इस्लामावादस्थित शिया मस्जिदमा आत्मघाती विस्फोट

काठमाडौँ माघ २४/इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोट भएको छ ।

विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएको प्रारम्भिक अनुमान छ।
शुक्रबारको प्रार्थनापछि उपासकले खचाखच भरिएको समयमा मस्जिदमा बम विस्फोट भएको हो। घटनाबारे जानकारी दिने एक वरिष्ठ प्रहरी अधिकारीले आफू बोल्ने अधिकार नभएको भन्दै नाम नबताउने शर्तमा एएफपीसँग भने, “घटनामा मृतकको संख्या अझै बढ्न सक्छ।”

प्रहरी स्रोतका अनुसार आक्रमणकारीलाई मस्जिदको गेटमै रोक्ने प्रयास भइरहेका बेला उसले आफैं विस्फोट गराएको थियो। विस्फोटपछि मस्जिद परिसर र आसपासको क्षेत्र रगतले रंगिएको थियो।

घाइतेहरूलाई इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पताल लगिएको छ। अस्पतालमा एम्बुलेन्स र निजी सवारीमार्फत ल्याइएका घाइतेहरूलाई चिकित्सक र स्वयंसेवकहरूले उपचारमा सहयोग गरिरहेका छन्। घाइतेका आफन्तहरू सुरक्षा कडाइका कारण अस्पताल परिसरमै आक्रोशित देखिन्थे।
घटनास्थलमा सशस्त्र सुरक्षा बलले घेरा हालेको छ। सामाजिक सञ्जालमा फैलिएका भिडियोमा मस्जिदको प्रवेशद्वार नजिक शवहरू र प्रार्थना हलभित्र भग्नावशेष देखिन्छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा निन्दा गर्दै दोषीलाई छिट्टै पत्ता लगाई कानुनी कारबाही गरिने बताएका छन्।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा चुनौती बढिरहेका बेला भएको यो आक्रमणलाई गम्भीर रूपमा हेरिएको छ।

पाकिस्तान सुन्नी बहुल देश भए पनि यहाँ शिया समुदायको जनसंख्या करिब १०–१५ प्रतिशत रहेको छ र विगतमा उनीहरू लक्षित आक्रमण हुँदै आएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version