काठमाण्डौ माघ २६। अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ घटाइएको समर्थन मूल्य सार्वजनिक गरेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा अण्डा उत्पादन बढ्नुका साथै यही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा भित्रिँदा बजारमा आपूर्ति बढेको र त्यसको प्रत्यक्ष असर मूल्यमा परेको हो।
नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट (३० वटा) ३७५ रुपैयाँ र मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँ थियो। माघ ११ गतेसम्म ठूलो अण्डा ४९५ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।
गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ र मझौला ५५० रुपैयाँमा कारोबार भएको थियो।
अध्यक्ष पोखरेलले भारतीय सेतो अण्डा ठूलो मात्रामा भित्रिनु र आन्तरिक उत्पादन बढ्नु नै नेपाली अण्डाले उचित बजार र मूल्य नपाउनुको मुख्य कारण भएको बताए। भारतीय अण्डाको आयात रोक्न सङ्घले सरकारसँग निरन्तर माग गर्दै आएको पनि उनले जानकारी दिए।
अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने हुँदा प्रतिक्रेट लागत ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिकै पुगेको अवस्थामा पुनः मूल्य घटेपछि किसान निरास बनेका छन्।
सङ्घले देशभरका फर्मबाट मूल्य संकलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

