काठमाडौं , भदौ २ गते । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने यथावत छ । जसका प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
विभागका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई र बाग्मती प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी र मधेस प्रदेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मधेस, कोशी प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।