क्यान्सरसँग आफू लड्दै, अरुलाई जगाउँदै

Avatar
admin

२०७९ माघ ९ गते, सोमबार १२:३२ मा प्रकाशित

अन्शु खनाल
सोमबार, माघ ९, २०७९ 

काठमाडौं– ऐया…! गत असारको एक बिहान सुतेर भर्खरै उठेकी अमृता लम्सालको मुखबाट एक्कासि आवाज निस्कियो। छातीको देब्रे भागमा बेस्सरी दुखेको थियो। उनले आफ्नो हात छातीमा राखिन् र केही समय मालिस गरिन्। तर दुखाइ कम भएन।

त्यतिबेला उनी क्यानडामा थिइन्। विस्तारै दुखाइ कम हुँदै गयो। असारको अन्तिमतिर नेपाल फर्किने समयसम्म उनले उक्त दुखाइ बिर्सिसकेकी थिइन्। तर नेपाल आएपछि उनलाई फेरि उस्तै दुखाइ महसुस भयो।

दुखाइ बढी नै भएपछि अमृताले आफ्नी कान्छी बहिनीलाई बताइन्। बहिनीले तनावले हुन सक्ने भन्दै तनाव नलिन सुझाइन्। त्यसको केही दिनमा उनका हातका औंला र खुट्टा सुन्निन थाले। कहिलेकसो पिठ्युँको देब्रे भाग पनि दुख्न थाल्यो। ‘औंलामा लगाएको औंठी साबुन लगाएर बल्लतल्ल निकाल्थें,’ अमृता भन्छिन्।

दसैं सकियो। उनलाई यो बीचमा निकै थाकेको जस्तो महसुस हुन्थ्यो। निद्रा पनि पर्न छाडेको थियो। तर दसैँपछि फेरि छाती दुखेको जस्तो हुन थाल्यो। राति सुतेको बेलामा देब्रेतिरको स्तनमा सियोले घोचेको जस्तो, बेस्सरी लुछेको जस्तो हुन थाल्यो। यतिसम्मकी उनी राति त्यही दुखाइले ब्युँझिन थालिन्।

त्यसपछि अमृतालाई स्तन क्यान्सर हो कि भन्ने डर लाग्न थाल्यो। ‘रोगले नाच्यापी अस्पताल नजाने, डाक्टर नसम्झिने बानीले गर्दा सुरुमा अस्पताल जाने भेउ नै पाइनँ। त्यसपछि पनि क्यान्सर हो कि भन्ने डर लागिरहेको थियो,’ उनी भन्छिन्।

उनले गत कात्तिक ६ गते त्रिवि शिक्षण अस्पतालमा पुगेर म्यामोग्राम गराइन्। म्यामोग्राम भनेको स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधि हो।

उक्त समयमा तिहारको बिदाले गर्दा रिपोर्ट आउन १४ गते पुग्ने भयो। यता दुखाइ भने बढिरहेको थियो। त्यसैले परिवारको सल्लाहमा उनी कात्तिक ८ गते फेरि नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिको इमर्जेन्सीमा पुगिन्। त्यहाँ पनि कर्मचारी बिदामा भएकाले म्यामोग्राम हुन सकेन। तर स्तनको अल्ट्रासाउन्ड र क्यान्सरको संक्रमण देखाउने ‘सिए–१५.३’ र ‘सिए–१२५’ जाँच भने भयो। तर रिपोर्टमा संक्रमण देखिएन। तिहारको टीकाको भोलिपल्ट उनले हरिसिद्धिमा म्यामोग्राम गराइन्। त्यो रिपोर्टमा क्यान्सरको शंका देखियो। यता त्रिवि शिक्षण अस्पतालमा गराएको म्यामोग्रामको रिपोर्ट पनि भनिएकै दिनमा आयो। यताको रिपोर्टमा झन् प्रष्टसँग क्यान्सर भएको देखियो। कुन स्टेज हो भनेर थाहा पाउन बायोप्सी गर्नुपर्यो।

क्यान्सर भयो भन्ने थाहा पाएपछि मन खुसी कसरी हुन्थ्यो र! अमृता भन्छिन्, ‘क्यान्सर भएपछि जतिसुकै बलियो मुटु पारे पनि केही दिन आफूलाई सम्हाल्न गाह्रो हुँदोरहेछ। भन्न त हामी भन्छौं, जन्मिएपछि एक पटक मर्न परिहाल्छ, केको पिर! भन्नु र गर्नुको फरक आफूलाई परेपछि मात्रै थाहा हुँदोरहेछ।’ तर बिरामी भएपछि कमजोर महसुस गरेर बसिरहन भने नहुने अमृताको बुझाइ छ।

‘यो हरेक दिनको लडाइँ हो। कहिले खाना नरुचेर खानलाई संघर्ष गर्नुपर्छ, कहिले निद्रा नपरेर सुत्नलाई। तर आफूलाई मानसिक रुपमा समेत कमजोर बनाएर बस्नु भने हुन्न,’ उनले भनिन्।

बायोप्सीको रिपोर्ट अनुसार अमृताको स्तन क्यान्सर दोस्रो स्टेजमा रहेछ। त्यसपछि उनी सकेसम्म छिटो सर्जरी गर्नुपर्छ भन्नेमा पुगेकी थिइन्। ‘दोस्रो स्टेजमा रहेछ। सर्जरी गर्नै पर्ने थियो। त्यसपछि किमो पनि। परिवारका सबै सदस्य मानसिक र भावनात्मक रुपमा बलियो बनाउने कोसिसमा हुनुहुथ्यो,’ उनी सम्झिन्छिन्।

गत कात्तिक २४ गते टिचिङ अस्पतालमा अमृताको सर्जरी सफल भयो। सर्जरी गरेको भोलिपल्टै उनी घर गइन्।

अत्यास लाग्यो है? भन्ने प्रश्नमा अमृता भन्छिन्, ‘त्यतिखेर त लाग्यो नि। सर्जरीको लागि मानसिक रुपमा तयार हुन पनि समय लाग्यो। मरिन्छ कि भन्ने डर पनि लाग्यो। आफूलाई सम्हाल्न धेरै गाह्रो हुँदोरहेछ।’

त्यतिबेला उनको मनस्थिति कमजोर भइसकेको थियो। सर्जरी गर्नुअघि उनले आफ्नो प्रकाशनमा आउँदै गरेको किताब निकाल्ने प्रकाशन गृहका अध्यक्षलाई किताब निस्कियोस् भन्ने चाहना भएको भन्दै मेल समेत गरिन्।

‘दसैंमा ममीले किनिदिएका दुई जोर लुगा सिलाउन दिएकी थिएँ। दसैंअघि एक जोर मात्र तयार हुन्छ, अर्को तिहारलाई हुन्छ भनेको थियो। भाइटीकाको दुई दिनअघि बहिनीले त्यो लुगा ल्याइदिइन्। त्यत्तिकैमा मैले अब यो कहिले लगाउने हो र दान गर्ने त होलासम्म भनें,’ उनी सम्झिन्छिन्।’

मान्छेहरु सकेसम्म आफूलाई लागेको रोगको बारेमा बोल्न खोज्दैनन्। धेरै मानिसहरुसँग सेयर गर्न रुचाउँदैनन्। तर सर्जरीपश्चात् अमृता चुप बस्नै सकिनन्। आराम गर्ने समयमा उनले आफूले भोगेका अनुभव, क्यान्सरसँग लड्दै गर्दाका दिनहरुलाई आर्टिकल बनाएर लेखिन्। एउटा मात्रै होइन, आजसम्म अमृताले पाँच वटा चेतनामुलक आर्टिकल लेखिसकेकी छन्।

उनी भन्छिन्, ‘मैले आर्टिकल लेख्ने बेला मेरो हातको दुखाइ र शरीरभन्दा बढी मेरोजस्तो स्थिति अर्कोलाई नपरोस् भन्ने सोचेँ। मैले लेखेको पढेपछि मेरो केही साथीहरू म्यामोग्राम गर्न जान तयार भए। मैले चिन्दै नचिनेकाहरुले पनि उक्त लेखले आफूहरूलाई सचेत बनाएको भन्ने सन्देश पठाए। सो लेखले मलाई थुप्रै स्तन क्यान्सर सर्भाइभरहरूसँग जोडिदियो।’

अहिले अमृतको तेस्रो चरणको किमोथेरापी सफल भइसकेको छ। किमोको लागि पनि मानसिक रुपमा तयार हुनुपर्ने उनी बताउँछिन्। ‘यस्तो अवस्थामा बिरामीलाई काउन्सिलिङ जरुरी हुन्छ। के हुने होला, कस्तो हुने होला भन्ने भइरहेको हुन्छ। तर बिरामीलाई अर्कोले यस्तो गरेको थियो, यो यसरी हिँडेको थियो, यसले यसरी खाएको थियो भनेर प्रेसर गर्न भने हुन्न,’ उनी भन्छिन्।

अमृता अस्पताल जान नडराउन सबैलाई अनुरोध गर्छिन्। उनी भन्छिन्, ‘स्वास्थ्यप्रति हेलचेक्र्याइँ नगरौं, डाक्टरकहाँ जान नडराऔं। जँचाउन जान डराएर के गर्ने? रोग लागेपछि शरण पर्न त जान परिहाल्छ। त्यसैले समयमै सचेत होऔं।’ क्यान्सरसँग लडिरहेका सबैलाई उनी हिम्मत नहार्न सुझाउँछिन्।

सरकारलाई पनि बिरामीलाई एक लाख दिनभन्दा सुविधासम्पन्न अस्पताल बनाएर सबैलाई देशकै स्वास्थ्य सेवामा भर पर्ने वातवरण बनाउनुपर्ने उनी बताउँछिन्। ‘जो नेता पनि थोरै केही भयो भने बाहिर जाने चलन छ। त्यसकारण पनि देशको स्वास्थ्य सेवाप्रति धेरैको विश्वास पनि छैन। मलाई नै कुनै पनि व्यक्तिले नेपालमै उपचार गर्न सुझाएका थिएनन्। सबैले भारत जान भनेका थिए। मैले यहीं गर्छु भनें। उपचार राम्रो भइरहेको छ।’