काठमाडौँ फाल्गुन ३ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो व्यवस्थापन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना लागू गरेको छ।
अनावश्यक भीड नियन्त्रण गर्न सवारी आवागमनका रुट निर्धारण, पार्किङ स्थल तोक्ने तथा सुरक्षा व्यवस्थापन सुदृढ बनाउने गरी योजना कार्यान्वयन गरिएको हो। पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित र व्यवस्थित बनाउन योजना शनिबारदेखि नै लागू गरिएको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पूजाआजा र दर्शनका लागि आउने भक्तजनलाई सहज आवतजावत तथा व्यवस्थित दर्शनको वातावरण बनाउन ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ। निश्चित स्थानमा पार्किङ र सवारी सञ्चालनका लागि रुट समेत तोकिएको उनले जानकारी दिए।
सिफल चौरमा दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ भने गुहेश्वरीपारि तीर्थयात्री र दर्शनार्थीका सवारीसाधन राख्ने व्यवस्था मिलाइएको छ। पशुपति विकास कोषको कार्यालय तथा भण्डारखाल क्षेत्रमा पासवाहक सवारी, तिलगङ्गा आँखा अस्पताल र करिडोर क्षेत्रमा तीर्थयात्री, पर्यटक र दर्शनार्थीका सवारी पार्किङको व्यवस्था गरिएको छ।
वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी राखिनेछ भने प्रहरी वृत्त गौशालामा पासवाहक र सरकारी सवारी राख्ने व्यवस्था मिलाइएको छ। विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने प्रबन्ध गरिएको कार्यालयले जनाएको छ।
दर्शनार्थीको अत्यधिक भीडका कारण गौशाला क्षेत्र हुँदै चक्रपथमा सञ्चालन हुने सवारी नियमित चलाउन नसकिने अवस्था आएमा गौशालामा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ। त्यसका लागि करिडोर तथा भित्री सडकमा बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रमा सामान्य अवस्थामा सवारी सञ्चालन गरिने भए पनि भीड अत्यधिक भएमा डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने सुरक्षा योजनामा उल्लेख छ। आवश्यकताअनुसार तीनकुने–सिनामङ्गल, बौद्ध–गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारीमा रोक लगाइनेछ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी गुहेश्वरीपारि पार्किङमा पठाइनेछ। गौशाला चोकमा सवारी सञ्चालन असहज भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर–मैतिदेवी मोड हुँदै रातोपुल तथा सिफल चौर–जय बागेश्वरी रुटका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए ।



