जाडोको समयमा अनुहारमा चाया पोतोको समस्या किन बढी देखिन्छ?

Avatar
admin

२०७९ माघ ८ गते, आईतवार १४:५० मा प्रकाशित

आइतबार, माघ ८, २०७९ 

प्रश्न: जाडोको समयमा अनुहारमा चाया पोतोको समस्या बढी देखिन्छ नि! यस्तो किन हुन्छ?

डा धर्मेन्द्र कर्णको उत्तर : जाडोको समयमा अनुहारमा सुख्खापना बढ्छ। जाडोको समयमा घाममा धेरै बस्ने, कोठामा पनि झ्यलाढोका थुनेर बस्ने, मोवाइल तथा ल्यापटप नजिक राखेर हेर्ने गर्दा सूर्य, मोबाइल, ल्यापटपको प्रकाशले अनुहारको छालालाई क्षति गरिरहेको हुन्छ। त्यही क्षति रोक्न शरीरले आफ्नै छाता निकाल्छ। त्यही छाता हो चाया पोतो। चाया पोतो रोग होइन। हामीले शरीरको केयर गर्न नजानेर शरीरले आफैंले गरेको केयर हो।

बाहिरको तापक्रम घटेर चिसो हुँदै गएपछि हाम्रो शरीरले पनि शरीरको तापक्रम बाहिर निकाल्छ। जसले गर्दा हाम्रो शरीरमा भएको पानीको मात्रा पनि छिन्न हुन्छ। जसले गर्दा  हाम्रो छाला सुख्खा हुन्छ। जसरी जमिन सुख्खा हुँदा चिरा पर्छ, त्यसैगरी हाम्रो शरीरको छाला सुख्खा हुँदा पनि चिरा पर्छ। छाला चिरा पर्नु भनेको प्वाल पर्नु जस्तै हो, जहाँ विभिन्न किसिमका केमिकलहरु, किरा तथा ब्याक्टेरियाहरु छालामा प्रवेश गर्न र छालामा विभिन्न किसिमको समस्याहरु देखिन्छ। छाला चिरा पर्‍यो भने त्यहाँबाट शरीरमा भएको पानीको मात्रा पनि बाहिर आउँछ। जसले गर्दा छाला झन् झन् सुख्खा हुँदै जान्छ। यदी हामीले त्यो चिरा परेको भागलाई समयमा पुर्न सकिएन भने हामीले लगाउने क्रिम, साबुन, स्याम्फुहरु पनि छालाभित्र पस्छ र छालामा समस्या देखिन्छ। यस्तै बाहिरी वातावरणमा घुमफिर गर्दा विभिन्न किसिमको प्रदुषणले गर्दा त्यसको तत्वहरु छालामा प्रवेश गर्छ र एलर्जी हुन्छ। घामको बढी असर पर्छ र विभिन्न समस्याहरु देखिन्छ।

जाडोको समयमा सुख्खापनाको कारण पुरै शरीर चिलाउने, हातखुट्टाको औला सुन्निने, अनुहारमा चायापोतो बढ्छ, हातको पैतालाको पत्र– पत्र निस्किने, एक्जिमा देखिने, छालाको बाथ, ओठ पाक्ने समस्या बढ्नसक्छ।

यदी जाडोबाट जोगिनु छ भने आगो ताप्नुभन्दा पनि शरीरलाई न्यानो बनाउने, आफू बस्ने कोठालाई न्यानो बनाउने हो। शरीरलाई न्यानो बनाउनु अघि शरीरलाई सुख्खा राख्नु भएन। प्रत्येक दिन शरीरमा तेल वा मोस्चराइजर वा जेल लगाउनुपर्छ। पुरा शरीर ढाकिने कपाडा लगाउने र पानी प्रशस्त पिउनुपर्छ। कपडा लगाउदा न्यानोका लागि विभिन्न तह–तह भएको कपडा लगाउनुपर्छ। एउटै बाक्लो कपडाले भन्दा पातलो कपडा तह– तह भएको लगाउनुपर्छ। जसले गर्दा हावाको लेयर बस्छ र त्यसले न्यानो दिन्छ।यसलाई ओनियन स्टाइल भनिन्छ।

pharma and health expo

जाडोको समयमा कपालमा चाया पर्ने समस्या किन बढी हुन्छ?
हाम्रो शरीरको छाला जसरी पत्रपत्रले बनेको हुन्छ। कपाल पनि त्यही पत्रपत्रले कभर भएको हुन्छ। छालाजस्तै कपालको रौंको बाहिरी आवरण भनेको क्युटीकल हो। जुन पत्रपत्र अनुसार बनेको हुन्छ। जसरी जाडोमा छालाको बाहिरी आवरण सुख्खा हुन्छ। त्यसैगरी कपालको पनि सुख्खा हुन्छ र छुट्टिन्छ र पत्रहरु झर्छ।  जसले गर्दा पाप्राहरु झर्छ।  कपाल पनि क्युटिकल ओपन भएपछि  कपाल सुख्खा भएर कपाल टुक्रिन सक्छ। जाडो महिनामा कपालको पनि विशेष स्याहार गर्नुपर्छ। शरीरमा तेल वा मोस्चराइजर लगाए जस्तै कपालमा पनि तेलको आवश्यकता पर्छ।

जाडोको समयमा क्युटीकल लेयर सुख्खा भएर कपालमा चाया पर्नसक्छ। कपाल नुहाउनुअघि तेल लगायौं भने कपाल ड्यामेज हुन पाउँदैन। कपालमा तेल लगाएर केही समयपछि मात्र नुहाउने र कन्डिस्नरको प्रयोग गरेर कपाल पखाल्ने गर्नुपर्छ।  यती गर्दा कपालको बाहिरी आवरण सुरक्षित हुन्छ र कपाल सुख्खा हुन पाउँदैन र कपालमा चायाँ आउनबाट रोक्न सकिन्छ।