काठमाडौं फाल्गुन १— आईसीसी टी–२० विश्वकपअन्तर्गत बिहीबार भएका समूह चरणका खेलमा आयोजक राष्ट्र भारत र श्रीलङ्काले प्रभावशाली जित निकालेका छन्। लगातार जितसँगै दुवै टोलीको सुपर एट चरणमा प्रवेश सम्भावना बलियो बनेको छ।
नामिबिया बिरुद्ध भारतको शानदार प्रदर्शन
समूह ‘ए’ अन्तर्गत नयाँ दिल्लीमा भएको खेलमा भारतले नामिबिया राष्ट्रिय क्रिकेट टोलीलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्यो।
२१० रनको लक्ष्य पछ्याएको नामिबिया १८.२ ओभरमै ११६ रनमा अलआउट भयो। नामिबियाका लाउरेन स्टिनक्याम्पले २९ र ज्याक फ्राइलिनकले २२ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्।
भारतीय बलिङतर्फ वरुण चक्रवर्तीले ७ रन खर्चेर ३ विकेट लिए। अक्षर पटेल र हार्दिक पाण्ड्येले समान २–२ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।
त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर २०९ रनको बलियो योगफल तयार पारेको थियो। ओपनर इशान किशनले २४ बलमा ६१ रन बनाउँदै विस्फोटक सुरुआत दिलाए। हार्दिक पाण्ड्येले २८ बलमा ५२ रनको अर्धशतक प्रहार गरे। सन्जु सामसन र तिलक वर्माले पनि उपयोगी योगदान दिए।
यो लगातार दोस्रो जितसँगै भारत ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।
ओमान बिरुद्ध श्रीलङ्काको प्रभावशाली जित
समूह ‘बी’ मा ओमान राष्ट्रिय क्रिकेट टोलीविरुद्ध श्रीलङ्काले १०५ रनको विशाल जित निकालेको छ ।
२२५ रनको लक्ष्य पछ्याएको ओमान ९ विकेट गुमाएर १२० रनमै सीमित भयो। ओमानका मोहम्मद नदिमले अविजित ५३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यसअघि ब्याटिङ गरेको श्रीलङ्काले ५ विकेट गुमाएर २२५ रन बनाएको थियो। कुशल मेन्डिस (६१) र पवन रत्नयके (६०)ले तेस्रो विकेटका लागि ९४ रनको महत्वपूर्ण साझेदारी गरे। कप्तान दसन शनकाले २० बलमा ५० रनको विस्फोटक इनिङ्स खेल्दै टोलीको स्कोर उकासे।
लगातार जितसँगै श्रीलङ्का पनि ४ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ।
आयोजक भारत र श्रीलङ्का सुपर एट नजिक
समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै भारत र श्रीलङ्काले सुपर एट चरणतर्फ बलियो पाइला चालेका छन्। दुवै टोलीको लय कायम रहेमा आगामी चरणमा पनि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

