमा पिएसजीका स्टार खेलाडी सबै मैदान उत्रने योजना छ । त्यस्तै साउदीको टोलीको कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्दैछन् । रोनाल्डोले अल नासरबाट डेब्यु गर्न बाँकी रहेपनि साउदी टोलीबाट खेल्ने भएका हुन् ।