काठमाडौं ४ आश्विन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्नेगरी काम अगाडि बढाएको बताएका छन् ।
शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिएका हुन् ।
हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको पनि जानकारी गराए । पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको बताए । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उनको दाबी छ ।
उनले भने, ‘अहिले हाम्रो त्यहाँ टिम पुगिसकेको छ । डिजी नै त्यहीँ हुनुहुन्छ, हिजोपनि त्यही थियो । अब त्यो सफा गर्न पाएपछि ४ घण्टामा बाटो खुुल्छ ।’ पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उनको भनाइ छ ।
बैठकमा मन्त्री कुलमान घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताए । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताए । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।