समालोचनामा आचारसंहिता : बहस कि बाध्यता

Avatar
admin

२०७९ माघ ९ गते, सोमबार ११:३५ मा प्रकाशित

साहित्यको एक विधा समालोचनामाथि आचारसंहिता लाग्छ, लाग्दैन अथवा लगाउने वा नलगाउने भन्नेबारे बहस गर्न सकिन्छ । भाषा, भाव, विषय सबै समाजमैत्री छन् तर एउटा जुङामुठे लेखकलाई समालोचक, समीक्षक वा जीवनी लेखकले ‘नारी स्रष्टा’ भन्छन् भने यस सन्दर्भमा पेसागत आचारसंहिता आवश्यक हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई ‘अनावश्यक बहस’ भनेर छाड्न मिल्दैन ।

आचारसंहिता कानुन होइन जो बाध्यकारी हओस् । अन्य पेसामा जस्तै पत्रकारितामा पनि संहिता आफ्ना लागि आफैँले बनाउने र अवलम्बन गर्ने सामूहिक आत्मसंयमता वा स्व–बन्धन हो । कुनै व्यक्तिको व्यक्तित्व तथा कृतित्वका विविध पाटामा समालोचना गरिन्छ भने समालोचकहरू सर्जकबारे अधिकतम जानकार हुनुपर्छ । जानकार भएर लेखिएको भए, कतिपय नेपाली ‘लेखक’हरू ‘लेखिका’ हुने थिएनन् । कम्तीमा म कुनै व्यक्तिलाई भौतिक रूपमा नभेटेसम्म, उसले लेखेका कृति पूरै नपढेसम्म वा ऊबारे अधिकतम जानकार नभएसम्म समालोचना लेख्दिनँ भन्ने स्वघोषणा वा स्वविनियममा समालोचक बस्नुपर्छ । यसलाई आचारसंहिता भन्न सकिन्छ । बनाउन सकिन्छ । यदि समालोचना ‘पेसा’ हो भने यसको पनि पेसागत आचारसंहिता बन्न सक्छ । बनाइनुपर्छ । लेखकले कुन सामाजिक–सांस्कृतिक परिवेशमा, कुन मनोदशामा, कुन देशकाल, परिस्थितिमा रचना सिर्जना गरेको हो भन्ने ‘फेनोमेनोलोजी’ अध्ययन नगरेसम्म समालोचक (दृष्टा) रचनाबारे छर्लङ्ग हुन सक्दैनन् । यसर्थ कृतिको समालोचना गर्नुपूर्व लेखक र लेखनीमाथि सामाजिक अध्ययन गर्नुपर्छ । समालोचनालाई प्राज्ञिक, वृत्तिविकास केन्द्रित, व्यावसाय प्रवद्र्धनात्मकजस्ता उद्देश्यका आधारमा विभाजन गरियो भने आचारसंहिता लागू गर्न सहज हुनेछ । व्यावसाय प्रवद्र्धनात्मक समालोचनालाई प्राज्ञिक समालोचनाको संहिता लागू गर्न आवश्यक छैन । जसको उद्देश्य व्यापार गर्नु हो ।

कसैले लक्ष्मीप्रसाद देवकोटा गरिब थिए भनिदिएकै भरमा नेपाली समाज यसैको पछाडि दौडेको धेरै भयो तर त्यो जमानामा साइकल चढ्न सक्ने, भात पकाउने दुईजना भान्छेबाहुनी राख्न सक्ने, दुई तीन ठाउँमा पढाउने देवकोटा र पुज्यारीलाई दिनहुँ मिठाइ–मसला दिनसक्ने श्रीमती देवकोटामाथि सामाजिक–आर्थिक अध्ययन गरेको भए कुन समालोचकले देवकोटालाई गरिब भन्थे ?

यस्तै खड्किएका धेरै प्रश्नहरू अनुत्तरित छन् । विश्वेश्वरप्रसाद कोइरालालाई धेरै समालोचकले सिग्मन फ्रायड (१८५६–१९३९) वादी भनेका छन् । कोइरालाका कृतिमा फ्रायडका चाप र छाप मात्र नदेखेर उहाँको व्यक्तिगत फेनोमेनोलोजी अध्ययन गरेको भए, नारीलाई सुन्दर चित्र देख्ने कोइरालाका अतृप्त यौन भोगाइ नै उहाँ लिखित साहित्यमा प्रयुक्त बिम्ब हुन् भन्न सकिन्थ्यो । लामो समय जेलमा रहँदा कोइराला भन्नुहुन्छ– “आज सुशीला, शैलजा, नोना वा अन्य नारी भेट्न आउने दिन.., त्यो दिनलाई उहाँ विशेष अनुभव गर्नुहुन्छ । भेटेर उनीहरू फर्कंदा नारी पृष्ठशरीर देखेर कोइरालामा जागृत मादकता, उनीहरूसँग भेटेपछिको कोइरालामा आएको उद्वेलन, छट्पटी, निःश्वासलाई कोइरालाको फेनोमेनोलोजी भनेर पढिएको भए कोइरालामा फ्राइडको चाप र छाप मात्र देखिने थिएन । कोइरालामा जेल, यौन उत्कण्ठा र यौनको सहज प्रवाहनका अनेक आग्रह देख्न सकिन्थ्यो । बाहुनी बजैमा कोइरालाको परिवेश पाउन सकिन्छ, फ्राइड होइन । कोइरालालाई जेलमा नथुनिएको भए, नारी–विश्वबाट अलग नराखिएको भए उहाँका लेखनीमा फ्रयाड देखिन्थे त ? रक्सी बोलललाई लाग्दैन, लाग्ने भए हरेक बोतल लठ्ठिनु पर्ने । रक्सी त मानिसलाई लाग्छ र मातिन्छ । हरलेखकलाई फ्रयाडको नशा लाग्दैन र फ्रायड नै सबै सर्जकका अनुभूतिका केन्द्र हुन् भन्नु सत्य हुँदैन । फ्राइड बोलत हुन्, कोइराला मानिस, अझमाथि लेखक र सर्जक । कोइरालालाई फ्राइडको नशा लाग्यो भन्नु सत्य नहुन सक्छ । कोइरालाको मस्तिष्कले फ्राइडका पुस्तक मात्र देखेका थिएनन्, परिस्थितिको बोध पनि गरेका थिए र तिनै बोधहरू साहित्यमा व्यक्त भएका हुन् भन्ने सत्य बुझिएन भने कोइरालालाई मात्र फ्राइडभन्दा एक चिम्टी वरपर देखिँदैन । समालोचना चिम्टी चिन्तन मात्र हुनसक्दैन ।

समालोचनालाई विज्ञान बनाउन सकिन्छ । सक्नुपर्छ । सामाजिक अध्ययन कुनै दिन ‘कला’ थियो । अगस्ट कम्ट (१७९८–१८५७) लगायतका विद्वान्ले समाजका घटना अध्ययन गर्ने विषयलाई ‘सामाजिक विज्ञान’ बनाए, सफ्ट साइन्स् । सामाजिक विज्ञानलाई धेरै हदसम्म आग्रहमुक्त विधा बनाइएको छ, भ्यालु फ्री विधा । सामाजिक विज्ञान नर्मेटिभ (वादमा आधारित) छैन बरु प्रत्यक्षवाद (पोजेटिभिजम्) मा यसले विश्वास गर्छ । अबको पुस्ताले समालोचनालाई भलै सयौँ अपवाद किन नहुन्, प्रयोगशालाबाट परीक्षण गर्न सकिने विधा बनाउनुपर्छ । प्राकृतिक विज्ञान (नेचुरल साइन्स्) प्रयोगशालामा जन्मन्छ र समाजमा विचरण गर्छ । अन्ततः विज्ञान प्रविधिमा परिणत हुन्छ । ठीक यसैगरी सामाजिक प्रयोगशाला (सोसल ल्याबबाट) परीक्षण गर्न सकिने गरी अबको समालोचना आउनुपर्छ । सामाजिक प्रयोगशालामा अध्ययनको कसी लगाइएको भए कथाकार देविका तिमिल्सिना ‘लेखिका’ हुने थिएनन् । कुरो यति हो ।

समालोचनाको अर्को आचारसंहिता हो– पूरै किताब नपढी समालोचना नगरौँ, समीक्षा नगरौँ । व्यापार प्रवद्र्धन ‘विजनेस प्रमोसन’भन्दा माथि उठाऔँ प्राज्ञिक समालोचना र समीक्षालाई । समय, श्रोता÷पाठक र ताली हेरेर समालोचना नगरौँ । मलामीको सङ्ख्या पनि नगनौँ । साहित्य हृदय प्रधानताको उपज हो तर समालोचना विधान वा विधि हो र त यो विज्ञान हो ।

तर एउटा घटना रोचक छ । एक जना सिकारु समालोचक (समीक्षक ?) ले नारी स्रष्टाद्वारा लेखिएको उपन्यासमाथि विचार व्यक्त गर्दै पुरुष (मानिस) लाई ‘खुट्टा उचालेर भित्तामा सुची गर्ने जात’सम्म भन्न भ्याए । सर्जक महिला, अर्की समीक्षक पनि महिला, अधिकांश महिलाश्रोता देखेर उनी यति भावावेशमा आए, लाग्थ्यो, उनमा ¥याडिकल फेमिनिस्ट हुनुपर्ने भूत सवार थियो । वर्तमान नेपाली महिला सर्जकले जति लेखेका छन्, समाजले लेख्नुपर्ने विषयवस्तु र दिनुपर्ने सन्देश नै  दिएका छन् । यसर्थ उनीहरू स्तुत्य छन् ।

तर जति लेखेका छन्, पुरुषको दलनलाई केन्द्रमा राखेका छन् । पितृसत्तात्मकको झ्याँको झारेका छन् । के यति मात्र सत्य हो ? सत्यको अर्को क्षितिज उघ्रिनु पर्दैन उनीहरूको हातबाट । भ्रूणहत्या नारीको सहमतिबिना सम्भव छ ? आमाले बच्चाको हत्या गरेकी छैनन् ? कि छाडेर अन्त गएकी छैनन् ? के महिला चरित्रबाट निर्दोष समाज तथा व्यक्ति दण्डित छैनन् ? खोइ यस्ता विषयमा बोलेका तालीबाला समीक्षक वा समालोचकले ? आमाले बच्चा मार्लिन् तर आमात्व अर्थात् मातृत्वले यसो गर्दैन, नारीले नानाथरि गर्लिन् तर नारित्व सत्यभन्दा एक इन्च तल गिर्दैन भन्ने सन्देश पनि त नारी लेखनमा आउनुपर्ने हो नि । समीक्षाहरू यति भन्न त आग्रह मुक्त (भ्यालु फ्री) हुनुपर्छ । समालोचनालाई नैतिक शिक्षा वा वादीय दृष्टिकोण बनाउनुहुन्न भने यसलाई नर्मेटिभ होइन पोजिटिभ विधा बनाउनुपर्छ । समालोचना/समीक्षाको अर्को आचारसंहिता यसलाई बनाउन सकिन्छ । यो भनेको सामाजिक÷साहित्यिक अनुसन्धानपूर्वपालना गर्नुपर्ने सर्त ‘साहित्यको फेनोमेनोलोजी’ अध्ययन हो र कन्टेन्टलाई सामाजिक प्रयोगशालाबाट सिद्ध गर्नुहो । प्रयोगशालाबाट हेरियो भने शिशु हत्या गर्ने बाबु तथा आमाहरूको तुलनात्मक ग्राफ उतार्न सकिन्छ । यस्ता सन्दर्भमा तथ्याङ्क बोल्छन् र समालोचनालाई प्रत्यक्षवादका आँखाले बुझ्न सकिन्छ । अन्यथा २०७९ को आँगनमा उभिएर वध–शिक्षाको खोइरो खनेजस्तै पुरुषलाई भित्तामा ‘सुसु गर्ने जन्तु’ बताएर तालीको व्यापार गर्न सकिन्छ, जो समालोचनाको कोरेना (कोभिड) हो ।

तर वर्तमान अनुहारमा विगतको पोस्टर टाँसेर समालोचनाको बुख्याँचा उभिएको छ । कुरो यति हो, समालोचना÷समीक्षालाई विशुद्ध कला मात्र बनाउने कि विधिसहितको विज्ञान ? यो अबको बहस हुनुपर्छ । पत्रकारितामा कुनै पक्षको सुविधा लिएर समाचार बनाउन हुँदैन भनिन्छ । सुविधा लिइएको भए पाठकलाई कुनै न कुनै तरिकाले सुविधाबारे जानकारी दिनुपर्छ भन्ने मान्यता राखिन्छ । दाम दिएर लेखाइएका भूमिका, दारु पिलाएर गराइएका वा गरिएका समालोचना लेख्दै गर्दा कलमको निब वा किबोर्डलाई कति आग्रहमुक्त गर्न सकिन्छ ? यही प्रश्नको वरिपरि रहेर समालोचनाको आचारसंहिता खोज्नुपर्छ । बनाइनुपर्छ ।