१५ जेष्ठ २०८०, सोमबार
पठान: सलमान र शाहरुखलाई सँगै खेलाउन कैयौंपटक स्क्रिप्ट पुनर्लेखन

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ । तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो ।
फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रूपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ । लेखक टायरवालाले हालै मात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका छन् ।
‘जब शाहरुख र सलमान पठान र टाइगरका रूपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन । पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जस कारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो । त्यस कारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन् ।
उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन् । ‘किनकि फिल्ममा टाइगरको प्रवेश गराउनै पर्छ, जस कारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो । तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनै पर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्’, उनले अगाडि भनेका छन् ।
टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको खुलाए । एजेन्सी