समाजसेवाको बढ्दो दायरा

Avatar
admin

२०७९ माघ ९ गते, सोमबार ११:५३ मा प्रकाशित

मानव सेवाको महत्त्वपूर्ण अंश समाज सेवा हो । मानिसले समाजसेवालाई विभिन्न दृष्टिकोणबाट हेर्ने गर्छन् । समाजसेवालाई सकारात्मक/नकारात्मक दुवै रूपमा हेर्ने गरिन्छ । समाजसेवा भिन्न प्रकारका हुन्छन् । कोहीले अरूले सहयोगमा समाज सेवा गर्छन् भने कोही व्यक्ति आफ्नै खर्चमा समाजसेवा गरिरहेका हुन्छन् । काठमाडौँ २ (१) बागमती प्रदेशका प्रदेश सभा सदस्य सुनील केसी भने समाजसेवा अरूले दिएको सहयोगबाट भन्दा पनि आफ्नै खर्चले समाज सेवा गर्ने मध्येका हुनुहुन्छ । २१ वर्षसम्म समाजसेवा गर्नुभएका केसी गत वर्ष चैत ४ गते पार्टी राप्रपा नेपालमा प्रवेश गरेर टिकट पाएपछि काठमाडौँ, क्षेत्र नम्बर २ (१) बाट निर्वाचित हुनुभएको हो । उहाँको राजनीतिमा लामो इतिहास छैन । चार÷पाँच महिनाको राजनीतिले उहाँलाई प्रदेश सभा सदस्य बनायो । लाएन्स क्लब, सामाजिक क्लबमा काम गर्दागर्दै केसी राप्रपामा प्रवेश गर्नुभयो । मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्यको निर्वाचनमा उहाँ विजयी हुनुभयो । भूकम्प होस् या कोरोना, अस्पतालमा पैसा नभएर छट्पटाइरहेका बिरामीहरूको स्याहारमा समेत उहाँले सहयोग गर्दै आउनुभएको छ । राजनीतिक भन्दा पनि सामाजिक कामले गर्दा उहाँ समाजमा परिचित हुन सफल हुनुभयो । केही महिना अघि पार्टी प्रवेश गरेर प्रत्यक्षमा निर्वाचित हुन उहाँ सफल हुनुभएको छ । केसीले काभ्रेकोे चौभास, सिन्धुपाल्चोकको दुवाचौर, नुवाकोटको गेर्खु, ललितपुरको लाकुरी भन्ज्याङमा भूकम्प पीडितलाई राहत बाँड्ने काममा जुट्नुभयो । विभिन्न वृद्ध तथा बाल आश्रममा रहेका असहायलाई खाना खुवाउनेदेखि उनीहरूलाई लत्ताकपडा समेत उहाँले व्यवस्था गर्नुभयो ।

सामाजिक युवा क्लब, सरस्वती क्लबजस्ता क्लबमा बसेर समाजसेवा गरेको अनुभव छ उहाँको । सामाजिक क्लबको युवा क्लबको उपाध्यक्ष हुँदै फुटबल खेललाई पनि अगाडि बढाउनुभयो उहाँले । केसीले सामाजिक क्षेत्रमा आँखा स्वास्थ्य शिविर, स्वास्थ्य शिविरजस्ता कार्य सम्पन्न गर्नुभएको छ । त्यति मात्रै होइन, कोरोनाकालमा आफ्नै खर्चमा राहत वितरणसमेत गर्नुभएको थियो । कोरोनामा दैनिक तीन, चार सय बोरा चामल राखेर समेत बाँड्नुभएको थियो । केसीले विभिन्न मठमन्दिर बनाउनदेखि सामुदायिक प्रहरी भवन बनाउनसमेत सक्रिय रूपमा लाग्नुभएको थियो । किरियापुत्री भवन बनाउन पनि उहाँले ठूलो योगदान गर्नुभयो । भूकम्प जाँदा धेरै जिल्लामा जानुभएका उहाँलाई समाजसेवामार्फत सबैले चिन्ने मौका पाए । जहाँ सबैभन्दा बढी क्षति भएको स्थान काभ्रेको सिपाचिलाउनेमा गएर धेरै दिनसम्म बस्नुभएको छ । समाजसेवालाई मनिसले आ–आफ्नो बुझाइअनुसार लिने गर्छन् । प्रदेश सभा सदस्य केसीले रामेछाप, ओखलढुङ्गा, धादिङ जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुभयो । यस्तै उपचार नपाएर छट्पटिएकालाई सहयोग गर्नुभयो । समाजसेवाबाट नै आममानिससित चिनिन सफल केसी अरूको सहयोगमा समाजसेवामा लाग्नुभएको होइन । म आफ्नै पैसामा समाजसेवा गर्ने व्यक्ति हो ।

अरूको सहयोग लिएर समाजसेवा गर्नुलाई समाजसेवा भनिँदैन, केसीले भन्नुभयो, “जति गर्न सकिन्छ आफ्नै बलमा समाजसेवा गर्नु राम्रो हो । पुख्र्यौली घर काठमाडौँको थापागाउँ भए पनि हाल केसी कोटेश्वरमा बस्नुहुन्छ । कोटेश्वरमा समाजसेवा गर्दै उहाँलाई आमनागरिकले चिन्ने मौका पाए । राजनीतिमा छोटो अनुभव रहे पनि सामाजिक काममा भने उहाँ विगत २१ वर्षदेखि लाग्दै आउनुभएको छ । पहिले राजनीति भन्ने केही थाहा थिएन । समाजसेवा मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गर्न सक्नुपर्छ । सामाजिक सङ्घ संस्था हुन् या युवा क्लब हुन् वा कुनै पनि सङ्घ संस्था किन नहोस् उनीहरूले सामाजिक काममा आ–आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरूको सामाजिक कार्यमा सक्रियतालाई सङ्केत गरिरहेको छ । जतिसुकै विज्ञान, प्रविधिको विकास भए पनि मानिसमा मानवीयताको आवश्यकता छ । त्यो मानवीयताको आवश्यकतालाई समाजसेवाले मात्र पूरा गर्न सक्छ । सामाजिक कार्यको विकास १९औँ शताब्दी अगाडि भएको हो ।

यसको सुरुवात व्यक्तिले दिने दान या चन्दाबाट सुरु भएको हो । यो दान या चन्दा धार्मिक सङ्गठन र निसहायका लागि केही व्यक्तिले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि सिको गरेर यसको अवधारणा सुरु भयो । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरूलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरूलाई सेवा ग-यो त्यति नै पुण्य मिल्नेछ । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्छ ।

समाजसेवा आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ । यसमा आफ्नो घरपरिवारभन्दा बाहिर अन्य घरपरिवारका पारिवारिक सदस्यदेखि ठूलो समुदाय हुँदै सिङ्गो राष्ट्रलाई सहयोग गर्न सकिन्छ ।  सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यका बारेमा अध्ययन गरिन्छ । तर यी सबै कुरा सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यसलाई अनुसरण गरेको पाइँदैन । सिद्धान्तअनुसार चल्ने हो भने नामअनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यसको पनि मान राख्नुपर्छ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अड्किएको छ । समाजसेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम सञ्चालकले सम्मान गरेको देखेका छौँ । वास्तवमा के तिनीहरू सबै समाजसेवीको दायरामा पर्छन् या समाजसेवीको बिल्ला राख्नका लागि साँच्चिकै हुन् त समाज सेवा भनेको परोपकार हो । तर अरूको सहयोगमा समाजसेवा गर्नु ठिक होइन । निःस्वार्थ रूपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हुन सक्छ ।

निस्वार्थ भावले समाज सेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवी असाधारण भावना भएका खुला दिलका मानव हुन् । सङ्घ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रूपमा समाजसेवामा लागेर प्राप्त गर्ने आत्मसन्तुष्टि हो । मानव हितका लागि आफूले गर्न सकिने काम गर्नु पनि समाजसेवा हो । हाम्रो शैक्षिक प्रणालीमा यस प्रकारका समाजसेवी भावनालाई प्रोत्साहित गर्ने शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा हुनुपर्छ । अब समाज परिवर्तनमा समाजसेवासँगै राजनीति मुख्य पाटो हो । समाजसेवा गर्ने व्यक्तिले राजनीति गरे पनि जनतालाई कहिल्यै धोका दिँदैनन् । जनताले नेता खोज्ने होइन, अब नेताले जनता खोज्नुपर्छ । नेताले जनता खोजे मात्रै देश विकास गर्न सकिन्छ । करोडौँ खर्चेर नेता हुनेले कहिल्यै पनि जनताको हितमा काम गर्न सक्दैनन् ।